सोमबार , अषोज २८, २०८१

म पनि आक्रोशित भएँ (कविता)

image

– अभिषेक राज सिंह

हो !
म कवि होइन
म कविता पनि लेख्दिनँ
तिम्रा सोचका कविका कविता झैँ ।
म मेरा विचारहरू शब्दमा लेख्छु ।

तँ/तपाईं कविवर !
वा क्या बात।
(सागर, किस्ने, वसन्तेहरू, समीक्षक कविवरहरू)
कस्तो कवि ?
छन्द – लयको कवि होस कि ?
गद्य – पद्यको कवि होस कि ?
क्रान्तिकारी कवि होस कि ?
समाजवाद
साम्यवाद
प्रेमवाद (माया पिरती) लेख्ने
व्यङ्ग्यवाद
रहस्यवाद
प्रकृतिवाद
अध्यात्मवाद
आत्मावाद
कि
समीक्षकवाद ?

ब्रम्हाज्ञान जानेझैँ
सारा प्राणी (मानव) जगतलाई अनि
(जलचर, नभचर, स्थलचर, उभयचर) लाई बुझेझैँ
आफैलाई चिनेझैँ
शब्द शब्दमा निथ्रुक्क भिजेझैँ
मेरो शब्दलाई बुझेर बुझेझैँ
भने –
कविता लेख्न छाड्दे
रत्नपार्क को रुखमा बसी कराइदे
“वात्सल्य ऋतुधर्ममा – म आँधो मान्छे” लाई च्यातिदे
यस्तै लेख्ने हो भने
भन्छन् “मुकुन्द घिमिरे” भइदे ।

म अर्को पागल
सायद यी महाशयहरूलाई थाहा छैन कि ?
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बास्नालाई स्वाद लिन्छु
आकाशभन्दा पातला कुरालाई छुन्छु।
ती कुरा
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन
म देख्छु ढुङ्गालाई फूल!
प्रयत्न –
अबुझलाई बुझाउन।

ओहो !
फेरि अर्को समीक्षक को वर्षा हुने भए ।
कयौँ दिनहरूको सङ्घर्ष पछि लेखिएको कविता ३ मिनेटमा निष्कर्षमा बुझिदिने भए –
च्यातिदिने भए।
रातारात यी सागर, किस्ने, वसन्तेहरू महान् कविकार भए ।
समाजलाई अथाह ज्ञानका भण्डार योगदान दिएर गए ।
नयाँ पालुवामा कवि बन्ने सपनाका सपनाहरू सजाइदिएर गए ।

अरे!
सुने मैले पनि तेरो कविताहरू
तँ जस्तै आडम्बरले भरिएको
खोक्रो शालीनता मा बाँचेको तँ जस्तै
ती लठ्यौरो शब्दहरू
बिम्ब अनि प्रतिबिम्ब का कुराहरू
जा –
बागमती मा डुबुल्की मारेर आइज
आफ्नो जान्ने बुझ्ने को चेत को अनुहार हेरेर आइज ।
भ्रम मा नबस् फेरि –
अझै पनि तेरा जस्ता अनुहारहरू
तँ जस्ता बुद्धहरू
देखिन्छन् पशुपतिनाथका बागमती घाटमा
ठमेल का गल्ली गल्लीहरूमा
नाटक घरका पाटी पाटीमा
यत्र तत्र सर्वत्र नयाँ पुराना बसपार्कहरूमा
क्ष मा या चा ना का लागि।
जा –
अहङ्कार पखालेर आइज
ज्ञान प्राप्त गरेर आइज
शान्त हुन प्रयास गरेर आइज
बोल्न सिकेर आइज
सोच्न सिकेर आइज
अनि –
मलाई मेरो च्यातिएर फालिने रचना (कविता) को समीक्षा गर्न आइज ।

कि के?
तँ जस्तै –
तेरो भाषा मा/शब्दमा/ बुझाईमा
कविता कोरू?

जा भाग्
अचेत भेडो।

@ए. आर. एस. टि

सम्बन्धित समाचार