असन, महाबौद्धतिर चर्पी छैनन् । व्यापारीहरू आफूले प्रयोग गर्ने चर्पी हामीलाई प्रयोग गर्न दिँदैनन् । चर्पी गर्न रत्नपार्क जाउँ, यता ग्राहक फुत्किएला भन्ने डर, नजाऊ गाह्रो ! पेट खराब भएका दिन त दसै लाग्छ । अब दिनभर चर्पी खोज्नु कि काम खोज्नु ? साह्रै दुःख छ ।"
Photo by: Himal Darpan
७३ सालमा गाउँदेखि काठमाडौं छिरेँ । नौबिसे कटेर उकालो लागेपछि गाडी बाटोमा कतै रोकिएन, गाडी नरोकिए जस्तै पिसाबले च्यापिरह्यो, पाइखानाको पीर परिह्यो । बसपार्कमा गाडी रोकियो । गाडीबाट झरे लगत्तै मेरो ध्यान मूत्र विसर्जनतिर गयो । गंगबु बसपार्कमा ‘सार्वजनिक शौचालय: पिसाब रु २, दिशा रु ५’ लेखिएको एक सार्वजनिक शौचालय भेटेँ । जसै उक्त शौचालयभित्र प्रवेश गरेँ, मूत्र पोखरी देखियो । फोहोरको कुइगन्धी मेला । नाकमुख थुन्नु पर्ने गरी दुर्गन्ध आउने । चुरोटका ठुटा, गुट्खा, सुर्तीका खोल, पान र गुटकाको थुकले अन्धाधुन्ध कोरिएको कुरूप कोलाज उदेकलाग्दो देखियो ।
मलाई एक सरले भन्नूभएको थियो, “परिवारको कस्तो छ भन्ने बुझ्न उक्त परिवारको शौचालय हेरे पुग्छ ।” मैले त काठमाडौं सहरको सार्वजनिक शौचालय जो हेरेँ, अनि लाग्यो काठमाडौं पनि शौचालय जस्तै छ । जो देशको राजधानी हो । काठमाडौं भित्र सार्वजनिक शौचालय नहुँदा दैनिक हजारौँ मान्छेहरू पिसाबको तनाव बोक्न बाध्य छन् । ७३ साल देखि (२०७८ माघ) आजका मितिसम्म काठमाडौं उपत्यकाभित्र धेरै पल्ट पिसाब बोकेर सार्वजनिक शौचालय खोज्दै हिँडेको छु । म जस्ता थुप्रै मान्छे छन्, जो यो सहरमा आफ्ना नियमित कामको तनावसँगै आफ्नो दिमागमा पिसाबको चाप बोकेर हिँडेका छन् । यसरी पिसाब बोकेर हिँड्नुको प्रमुख कारण हो, सार्वजनिक शौचालय नभेटिनु । यदि भेटिगए पनि फोहोरको डङ्गुर भित्र छिर्न मन नमान्नु ।
काठमाडौंका सार्वजनिक शौचालयहरू:
काठमाडौं उपत्यका भित्रका तीन जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरका आ-आफ्नै नाराहरू छन् । ती जिल्ला भित्रका स्थानीय तहका पनि आआफ्नै सुन्दर नाराहरू छन् । जसको समग्र अर्थ संस्कृत, सभ्यता, भौतिक ,आर्थिक तथा सामाजिक विकास हुन पुग्दछ । तर, यो विकासमा सार्वजनिक शौचालय गौण देखिन्छ । पार्क बनाउने, धार्मिक र सांस्कृतिक पक्ष झल्काउने कला कृती बनाउने, बाटोदेखि भवन बनाउने, मेट्रो रेल कुदाउने लक्ष्य देखिन्छन् तर, सार्वजनिक शौचालय निर्माण गर्ने भएका शौचालयको स्तर उन्नति गर्ने योजना कहिल्यै प्रमुखरूपमा योजनामा पर्दैन ।
