बिहिबार , मंग्सिर ६, २०८१

गाउँ गाउँमा प्रज्ञा प्रतिष्ठान र थुम थुममा प्राज्ञ !

थुम थुमका जन्मन प्रसव पीडा भोगिरहेका प्रज्ञा प्रतिष्ठानहरूलाई एकीकृत गर्न समय घर्किसकेको छ । अबको नेतृत्वले गर्ने सुकार्य नै प्रज्ञालाई बदलिँदो युग सामु बदल्नु हो ।

image

प्रज्ञाप्रतिष्ठान देशको बौद्धिक गरिमाको परिचय हो । यसको उचाइ र गौरव जति महिमामय हुन्छ, त्यति नै सिर्जनात्मक सौन्दर्यले धर्तीका धुलिएकाहरू आलोकित बन्दछन् । समाजको सौरभ भन्नु नै ‘बौद्धिक सम्पदा’ हो । देशले ज्ञानका निष्णातहरूको चेतनाको आलोक सङ्गठित गर्दै सकारात्मक उपयोगिताका लागि कुनै संस्थागत आयामको आवश्यकता हुन्छ ।

आदिकालमा राजसभाहरूको गठन, भारदारी सभाहरूको उपयोग, राजगुरुहरूको चयनको आधार प्रज्ञा चेतकै उचाइ मापन थियो । मुगल बादशाहहरूले पनि राज्य परिषदमा गुरुचेतको छनौट आधार गुरु गरिमालाई नै मानक मानेका थिए । ग्रिक दार्शनिकहरूले सत्तालाई सदुपयोग गराउनका लागि यसको उपयोग गरेका थिए ।

राज्यसभा, राजसभा, राजसल्लाहकार परिषद्को निरन्तरता र संस्थागत प्रयत्न नै प्रज्ञाप्रतिष्ठान हो अर्थात् प्रज्ञा चेतको सामाजिक, राजनैतिक, सांस्कृतिक, प्रशासनिक हितका निमित्त सदुपयोगको केन्द्रीकृत थलो हो ।

नेपालमा प्रज्ञा प्रतिष्ठानको गठन २०१३ सालमा भएको थियो । त्यतिखेरको परिकल्पना र सपनाले केही वर्ष अगाडिसम्म देशको प्राज्ञ तहको नेतृत्व घिसिपिटी भए पनि गरिमा भने अब पातलिँदै गएको देखिन्छ । पन्ध्र/बीस वर्ष अगाडि प्रज्ञाको ओझ र त्यसले गरेका सङ्गोष्ठी, अन्तरक्रिया र अनुसन्धानले राष्ट्रिय/अन्तराष्ट्रियरूपमा तरङ्ग पैदा गर्दथ्यो । यसले प्रकाशन गरेका सङ्ग्रहणीय पुस्तकहरूको फेहरिस्त निकै लामो छ र आज पनि नेपाली इतिहासको समग्रताको नालीबेली तिनै प्रकाशनको आलोकबाट मात्र चियाउन सकिन्छ ।

