बुधबार , कार्तिक २८, २०८१

उमेरका बाफहरू उडाउँदै पिके पदयात्रा (संस्मरण)

हुस्सेले धमिल्याएको मौसममा एउटा पारदर्शी उज्यालो देखेँ । हराउँदै देखिँदै गर्ने बादलका टुक्राहरूको अथक चञ्चलता देखेँ । जे हेर्न आएको, त्यो हेर्न नपाए पनि मैले सोच्दै नसोचेका अनेक कुराहरू देखेँ ।

image

– विजय लुइँटेल

लालीगुराँसको दुनियाँ भुलभुलेमा आज एक बिहानैदेखि झरी परिरहेको छ । म सुतेको ओछ्यान माथि पानीले एकोहोरो संगीत बर्साइरहेको छ । पानी नपरेको भए यतिबेला म पिके बेस क्याम्प तिर हिँड्दै हुन्थे तर पानीले त्यसो हुन देला जस्तो छैन । यो यात्रामा मलाई नियमित डायरी लेख्न मन थियो । पहिलो दिन गाडीमा ओखलढुङ्गा पुगेर लेख्न सुरु गर्नु पर्ला सोचेको थिएँ । दिनभरि गाडीमा हिँडेकाले ओखलढुङ्गा पुग्न लाग्दा गाडी लाग्यो । ड्राइभर दाजुलाई एक छिन साइड लगाउन भनेर मैले बाटो छेउको कुलोमा दुई पाउ जति छाँदे । अलिकति सञ्चो त भयो तर ओखलढुङ्गा पुगेर कलम समाउन जाँगर आएन । राशन ओकलेर फुर्सद नपाको शरीरले किन हो कोनि शब्द ओकल्न मानेन ।

राती ओखलढुङ्गा पुग्दा पार्टीका झन्डा बोकेर युवा र वयोवृद्धहरू बाटोमा हिँडिरहेका थिए । चुनाव आउँदा नेपालको माहौल सधैँ यस्तै हुने गर्दछ । देशको मुहार फेर्छु भनेर हिँड्ने ती मानिसहरू केही समयपछि देशभर मुहार लुकाउँदै हिँडेको देखिन्छन् । देशको यो चलनबाट म अपरिचित छैन । मलाई त उसै पेट निमोठेर सकस भइरहेको थियो, राजनीति सोच्दा झन् छाँद आउला जस्तो भयो । त्यसैले आफ्नो झोला बोकेर लागे होटेलतर्फ । भोक लागे जस्तो भएको थियो त्यही पनि भात रुचेन ।

रुचेजती भात हुलेर ओछ्यानमा पल्टिँदा निन्द्रा पर्ला जस्तो लागेको थिएन । मनमा कयौँ कुरा थिए लेख्नका लागि तर तिनलाई त्यतै गुम्स्याएर सुत्ने निधो गरेँ । बिहान उठ्दा कयौँ भावना मनभित्रै गुम्सिएर मरेछन् । तिनको निधनले गहिरो चोट दियो मलाई । कहिले कागजको पानामा जन्मिन पाएनन् ती । भ्रूण हत्या गरेको ग्लानीले मलाई बिहानै भरी पोलिरह्यो ।

घाम उदाएपछि भने ग्लानीलाई अँगालेर बसिरहन सकिनँ । भुलभुलेसम्म पुग्नु थियो । उठेर ग्यास्ट्रिकको एउटा गोली निलेर फेरी गाडीमा बसेँ । अनि नेपाल ८ वन्डर को ५ जनाको टोली हामी हेमन्त दाई, अमीर, आशिष, सदिश र म भुलभुलेतर्फ लाग्यौँ ।

सगरमाथाको जिल्ला सोलुखुम्बु सुरु हुँदा मलाई किन हो आफ्नै गाउँ इलाम पुगेजस्तो भयो । हुस्सेले डम्म ढाकेको साँघुरो बाटो । बाटोमा फैलिएकोको ओसको अनौठो गन्ध । त्यो देख्दा मेरो मूलघरको धारोमा एकनासले खसिरहेको पानीको आवाज मेरो कानमा गुन्जिरहेको थियो । थाहा छैन किन तर हुससेले भरिएको पहाडको घुमाउरो बाटो हिँड्दा मलाई मूल घर अनि त्यहाँको सेरोफेरो याद आउँछ । सायद यो जिन्दगीभर नै एउटा रहस्य बनेर रहिरहनेछ म भित्र ।