काठमाडौं उपत्यका अझ भनौँ, काठमाडौं चक्रपथभित्र काठमाडौं उपत्यकाको आधा भन्दा बढी जनसङ्ख्या बस्दछ भने सबैभन्दा बढी मान्छेहरूको चहलपहल हुन्छ । यही चक्रपथभित्र सञ्चालित सार्वजनिक शौचालयको यकिन तथ्याङ्क नपाइए पनि करिब ८४ देखि ९० को बिचमा रहेको बताइन्छ । ८-१० लाख जनसङ्ख्यामा मात्र ९० शौचालय! त्यो पनि सुविधायुक्त छैन । अझ भनौँ, यी मध्यका आधाभन्दा बढी नाक मुख थुनेर पिसाब फेर्ने बाहेक अरू काममा शौचालय प्रयोग गर्न सकिँदैन ।
सार्वजनिक शौचालयको विकल्पको रूपमा प्रयोगमा आउने शौचालयहरू :
काठमाडौं उपत्यकामा सार्वजनिक शौचालय सजिलै नभेटिने हुँदा काठमाडौंमा रहेका सीमित व्यक्तिहरूले प्रयोग गर्ने शौचालयहरू हुन्, ‘अस्पताल, क्याम्पस, सपिङ कम्प्लेक्स र, होटेल रेस्टुरेन्टका शौचालय ।’ विशेषगरी रत्नपार्क वरपर पिसाबले च्याप्यो भने मान्छेहरू वीर अस्पताल, ट्रमा सेन्टर, काठमाडौं मल, सिटी सेन्टर छिर्छन् । साथै, प्रदर्शनी मार्गमा, भृकुटीमण्डपमा भित्रको शौचालय (वा पछाडि कुनाको खाली जग्गामा) तथा विश्व भाषा क्याम्पस, नेपाल ल क्याम्पस, आरआर क्याम्पस, मोडल अस्पतालका शौचालयहरू प्रयोगमा आउँछन् । चाबहिल क्षेत्रतिर पशुपति बहुमुखी क्याम्पस, दीर्घायु अस्पताल, एसी कम्प्लेक्स, के.एल. टावर, हेल्पिङ हेन्ड अस्पताल, ॐ अस्पतालको शौचालय प्रयोगमा आउँछन् । यसरी कलेज, सपिङ कम्प्लेक्स वा अस्पतालको शौचालय प्रयोग गर्ने समूह काठमाडौंमा लामो समय बिताएको वा यही काठमाडौंका रैथानेहरू बढी देखिन्छ साथै, युवायुवतीहरू देखिन्छन् ।
माथि उल्लेखित शौचालय प्रयोग गर्न नसक्ने आममान्छेहरू गल्लीमा पर्खालको ओत लाग्ने, खोला क्षेत्रहरू खोज्ने, विशेषगरी खोला क्षेत्रमा भएका कासे पुलको तल गएर पिसाब फेर्ने गर्छन् । यसरी पिसाब फेर्नेहरूमा पुरुषहरू बढी देखिन्छन् भने केही बालबालिका हुन्छन् । तर, महिलाहरूको हकमा यो कुरा लागू भएको देखिँदैन ।
थोरै मान्छेहरू भने पिसाबले च्यापेपछि रेस्टुरेन्ट, होटेलमा नास्ता खाने बहानामा उक्त ठाउँको शौचालय प्रयोग गर्छन् । सडक क्षेत्रका अधिकांश साना नास्ता र चिया पसलहरूले ग्राहकलाई शौचालय प्रयोग गर्न दिँदैनन् ।
सार्वजनिक शौचालयको अभावमा प्रभावमा पर्ने मुख्य समूह:
एकपटक मेरो एक मित्रले मलाई भने, ‘काठमाडौंमा एक बोतल पानी मूल्य ३५ रुपैयाँ पर्ने र छ यार ! त्यसमाथि तनाव छुट्टै । अब त बाहिर जाने पानी नपिउने म त ।’
मैले भनेँ, ‘२० रुपैयाँ बोतल पानी आउँछ त ! कसले ठगेछ हजुरलाई?’
दाइले भन्नुभयो, ‘पानी त २०-२५ रुपैयाँमै दियो नि ! पानी पिएपछि पिसाब आयो, पिसाब फेर्ने ठाउँ खोज्दा बल्लबल्ल भेटियो । एकपटक पिसाब फेरेको ५ रुपैयाँ लियो । अब एक बोतल पानी पिए दुई पटक पिसाब फेर्नु पर्यो ! १० रुपैयाँ भयो । दोस्रोपटक दोस्रो ट्वाइलेट खोज्नु पर्ने अर्को झन्झट । काम गर्न पनि नपाइने, पिसाब खोज्ने ठाउँ खोज्नु कि काम ?’