हिजो देश एकात्मक राज्यव्यवस्थाको सूत्रीय परिधिमा वेष्टित थियो । केन्द्रले दूरदराज चलाउँथ्यो । केन्द्रको नीति र कानुनको अनुसन्धानले कर्णाली चल्नुपर्थ्यो । सिंहदरबारको अँध्यारो हटाउन गण्डकीले बत्ती दिनुपर्ने, कर्णालीले जडीबुटी दिनुपर्ने तर, कर्णालीको भोक तिर्खा मेट्न उसले अन्नपानी दिन सकेन । काठमाडौंको महल बन्न धादिङले पहाड फोरेर गिट्टी बालुवा दिनुपर्ने तर, उसका सन्तानले पैसा तिरेर बस्न डेरा पाएनन् । भोकमा अन्न र रोगमा सिटामोल दिन सकेन सिंहदरबारले । केन्द्रलाई चाहिने ताकत सुदूरबाट ल्याउन मिल्ने तर, सुदूरका आवश्यकता टार्न केन्द्रबाट जान नमिल्ने ! गइहाले पनि मुटु काटेर रातो रगत बिछ्याइएको कार्पेटमा हिँडाइदिनुपर्ने, लावालस्कर थामिदिनु पर्ने र छाती ओछ्याएर टेक्न दिनुपर्ने । केन्द्रबाट पुच्छर पछ्याएर गए पनि केन्द्रीय वक्ता, प्रमुख अतिथि मानिदिनु पर्ने, फूलमाला अबिरले सुस्वागतको तामझाम पस्किनु पर्ने र सीमान्त बस्तीमा जति ठूला वैचारिक र दार्शनिकहरू भए पनि उनीहरूलाई गँवार, गुँगा र लठेब्रा ठान्ने प्रवृत्ति काठमाडौंको हावापानीमा उहिलेदेखि हुर्कँदै आएको छ । गाउँका ‘स्यालहरू’ सिंहदरबार छिरेपछि आफूलाई ‘सिंह’ ठान्ने भ्रम जीवित छँदैछ । गाउँबाट ‘मुसाहरू’ सिंहदरबार छिरेर ‘हात्ती’ बन्ने तिनै मूषक हात्तीहरू सहरबाट गाउँ छिर्दा विपन्नहरूका बस्ती उजाड बनाउने गरेर लावालस्कर पछ्याउनु हुँदैन । मत्ता बनेर शान्त ग्रामीण दुनियाँमा रवाफ उचाल्नु हुँदैन । मूषकहरूले रातो कार्पेट खोज्नु हुँदैन, मूषकहरूले हात्तीको दम्भ पाल्नु भएन अनि मात्रै सम्भव हुनसक्छ- विकास र सम्भावना र परिवर्तका कुरा ।

हालसम्म प्रज्ञाप्रतिष्ठान जीवित रहन यहाँका कुर्सी आसीन पदाधिकारीहरूले काठमाडौंकै पानी खाए र त्यहाँकै प्रकृतिमा अनुकूलन भए । जसले खाल्डोबाहेक अन्त नेपाल देखेनन्, छिटपुटबाहेक ।

यसरी देशको ओठ र गाला मात्रै सिँगारेर सौन्दर्य बढ्न सक्दैन, खाल्टोमात्रै भूगोल हैन भन्ने आवाजको आयतन बढ्दै गएपछि सङ्घीय संरचनामा रूपान्तरण भएको छ । यसका सकारात्मक र वाञ्छनीय प्रयोगले देशका प्रत्येक गरा र गर्खाहरू एकैपटक जुरुक्क उठ्न सक्छन् । उठाउनु पनि पर्छ ।

देश उठाउनु भनेको ‘झोला उठाएजस्तो’ हातले जुरुक्क बोक्नु पनि होइन नि ! बरु प्रत्येक इलाकामा ज्ञान चेतनाको आलोकले धपक्क बाल्नु हो । संस्कृति, परम्पराका महिमामण्डित विरासतलाई उत्खनन गर्दै अधुनातन चिराग जलाउनु पनि हो । देशको त्यो महाजङ्गी बेडा थाम्ने वैचारिक स्पन्दन प्रवाहको धमनी नै प्रज्ञा प्रतिष्ठान हो, जसको पुनः संरचना आजसम्म शुभारम्भ नै भएको छैन । अबको प्रज्ञा नेतृत्वले देशको कुना-कुनामा उभार आइरहेका ज्ञानात्मक ऊर्जालाई एकीकृत गर्न आवश्यक छ ।

थुम थुमका जन्मन प्रसव पीडा भोगिरहेका प्रज्ञा प्रतिष्ठानहरूलाई एकीकृत गर्न समय घर्किसकेको छ । अबको नेतृत्वले गर्ने सुकार्य नै प्रज्ञालाई बदलिँदो युग सामु बदल्नु हो ।

