जवाफमा मन्त्री शर्माले आफूबाट गल्ती भएको स्वीकार गरेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार उनलाई आफ्नै निवास खुमलटारमा बोलाएर अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल राजीनामा गर्न दबाब दिएका छन् ।
माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उनीमाथि राजीनामा गर्न दबाब बढेको छ ।
अध्यक्ष दाहालले मन्त्री शर्मालाई खुमलटारमै बोलाएर आइतबार हप्काउँदै भने- ‘तपाईँलाई विश्वास गरेर जिम्मेवारी दियौँ, तपाईँले सचिवहरुलाई बाइपास गरेर यस्तो गर्नुभयो, तपाईँबाट गल्ती भयो ।’
करको हेरफेर गर्न अर्थ मन्त्रालयका सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करलाई एक पूर्वनासु रघुनाथ घिमिरेको निर्देशन मान्न भनेका अर्थमन्त्री जनार्दन शर्माले विज्ञ र सरोकारवालाहरुलाई बेवास्ता गरेको अध्यक्ष दाहालको मूल्यांकन छ । अर्थतन्त्र संकटमा परेका बेला अर्थमन्त्री शर्माले जथाभावी काम गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेका बेला अध्यक्ष दाहालले उनलाई राजीनामा गर्न निर्देशन दिएका हुन् ।
जवाफमा मन्त्री शर्माले आफूबाट गल्ती भएको स्वीकार गरेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।
जेठ १४ गते राति मध्यरातमा पूर्वनासु घिमिरेलाई अर्थमन्त्रालयमै निमन्त्रणा गरेर अर्थमन्त्री शर्माले दुई सचिव मरासिनी र पुष्करसहित दुई प्रमुख सहसचिवहरु भुपाल बराल र चक्रबहादुर बुढालाई उनले भने अनुसार करको दरमा हेरफेर गर्न सुझाएका थिए । सचिव र सहसचिवहरु बाध्य भएर घिमिरेका अनुसार करको दरमा हेरफेर गर्न तयार भएका थिए ।