धाप पुग्दा पहाडको सानो गाउँ देखिन्छ । धाप गाउँबाट सिँगाने हुँदै, बाटो भुलभुले पुग्छ । सिँगाने पुगेर हामी चाउचाउ खान केही बेर रोकियौँ । हामीले ल्याएको गाडी भुलभुले सम्मै पुर्‍याउने योजना थियो तर एक दुई दिनदेखि लगातार परेको पानीले गाडी लैजान असम्भव भयो । भाग्यवश सिँगानेमा बालुवा बोक्ने ट्याक्टर भेटियो । त्रिपाल ओछ्याएर हामी हाम्रा झोला र आफूलाई डालामा खाँदेर भुलभुलेतर्फ अघि बढ्यौँ । तीन घण्टा कच्ची बाटो ट्याक्टरमा यात्रा गर्दा चाकको मासु मरिसकेको थियो । सोचेँ, भोलि हिँड्ने बेलामा चाकले गुनासो गर्नेछ । साँझको गुलाबी रंगमा भुलभुले निकै मनमोहक देखिएको थियो । रातो सेतो अनि बैजनी रंगका गुराँसले रँगिएको त्यो भूगोल माथि बादलका टुक्रा छोई डुम खेलिरहेका थिए । साँझको लाली रंग तिनै बादलका टुक्राहरूलाई रँगाउन व्यस्त थिए । हरियो फाँट जमिनमा लम्पसार सुतिरहेका थियो । हिमाल नदेखिए पनि हिमालको चिसो हावा आफूमा बोकेर बतास बहिरहेको थियो ।

भुलभुले होटेल पुगेर झोला कोठामा हुल्दा अघिल्लो दिन लेख्न नपाएको गुनासो फेरि बल्झिएर आयो । तर किन हो मैले लेख्न सकिनँ । डायरी पनि थियो, कलम पनि थियो । अघिल्लो दिन जस्तो थाकेको शरीर पनि थिएन । मनमा कतै कसिलो गाँठो थियो, सायद खुल्न मानेन । मनमा अनेक कुरा लिएर म हिजो पनि असन्तुष्ट सुतेँ ।

बिहान पानीको एकोहोरो दर्काइले बोलाए पछि मेरा आँखा खुले । बाहिर निस्कँदा मौसम धुम्म थियो । लालीगुराँस त्यो धुम्म कुहिरोबाट पनि मलाई चियाइरहेका थिए । किन किन त्यो धुम्म मौसममा मलाई आफू हराएझैँ लाग्यो । एक पल आफूलाई दिशाहीन अनुभव गरेँ ।

यात्रामा अघि बढ्नका लागि दिशा चाहिएझैँ जीवनलाई पनि अघि बढ्न दिशा चाहिन्छ कि चाहिँदैन होला भनेर आफैलाई प्रश्न गरेँ । उत्तर म सँग छैन । दिशाहीन हुनु पनि कुनै दिशामा हुनु हो जस्तो लाग्यो मलाई ।

कहिले रहने, कहिले छिट्याउने गरेर पानी हामीलाई हिँड्न नदिने सुर गर्दै छ । यसो आकाश हेर्दा पानी रोकिने कुनै छाँटकाँट छैन । पिके पीक पुगेर भिडियो खिच्न भनेर हिँडेका हामी जाने की नजाने भनेर सल्ला गरिरहेका छौँ । सायद भिज्दै भए पनि पदयात्रामा निस्कन्छौँ होला ।

वैशाख २३, साँझ ४:३० बजे ( तुङ्ग्ना बजे होटेल पिके बेस क्याम्प )

भिज्दै भिज्दै भए पनि हामीले पिके वेस क्याम्प जाने निधो गर्‍यौँ । लालीगुराँसको भूगोललाई अघिल्लो दिनझैँ हुस्सेले डम्म ढाकेकै थियो । एक घण्टा जति हिँडेर लमुझे आइपुग्दा पानीको अलि अलि कुटिसकेको थियो । लमुझेमा विश्राम गरेका बेला पनि केही लेखौला सोचेको थिएँ तर ठिहिर्‍याएको हातले न टाइप गर्न नै सक्यो, न कलम समाएर कागजमा कोर्न नै । रेनकोट घुँडासम्म मात्र आउने भएकाले घुँडा भन्दा तल लुगा भिजेको थियो ।

