बुधबार , मंग्सिर ५, २०८१

इच्छा भए लागूऔषध छोड्न सकिन्छ : प्रकाश तामाङ

मानिसभित्र रहेको नेगेटिभ र पोजेटिभ माइन्ड (मस्तिष्क)मध्ये तपाईले कसलाई जित्न दिने भन्ने कुरा प्रमुख हो ।

image

बाल्यकालबाटै धरान हाम्रो लागि पर्यटकीय स्थल थियो । बेला मौकामा धरान घुम्न जाने, भेडेटारमा पिकनिक खाने सल्लाह पनि हुन्थ्यो । दन्तकाली, पिण्डेश्वर, बुढासुब्बाको चर्चा परिचर्चा चलिरहन्थ्यो । ‘सबै भन्दा पहिले धरानमा फेसन आउँछ’ भन्ने कुरामा वाद-प्रतिवाद भइरहन्थ्यो । त्यतीबेला धरानमा हुने ग्याङ फाइट र लागूऔषध दुरुपयोग गर्ने जमातबारे पनि कुरा हुन्थ्यो ।

म आफू इनरुवाको भएकाले धरान जाने आउने भइरहन्थ्यो । धेरै समयपछि काम विशेष म धरान पुगेको थिएँ । तर एकछिन धरानको कुरालाई छेउमा राखेर धरानमा अचानक भेट भएका प्रकाश तामाङको कुरा गर्छु । जसले आफूलाई पराजित गरे र आफूलाई जिते । म धरान बस्ने एकजना साथीसँग डुल्न निस्किएको थिएँ र उनीसँग अचानक जम्काभेट भयो । पहिलो भेटमै उनी नजिकिएको देख्दा र उनको बोलीव्यवहार हेर्दा मलाई निकै रोचक लाग्यो ।

खासमा मलाई कसैले उपहारमा एउटा चाबी (साँचो) गाँस्न मिल्ने कि-रिङ उपहारमा दिएको थियो । उक्त विशेष कि-रिङले लागुऔषधबाट मुक्त भएको भन्ने सङ्केत गर्ने रहेछ । यो कुरा मलाई उनले नै बताएका हुन् । धरान घुम्ने क्रममा म उनको बुवा-आमाको तरकारी पसल पुगेको थिएँ । र सोही क्रममा मैले गोजीबाट कि-रिङ निकाल्नासाथ उनले झट्टै सोधीहाले ‘दाइ पनि भर्खर मुक्त हुनुभएको हो ?’
म अन्यौलमा परेँ । तर, उनले मेरो अन्यौलता दूर मात्र गरेनन्, कुरा गर्दा गर्दै मित्रता पनि गाँसे ।

धरानमा उनको एक क्याफे छ । पहिलो भेटमै उनले मलाई आफ्नो क्याफे जान आग्रह गरे । गफ गर्दागर्दै उनले मलाई बाइकमा राखेर आफ्नो क्याफेसम्म पुर्‍याए । म आफैँ किन गएँ भन्ने कुरा थाह छैन, तर गएँ । विस्तारै उनले दुर्व्यसनीदेखि अहिलेको अवस्थासम्म आइपुगेको कथा सुनाए । लाखौँ युवायुवतीहरू दुर्व्यसनीमा फसिरहेको यो समयमा उनको कथा लेख्न सके धेरैलाई दुर्व्यसनीबाट छुटकारा पाउन थोरै भए पनि प्रोत्साहन मिल्ने थियो भन्ने मलाई लाग्यो ।

उनी थोरै डराएका थिए र धकाउँदै भने, ‘मलाई यसरी बोल्न निकै असहज लाग्छ दाइ ।’
‘तिमी यतातिर ध्यान नदेऊ मनमा भएका कुराहरू सरसरती भन’, मैले वातावरण थोरै सहज बनाउने कोसिस गरेँ ।

कक्षा १० मा पढ्ने क्रममा साथीभाइको लहैलहैमा लागेर उनले चुरोट पिउन सुरु गरेका थिए । चुरोटबाट गाँजा र थाहै नपाई लागूऔषधको दुर्व्यसनीमा उनी फस्दै गए । थोरै-थोरै गर्दा-गर्दै लागूऔषधको मात्रा बढ्दै जान थाल्यो । कक्षा १० को परीक्षा आउने समयसम्म उनी पूर्ण रूपमा दुर्व्यसनीमा फसिसकेका थिए । लागूऔषधको बढ्दो तलतलले घरमा पैसा माग्ने, नपाए चोर्नेसम्म गर्न थालिसकेका थिए । जीवन नशामा डुबुल्की मारेर बित्दै जाँदा परीक्षा पनि सकियो । पढाइको सिलसिलामा साथीभाइहरू छुट्टिए । विस्तारै उनी एक्लो भए । निकै भावुक भएर उनले भने, ‘लागूऔषध सेवनको निरन्तरताले एक्लो बनाउने रहेछ..’