यस्ता समस्या भोग्नेहरू धेरै छन् जसलाई यसरी हेर्ने सकिन्छ ।
१) महिलाहरूलाई कठिनाई
काठमाडौंमा भएका सार्वजनिक शौचालयहरूको युरिनल वा प्यानहरू पुरुषले प्रयोग गर्नेभन्दा महिलाले प्रयोग गर्ने कम देखिन्छ । भएका शौचालय पनि साँघुरा, अँध्यारो र फोहोर हुने हुँदा महिलालाई सार्वजनिक शौचालय प्रयोग गर्न गाह्रो हुने गरेको देखिन्छ । महिलाहरूमा एक तनावको विषय बनिदिन्छ – महिनावारि ।
स्नातक अध्ययन गर्दै गरेकि एक छात्राका अनुसार, “महिनावारी हुने मिति थाह हुन्छ । कहिले प्याड बोकेर आइन्छ तर, कहिले भुलिन्छ । यदि बाटोमै हुँदा पिरियड भयो भने प्याड कता प्रयोग गर्ने भन्ने ठुलो तनाव हुन्छ ।” उनी अगाडि भन्छन्, “पिरियड भएर घरदेखि प्याड प्रयोग गरेर आयो, बजारमा प्याड चेन्ज गर्न मिल्ने शौचालय नै छैन । प्याड चेन्ज गर्न सकिँदैन अनि गाह्रो हुन्छ । इन्फेक्सन हुन्छ ।” काठमाडौंमा भएका अधिकांश शौचालय फोहोर त छँदैछ, सँगसँगै त्यहाँ प्रयोग पानी फोहोर हुने हुँदा महिनावारीको समयमा ती शौचालय प्रयोग गरियो भने इन्फेक्सन हुने सम्भावना बढ्छ । यो अर्को समस्या छ ।
अर्की एक छात्राकाअनुसार, “काठमाडौंको शौचालयको अवस्था देख्दा छोरी भएर जन्मिएकोमा दुःख लाग्छ । केटाहरूलाई जस्तो जहाँ नि सजिलै उभिएर पिसाब गरे जस्तो सजिलो नहुने ! हामीलाई महिनावारी हुँदा, दिसा गर्नुपर्ने अवस्था आउँदा काठमाडौंमा सार्वजनिक शौचालयनै नपाइने । पाइएका पनि प्रयोग गर्न कठिन हुने । महिनावारी हुँदा, साना बालबालिकालाई डाइपरहरू चेन्ज गर्नुपर्दा (वा विसर्जन गर्नु पर्दा) कठिन हुने । अझ, फोहोर भएको प्याड, डाइपर, हगिज बोकेरै हिँड्नु पर्ने समस्याले तनाव दिन्छ । कहिलेसम्म यो समस्या बेहोरिरहनुपर्ने ?”
यसरी हेर्दा काठमाडौँका शौचालयहरू महिलामैत्री छैनन् । उनीहरूको सुरक्षा गर्न सक्ने ल्याकत राख्दैनन् । काठमाडौं उपयुक्त सार्वजनिक शौचालयको अभावको मारमा परेको ठुलो महिलाहरूको समूह हो ।
२. अल्प सङ्ख्यक तथा शारीरिक दुर्बलता भएका व्यक्तिहरूलाई कठिनाई
काठमाडौंमा बनेका अपवाद बाहेकका शौचालय अल्पसङ्ख्यक तथा अपाङ्गमैत्री छैन । यी शौचालयमा महिला र पुरुष भनेर लेखिएको त देखिन्छ तर, शारीरिक दुर्बलता भएका व्यक्तिहरूको पहुँचभन्दा पर छन् । ह्विलचियर प्रयोग गर्न नसकिने, जस्ता समस्या देखिन्छन् भने लैंगिक तथा यौनिक-अल्पसङ्ख्यक समूहका व्यक्तिहरूले ‘अनुकूल शौचालय’ प्रयोग गर्न नसक्ने हुँदा समस्याहरू उत्पन्न झेलिरहेका छन् । उल्लेखित समुदाय लक्षित सार्वजनिक शौचालय उपलब्ध नहुँदा अल्पसङ्ख्यकहरूले हिंसा भोग्नु पर्ने समस्याका साथसाथै दिनभर दिसापिसाब च्यापेर बस्नुपर्ने अवस्था सृजना होइरहेको छ ।
३. मजदुरहरूलाई कठिनाई
काठमाडौंमा मजदुरी गरेर बस्ने जमात ठुलो छ । सडकपेटीमा व्यापार गर्ने, भारी बोक्ने, विभिन्न काम गर्ने मजदुरहरूलाई सार्वजनिक शौचालयको अभाव बढी खड्किने गरेको पाइन्छ । मजदुरहरू सपिङ मल, ठुला रेस्टुरेन्ट होटेलतिर प्रवेश पाउँदैनन् । नजिकै सार्वजनिक शौचालय छैन । दिनभरी च्यापेर बस्न अप्ठ्यारो हुन्छ ।