लमुजेमा होटेलको चुलो छेउ बस्दा घुँडाबाट पानीको बाफ उडिरहेको थियो । केही बेर म त्यसमा टोलाए । बाफ घुँडाबाट उडेर अलिकति माथिसम्म आउँथ्यो अनि कतै बिलाउँथ्यो । मलाई त्यो बाफ बिलाउँदा जीवनबाट हराएको एउटा अमूल्य कुरा याद आयो । मेरो आयु ! मेरो जीवनको २५ वर्ष ती बाफझैँ कतै हराएका छन् । सुरुका केही वर्ष आमाको काखमा हराए, केही वर्ष बाबाको औँला समाएर हराए, केही वर्ष भाँडाकुटी खेलेर हराए, केही वर्ष दादासँग मिल्दै र जुध्दै हराए । केही वर्ष स्कुलको किताबमा हराए, केही वर्ष प्रेयसीको अँगालोमा हराए, केही वर्ष उद्देश्यको खोजीमा हराए । सोचेँ, केही अझै हराउँदैछन् । यहाँ लमुझेमा पनि केही त पक्कै हराउँदै छ । तर के हो त्यो सोच्न चेतनाले दिएन । यस्तै यस्ता अनगिन्ती कुराहरूमा हराए- मेरो उमेरका २५ वर्षहरू । बाफ उडी नै रहेको थियो मेरो ट्राउजरबाट । लाग्यो, ‘मान्छे पनि त्यही ट्राउजर जस्तै छ, जो हरेक पल आफूबाट उमेरका बाफ उडाउँदै हिँडिरहन्छ ।’

लमुझेमा अलिकति शरीर ओभाए पछि चौरी गाईको दूधबाट बनेको बाक्लो चिया खाएर हामी अघि बढ्यौँ । उसै धुम्म उदास दिन अनि बेलाबेला आकाशबाट बर्सिरहेको पानीले हिँड्नलाई सकस बनाइरहेको थियो । अझै नयाँ जुत्ता भएकाले मलाई हिँड्न अप्ठ्यारो भइरहेको थियो । नयाँ जुत्ता ल्याउँदा सधैँ एक दुई दिन त्यस्तै हुने गर्छ । के नमिलेको कता नमिलेको जस्तो ! नयाँ सम्बन्धलाई सहज हुन समय लागेझैँ खुट्टा र जुत्ता पनि सम्बन्ध बनाउन दिनभर वार्ता गरिरहे ।

दुई बजे तुङना बाजेको होटेल आइपुग्दा भने बल्ल उनीहरूको सम्बन्ध सुमधुर बन्यो । बिहानको खाना साढे दुईमा खाएर अहिले म ओछ्यानमा डल्लो परेको छु । हातका औँलामा ओछ्यानको तातो समाएकाले मेरो इशारामा चल्न बल्ल मन्जुर गरेका छन् । टाढा छु घरबाट तर यहाँ पनि घरझैँ लागिरहेछ । पदयात्रामा निस्कँदा संसारै मेरो घरझैँ लाग्छ मलाई । त्यसैले मौका मिल्दा झोला झ्याम्टा बोकेर नयाँ अस्थायी घरको खोजीमा निस्किदिऊ झैँ लाग्छ ।

सोच्छु मलाई कोही मानिसले यो यहाँ नआइदियोस् भन्लान् , साथीभाइले दूरी बनाओस् सोच्लान् , तर आज सम्म मैले टेकेका कुनै पनि जमिनले मलाई नटेक भनेका छैनन् । मलाई पनि जीवनमा मैले टेकेको माटोझैँ हुनु छ । जो आफ्नो र अरूको भन्दैन , यो यस्तो त्यो त्यस्तो भन्दैन । जो केवल स्विकार्छ आफूमा पाइला राख्ने जो कोहीको अस्तित्व । मलाई पनि मेरो जीवनमा जोडिन आउने जीवनलाई केवल जीवन को रूपमा हेर्नु छ । थाहा छैन कति सक्षम हुन्छु, जे होस् प्रयास गर्नु छ ।

साँझ को ५: ४१ भइसकेछ । तल्लो तलामा टुङना बाजेले तुङ्ना बजाएर सुनाउँछु भन्नु भएको छ । अब कलमलाई एकछिन विश्राम दिएर अनुभवलाई पनि समय दिनु पर्ला ।

वैशाख २४ ७:१९ बेलुका ( भुलभुले )

हिजो राती तुङ्ग्ना बाजेको गीत सुन्दै केही बेर रमाइलो गरियो । उमेरले ७० पुग्न आँटेका तुङ्ग्ना बाजे उर्फ जाङमु शेर्पा, त्यो उमेरमा पनि निकै फरासिलो हुनुहुँदो रहेछ । तुङ्ग्नाको मिठो धुन सुनेर सुत्न कोठामा जाँदा मेरो कानमा अझै तुङ्ग्ना बाजेले बजाएको धुन गुन्जिरहेको थियो । दिनभरिको थकानले शरीर गलेको थियो, भुसुक्कै निदाएछु ।