पहिलो पटक लागूऔषध सेवन गर्दा आफू ठुलो मान्छे हुँ, कसैलाई पनि पिट्न सकिन्छ जस्तो लाग्ने गरेको उनले सुनाए । ‘यही संसारभित्रै बेग्लै संसारमा पुगे जस्तो लाग्ने रहेछ’ उनी भन्छन् ‘लागूऔषध सेवन गरेपछि आफ्नै संसारमा हराउन मन लाग्ने, कोहिपनि नचाहिने, साथीभाइ पनि खाउन्जेल मात्र चाहिने रहेछ ।’

कक्षा १० पछि उनी पूर्ण रूपमा एक्लो भए । लागूऔषध सेवन गरेपछि आफूले गर्ने व्यवहारका कारण सबै टाढा भए । कलेज भर्ना भएपछि लागूऔषध कारण निम्तिएको विभिन्न अप्रिय घटना उनले सुनाए । तिनै घट्नामध्ये एक ‘बुवा अस्पताल भर्ना भएको दिन आफू जेल परेको दिन’को तितो सम्झनाले उनलाई अझै नमिठो गरी चिमोट्छ ।

यद्यपि उनले लागूऔषध सेवन गर्न भने छोडेनन् । बरु अझ मात्रा बढाउन थाले । उनका अभिभावक छोराको स्थिती देखेर निकै चिन्तित भए र एकजना नजिकको व्यक्तिलाई भनेर उनलाई सुधार केन्द्र राख्न आग्रह गरे । तर उनले प्रकाशलाई सुधार केन्द्र राख्नु नपर्ने र आफूले साथ दिने बताए ।

प्रकाश भन्छन् ‘इच्छाशक्ति हुने हो भने मानिस सुधार केन्द्र नबसे पनि सुध्रिन सक्छ ।’ प्रकाशलाई नयाँ बाटोमा हिँड्न मन थियो । उनी पनि नशाको भुमरीबाट निस्कन चाहन्थे त्यसैले उनले त्यस्तै व्यक्तिहरूसँग सङ्गत गर्न थाले । आमाबुवाले सुझाएका ती व्यक्तिले प्रकाशलाई सुधारसँग सम्बन्धित कार्यक्रमहरूमा लिएर जान थाले । सुरुसुरुमा प्रकाश ती कार्यक्रमहरूमा पनि नशामै पुग्ने गर्थे । तर, बिस्तारै त्यहाँ हुने विभिन्न कार्यक्रमले उनलाई झकझकाउन थाल्यो । सुधारिएका व्यक्तिहरूको अनुभव सुनेर उनी प्रोत्साहित हुन थाले । आफूले आफूलाई ढाँटिरहेको छु भन्ने उनलाई महसुस हुन थाल्यो ।

यस्तै कुराहरूको महसुसले गर्दा उनी आफैँ सोही व्यक्ति (उनलाई सहयोग गर्ने)को सुधार केन्द्र जान थाले । जिमखाना जान थाले । त्यस्तै साथीभाइहरूको सङ्गत बढाउन थाले । बिस्तारै उनलाई स्वस्थ लत लाग्यो । उनी जिमखानामा यसरी आकर्षित भए कि लागूऔषधसम्बन्धी सोच्नै छोडे । उनी भन्छन् ‘मैले एकपटक मिस्टर धरान भिडौँ कि भनेर पनि सोचे तर सानो दुर्घटनाले रोकिएँ ।‘

अहिले उनले लागूऔषध छोडेको निकै वर्ष भइसकेको छ । धरानमा आफ्नै एउटा क्याफे समेत सञ्चालन गरिरहेका छन् । अघिल्लो लकडाउनबाट धरानको पुतली लाइनमा ३ जना साथीसँग मिलेर क्याफे सञ्चालनमा ल्याएको उनले सुनाए । ‘किंग्स क्याफे’ नामक क्याफेमा उनी मिठो मुस्कानका अतिथिहरूलाई कफी र खाद्य परिकारहरू पस्किन्छन् । पर्यटन व्यवसायमा लागेर उनी एक कुशल व्यवसायी भएका छन् । उनी भन्छन् ‘जबसम्म आफैँले महसुस गरिदैंन तपाईँलाई संसारभरिको मान्छेले भनेर पनि तपाईँले लागूऔषध छोड्न सक्नुहुन्न । मनै त रहेछ, छोड्छु भन्ने मन बनाएपछि छोड्न सकिने रहेछ । त्यती गाह्रो पनि नहुने रहेछ । मानिसभित्र रहेको नेगेटिभ र पोजेटिभ माइन्ड (मस्तिष्क)मध्ये तपाईले कसलाई जित्न दिने भन्ने कुरा प्रमुख हो ।‘

सम्बन्धित समाचार