असन, इन्द्रचोकमा भारी बोक्ने एक भरियाका अनुसार, “असन, महाबौद्धतिर चर्पी छैनन् । व्यापारीहरू आफूले प्रयोग गर्ने चर्पी हामीलाई प्रयोग गर्न दिँदैनन् । चर्पी गर्न रत्नपार्क जाउँ, यता ग्राहक फुत्किएला भन्ने डर । नजाऊ गाह्रो ! पेट खराब भएका दिन त दसै लाग्छ । काम गर्न आउँ चर्पी नजिक छैन, नआउँ साँझ खाने खाना हुन्न । अब दिनभर चर्पी खोज्नु कि काम खोज्नु ? साह्रै दुःख छ ।”
असनका अर्का भरिया अनुसार, “पानी खान पनि छोडियो बाबु ! पानी खायो कि मुत्न आउँछ । मुत्नलाई टोलिट (चर्पी) नजिक छैन । साहुजीहरूलाई टोलिट दिनु न भन्यो भने दिनै मान्दैनन् । मुताइ त पानी नखाए रोकिन्छ तर, पखाला चल्यो भने त जाहाड डुब्छ ! हामी गरिबलाई हग्न-मुत्न नि गाह्रो यो काठमाडौंमा ।”
सहरका सडक पेटीमा नाङ्गलो व्यापार गरेर, ठेला व्यापार गरेर बस्नेहरूलाई सार्वजनिक शौचालयको भूतले खुब तर्साउँछ । पिसाब फेर्ने, दिसा गर्ने ठाउँ पर्याप्त नपाउँदा उनीहरू दिनभरि पिसाब रोकेर बस्छन् । न्युरोड गेट नजिक नाङ्लो पसल गर्ने आमाले भनिन्, “बाबु, दया नभएको सहरमा पापी पेटका कारण आइयो ! यहीँ पापी पेट भरेपछि पनि दिउँसो कहाँ फाल्ने भन्ने पिरलो परिरहने । सरकारले हामी दु:खीलाई न खाने ठाउँ दियो, न खाएको फाल्ने ठाउँ !”
पर्याप्त सार्वजनिक शौचालय नहुँदा काठमाडौं भित्रका मजदुरहरू पानी पिउन पनि डराउँछन् । यसले गर्दा उनीहरूमा जलवियोजन, तथा मूत्र प्रणालीको समस्या बढ्ने देखिन्छ ।
४. आन्तरिक र बाह्य पर्यटक
एकदिन वसन्तपुर डबलीमा बसिरहेको बेला एक विदेशी नागरिक मसम्म आएर सोधे, “Can you tell me, where is rest room?” सायद ती नागरिकले सार्वजनिक शौचालय सोधेका थिए । सार्वजनिक शौचालयबारे मलाई पनि जानकारी नभएको हुँदा नजिकैको व्यापारीलाई सोधेँ र, ती व्यापारीले आफूले प्रयोग गर्ने कुनै शौचालयतिर ती व्यक्तिलाई लिएर गए।
यसरी शौचालय सोध्नै हिँड्ने आन्तरिक र बाह्य पर्यटकहरू सहरका मूल भागतिर बढी भेटिन्छन् । सहरमा पर्याप्त र सुविधा सम्पन्न शौचालय नहुँदा उनीहरूमा यात्राको अमिलो अनुभव हुन पुग्दछ । नेपालका ठुला र चर्चित पर्यटकीय स्थलमा समेत सुविधा सम्पन्न सार्वजनिक शौचालय छैनन् । जसले गर्दा विदेशी र आन्तरिक पर्यटकहरू पिसाब बोकेर हिँड्न बाध्य हुन्छन् । देशको संस्कृतको रौनक सङ्ग सार्वजनिक शौचालय अभावको कुरूप चित्र पनि बाहिरिन्छ ।
सार्वजनिक शौचालय व्यक्तिको प्रत्यक्ष दैनिक क्रियाकलापसँग जोडिएको प्रमुख पक्ष हो । सहरहरूमा बढी मान्छेको चहलपहल हुनेभएकाले यस्ता ठाउँमा सार्वजनिक शौचालयको आवश्यकता बढी पर्छ । नेपालको अव्यवस्थित सहरीकरण, अदूरदर्शीताका कारण पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका शौचालय पनि सुविधा सम्पन्न र सफा छैनन् । शौचालयको सरसफाइ, शौचालयमा प्रयोग गरिने पानी तथा सरसफाइका उचित सामाग्रीको अभावले शौचालय ‘शौचालय’ जस्ता हुन सकेका छैनन् । जसका कारण मानिसहरू विभिन्न प्रकारका स्वास्थ्य समस्या भोग्न बाध्य भएका छन् ।
देशको कला, संस्कृति, विकास र व्यवहारको प्रदर्शन गर्ने मद्धत गर्ने सार्वजनिक शौचालयको अभाव हुनु वा शौचालय निर्माण र वृद्धि विकासमा स्थानीय निकायले प्रभावकारी ध्यान दिन नसक्नु दुःखद पक्ष हो । सार्वजनिक शौचालयको महत्त्व र आवश्यकतालाई नजरअन्दाज गरिएको खण्डमा नेपालका अन्य विकसित सहरहरूले पनि सार्वजनिक शौचालयको अभाव बोक्ने छन् । तसर्थ, बेलैमा सोच्न जरुरी छ ।