सङ्घ संस्थानका जीवन पनि जिउँदो मानवजस्तो हुन्छ । गतिशील गोरेटोजस्तो तन्काए तन्किदिन्छ, चलायमान र क्रियाशील बनाए बनिदिन्छ र आलस्यले स्थिर गजधम्म बसिरहे बसिदिन्छ । हो, अहिले प्रज्ञा गतिहीन अवस्थामा छ । यसले न नवलेखकहरूको कलममा ऊर्जा भरेको छ, न अनुसन्धानबाट पुराना दर्शनहरूमा कसी लगाउने कार्य गरेको छ । न नयाँ सिद्धान्त स्थापनाका निमित्त सघन अनुसन्धान र बहसहरू नै चलाउन सकेको छ । सक्नुपर्थ्यो उहिल्यै तर, अझै कार्यारम्भमा विलम्ब नै छ । आलोचनाका प्रेमिल फूल पर्खिबसेका हजारौँ कृतिहरू प्रज्ञाका कसिङ्गर र कन्टेनरमा थन्किएका गाइँगुइँ सुनिएको धेरै भइसकेको छ । यसका प्रकाशनहरूमा सदाबहार देखिने र पोषिने एकै किसिमका नामहरू उराठलाग्दो बगर भएर दोहोरिएका छन् । फेरिँदैनन् अवसरहरू र बदलिँदैन मान्छे बदलिए पनि प्रवृत्ति ।

त्यसैले त अबको नेतृत्वले प्रज्ञालाई गाउँ गाउँमा प्रतिभा खोजीका लागि डुलाउन आवश्यक छ ।

सधैँ वडामहाराजमा दर्शन भेटका लागि पालो पर्खिएजस्तो पर्खिएर कविता सुनाउन लाम लाग्ने नाटक बन्द गरिनु आवश्यक छ । प्रदेश संरचनालाई आधार मानेर कविता प्रतियोगिताहरू आयोजना गरिनु आवश्यक छ । नाटक महोत्सवहरू पनि यस्तै संरचनात्मक स्वरूपका आधारमा बाँडिनु पर्छ । लोक कथा साहित्यहरूको अभिलेखीकरण, अनुसन्धानका कार्यहरू आरम्भ नै हुन सकेन । प्रज्ञाले यस क्षेत्रमा शिघ्रातिशिघ्र कार्यारम्भ गर्नुपर्छ । विगतमा भएका कर्मकाण्डहरूलाई कर्मकाण्डीय ढाँचाले नभएर अनुसन्धानीय प्रक्रियाबाट गतिशील बनाइनु पर्छ ।

प्रज्ञाप्रतिष्ठानलाई सत्ताबाहिरका लेखकहरूको आजसम्मको अवधारणामा सरकारवादी सर्जकले ‘हण्डी खाने अखडा’को रूपमा चित्रित गरेका छन् । कार्यशैली र गतिविधिको अवस्था हेर्दा हो कि भन्नुपर्ने अवस्था छ तर, त्यसो होइन । दूर दराजका भाषा, कला, संस्कृति, रीतिरिवाजभित्रका कडीहरूलाई तत्स्थानीक विज्ञहरूका कलमबाट कसी लगाइने परिवेश बनाइनु पर्छ । नवलेखकहरूका लागि खार्न, निखार्न र उझिल्याउन प्रतिस्पर्धात्मक तथा प्रकाशनका अभिप्रेरणात्मक कार्यक्रम ल्याइनुपर्छ । बदलिँदो परिप्रेक्षमा प्रज्ञाले बहुभाषी कवि गोष्ठीको कर्मकाण्डबाहेक अरू यस्तै कार्यक्रममा गति दिन आवश्यक छ ।

धादिङको दार्खामा नेपाल तिब्बत युद्धताका भएको युद्धकौशलताको जीवन्ततालाई आधार बनाइएको घोडचढी, बैतडीको लेकमा नाचिने स्याब्रु, लमजुङको चाँचरी लगायतका लोककथा, गाथा र इतिहासका बिम्बमा कोरिएका अलिखित साहित्यको जसरी उत्खनन गर्नुपर्थ्यो, त्यसको जमर्कोसम्म गरेको छैन । लमजुङ, तनहुँतिरका सोरठी, धादिङको घाटु/भजनहरू पुनःस्थापित गर्न सकिएको छैन । त्यस दिशामा काम गर्ने निकाय भनेकै प्रज्ञा प्रतिष्ठान नै हो तर, त्यस क्षेत्रमा आजसम्म पाइलो सर्न सकेको छैन । प्रज्ञाले यस विषयमा काम गर्न वृहद योजना अघि सारिहाल्नु आवश्यक छ ।

