धार्मिक हिंसा भड्किरहेको समयमा उनले सबै धर्मको समन्वय गराइदिएको र त्यसपछि मुस्लिम धर्मगुरुले उनलाई आध्यात्मिक गुरु अर्थात् अरबी भाषामा ‘पीर’को उपाधि दिएको विश्वास गरिन्छ ।
काठमाडौँ । दाङको धार्मिक एवम् ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) सिँगारिएको छ । बिहीबारबाट लाग्ने पीर फिर्ने मेलाका लागि सिद्धरत्ननाथ मन्दिर सिँगारिएको हो ।
हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पीर)फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्दछ । पीरफिरे मेलाका लागि अवसरमा मण्डव तथा स्वागतद्वार निर्माण, मन्दिरमा रङरोगन र सरसफाइलगायतका काम भइरहेका छन् ।
मठाधीशलाई मठको प्रमुखका रुपमा मान्ने प्रचलन रहेको छ । मठाधीश भएपछि मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाउने र दैनिक पूजाआजामा मात्रै सहभागी हुन पाउने व्यवस्था छ । मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहेको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा व्यवस्थापन समितिका कार्यालय सचिव हीरानाथ योगीले जानकारी दिएका छन् ।
उनका अनुसार मठाधीश चयनका लागि मठका सञ्चालकहरू, योगीहरू र भद्रभलादमीले दलिचा बैठक गरी चुन्ने परम्परा छ । विक्रम संवत् ८०९ सालदेखि नै पीर स्थापना र मेलाको आयोजना हुँदै आएको उनले बताए । दाङका तत्कालीन थारु राजा रत्न पारखुको पालादेखि यो मठाधीश राख्ने र मेला लाग्ने प्रचलन चलिआएको विश्वास छ ।
मणि पारखुका छोरा दाङका थारु राजा रत्न पारखुले गोरक्षनाथबाट सिद्धि प्राप्त गरेपछि राज्यत्याग गरेर हिँडेको र गोरक्षनाथले उनलाई पात्र दिएपछि पात्रसहित विश्व भ्रमणमा लागेका छन् । उनी भ्रमणका क्रममा मक्कामदिना पुगे । त्यहाँ धार्मिक हिंसा भड्किरहेको समयमा उनले सबै धर्मको समन्वय गराइदिएको र त्यसपछि मुस्लिम धर्मगुरुले उनलाई आध्यात्मिक गुरु अर्थात् अरबी भाषामा ‘पीर’को उपाधि दिएको विश्वास गरिन्छ ।
मठमा प्रत्येक वर्ष परिवर्तन हुने मठाधीशका लागि इच्छा गरेका योगीले कुनै समय बहुमत जुटाउनुपर्थ्याे । मठाधीशका लागि चौघेरा मन्दिरसहित, सल्यान, रोल्पा र प्युठानलगायतका विभिन्न स्थानबाट योगीहरु चौघेरा आउने गर्दथे । तर पछिल्लो समय मठको मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी (जोगी) भेट्टाउनै समस्या हुने गरेको मठ व्यवस्थापन समितिका सदस्यसचिव हीरानाथ योगी बताउँछन् ।
‘‘कुनै समय मठाधीश बन्नका लागि प्रतिस्पर्धा हुने गर्दथ्यो । इच्छा गरेको व्यक्तिले समर्थन जुटाउनुपर्ने अवस्था थियो ।’’ उनले भने, ‘‘पछिल्लो समय नाथ समुदायमा पनि सन्यासी बस्ने र कान चिर्नेहरुको कमी हुँदै गयो । जसले गर्दा अहिले मठाधीशका लागि नयाँ सन्यासी जोगी भेट्टाउनै मुस्किल छ ।’’
जसले गर्दा विगतमा भइसकेका मठाधीशलाई पुनः मठको मठाधीशमा दोहाेर्याउने गरेको उनले बताए । मठाधीशसँगै पुजारी, भण्डारी, सिराने र धुनी योगी बर्सेनि परिवर्तन गर्ने परम्परा रहिआएको छ । अहिले मठमा १२ जना सन्यासी योगीहरू छन् ।