माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । बुधबार काठमाडौँमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै दाहालले संघ र प्रदेशको चुनाव आउनै लाग्दा कांग्रेसमा दम्भ देखिने आशंका बढेको बताएका हुन् ।
स्थानीय तहको चुनावपछि एमालेसँग फेरि माओवादीको सहकार्य हुने चर्चा सुरु भएका बेला दाहालले कांग्रेसलाई अहंकार देखाए ठेगान लगाउने चेतावनी दिएका हुन् ।
दाहालले प्रशिक्षण कार्यक्रममा भने, ‘अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौँ । मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो । हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ । हाम्रो अर्को केही छैन । तर हामी चिन्तित छौँ यतिबेला । फेरि कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन, अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई। त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहन्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन ।’
दाहालको यस्तो अभिव्यक्तिलाई आउँदो संघ र प्रदेशको चुनावका लागि बार्गेनिङका रुपमा लिइएको छ । उनले कांग्रेस एमालेको दम्भ बढाइदिन र घटाउने आरोप माओवादीमाथि लागेको उल्लेख गरे ।