हाम्रा राजनीतिक, सामाजिक संरचनाहरू पूर्ववत् छन् । नीति नियम र प्रवृत्तिहरू पनि यथावत् छन् तर, समयले यति छलाङ मारिसकेको छ कि जहाँ पछिल्लो पुस्ताको सोच चिन्तनले कायाकल्प गरिसकेको छ । संस्कृतिमा भित्रिएको बदलावका परिदृश्य,भाषामा भएका हङ्गामासँग प्रज्ञाको जति अपनत्व र जति गम्भीरता हुनुपर्थ्यो, उति देखिएन । जति महिमापूर्ण कदम चाल्नुपर्थ्यो, त्यसको भेउ पाइएन । यति आलस्यका गतिले प्रज्ञाको आलोक थेग्दैन । प्रज्ञाको मर्म पुग्दैन । देशको बौद्धिक सम्पदा अनुसन्धानको गतिशीलता, समय प्रवाहलाई थेग्ने मेलोमेसो यही शैली, भङ्गीमा र यही स्वभावबाट सम्भावना छैन । यसमा समयको ऊर्जा, प्रविधिको साँध र अनुसन्धानको धार हुन आवश्यक छ । नवसंरचनाका खाकाहरू कोरिँदा यी र यस्ता सन्दर्भहरू क्रियात्मक कार्यदिशामा समेटिनुपर्छ ।

गाउँ गाउँमा प्रज्ञा प्रतिष्ठान र थुम थुममा प्राज्ञ !

राज्य पुनः संरचना पछि केही पालिकाहरूले आफूभित्रै प्रज्ञा प्रतिष्ठान नामको संस्थाको परिकल्पना गरेको छ । आन्तरिक रूपमा विधानहरू बनाएर संरचनात्मक अभ्यास गरिरहेका छन् । तिनको केन्द्रमा रहेको प्रज्ञाप्रतिष्ठानसँग के सम्बन्ध र साइनो छ ? कसरी सङ्घीय सरकारको मातहतमा रहेको प्रज्ञाप्रतिष्ठानले स्थानीय प्रतिष्ठानहरूको अभिभावकीय दायित्व बहन गर्न सक्छ ? यसका लागि नीतिगत व्यवस्थामा केही परिमार्जन गर्ने कि ? प्रश्नहरू यतिखेर अनुत्तरित मात्रै छैनन् कि उत्तरको पनि खोजी गरिएको छैन ।

राज्य पुनः संरचना पछि र अघिका नीतिगत कहरहरू, सेवा प्रवाहका समस्या, सहजता, असहजताहरूका गवेषणा यतिखेर अपरिहार्य मात्रै छैनन्, नीतिगत प्रभावकारिताका लागि अनुसन्धान आवश्यकीय छन् । यसका समस्याहरूको जगमा रहेर अनुसन्धान तथा बहसहरूको थालनी गर्ने आधिकारिक निकाय को हो ? हामीले कसैलाई जिम्मेवार बनाउन सकेका छैनौँ ।

नेपालीले नटेकेको कुनै भूगोल छैन । नेपाली नभेटिने कुनै देश छैन र नेपालीले नभोगेको कुनै संस्कृति छैन । प्रत्यक्ष-परोक्ष विश्वका सबै संस्कृतिको छाप नेपाली डायस्पोरामा परेको छ । नेपाली भाषाको नशा-नशामा प्रेम र स्पन्दनमा गुञ्जन बोकेर नेपाली देशपरीय संस्कृतिले विश्वस्तरीय आयाम निर्माण गरिसकेको भए पनि कहाँ ? कति ? र के कसरी प्रभावको अन्तरघुलन भइसकेको छ, त्यसको निरूपण भएको छैन । जसका लागि पनि प्रज्ञाभित्र पनि सोच आरम्भ हुन ढिला भइसकेको छ । आगत दिनमा यस क्षेत्रमा गहन कार्यदिशा निरूपित होस् ।

जे होस्, प्रज्ञाप्रतिष्ठान देशको मानसिक पोषणको भण्डार हो । यसका कार्यक्रम र क्रियाशीलताले देशको दिव्य र आलोकमय मार्गनिर्देश गर्दछ तर, यसको सामयिक परिवर्तन सङ्ल्याउन र देशलाई मार्गनिर्देश गर्न गराउने प्रज्ञाप्रतिष्ठानको ओजस्वी भूमिका निर्वाह गर्नुपर्दछ ।

जय होस् !

सम्बन्धित समाचार