एका बिहानै उठेर पिके पीक जाने योजना थियो तर मौसम धुम्मिएकाले हामी ८ बजे मात्र पिके पीकतर्फ लाग्यौँ । मौसम यति धुमिएको थियो कि केही पाइला अघि हिँडेका साथी पनि देखिएका थिएनन् । पञ्जा ल्याउन बिर्सिएका मेरो हात चिसोले कठ्याङ्ग्रिएको थियो । एक हातमा ट्रेकिङ स्टिक अनि अर्को हातमा देशको झण्डा बोकेर म उकालो लागिरहेको थिएँ ।

हातमा फर्फराइरहेको त्यो झण्डा देख्दा मलाई देशले रगत मागे गीत सम्झना आइरहेको थियो । मैले सम्झेँ, यो एउटा झण्डा सदैव लहराइरहोस् भनेर कयौँ मानिसले आफ्नो जीवन देशलाई सुम्पेका छन् । उनीहरूले देको बलिदान केवल यो झन्डाका लागि मात्र नभएर पुरै देशको लागि हो तर, झण्डा एउटा त्यस्तो भावना हो जसले तिनको बलिदानलाई पहिरेर हिँड्दछ । मलाई थाहा छैन किन हो, झण्डा बोक्दा सधैँ मैले देश हातमा बोकेर हिँडेको अनुभव हुन्छ । त्यसैले झण्डा हातबाट छुटेर नलडोस् भनेर मैले यात्रा भरिनै त्यसलाई जतन साथ बोकेँ । कसैले यही झन्डाका लागि आफ्नो प्राण अर्पण गर्न सक्छन् भने म त्यसलाई जतन पनि गर्न सक्दिन र ? यही प्रश्न मैले आफैँलाई यात्राभर सोधिरहेँ । आफैले कुनैदिन लेखेको झन्डाको कविता पनि सम्झनामा आयो ।

मेरो झन्डा

 बलैले हो भने, म सक्दिनँ मेरो झन्डा बोक्न
झन्डाले त आफैँ, राष्ट्र बोकी हिँड्छ

म खोजौँ पनि किन अब बोक्न उसलाई
उसले त हरपल मेरो अभिमान बोकी हिँड्छ

आफ्नै पहिचान हातमा बोकी कहाँ जान सक्छु र म ?
झण्डा हातमा हुँदा त, गन्तव्य पनि मेरो हातैमा हुन्छ …..

पिके पीक पुग्दा पनि मौसम उग्रेन । सगरमाथा र ल्होत्से जस्ता अग्ला अग्ला हिमालको दृष्यावलोकन गर्न मिल्ने त्यस ठाउँबाट हामीले केवल सेताम्मे हुस्से देख्यौ । यो हुस्से यदि चिरेर हेर्ने हो भने संसारका अग्ला अग्ला हिमाल मलाई दृष्टिगोचर हुन्छन्, म त्यस्तो सुन्दर ठाउँमा छु भनेर मनलाई मनाउने बाहेक केही विकल्प थिएन हामीसँग ।

यात्रा, गन्तव्यप्रति लक्षित भए पनि यात्राको वास्तविक मज्जा भने गन्तव्यमा निहित हुँदैन । यात्राको वास्तविक मज्जा त यात्रामै हुन्छ । मैले पनि काठमाडौंबाट हेर्छु भनेर आएको दृश्य नदेखे पनि नसोचेका अनेक दृश्य देखेँ । लालीगुराँसले ढाकेको पहाडहरू देखेँ । हुस्सेले धमिल्याएको मौसममा एउटा पारदर्शी उज्यालो देखेँ । हराउँदै देखिँदै गर्ने बादलका टुक्राहरूको अथक चञ्चलता देखेँ । जे हेर्न आएको, त्यो हेर्न नपाए पनि मैले सोच्दै नसोचेका अनेक कुराहरू देखेँ । हेर्नु र देख्नुको अर्थ एउटै जस्तो लागे पनि तिनको अर्थमा आकाश पातालको फरक छ । मैले यसपालि त्यही अर्थ स्पष्ट देखेँ ।

दिनभरि हिँडेर फेरि साँझमा भुलभुले आइपुगेको छु । सायद म भोलिबाट यो यात्रा बारे लेख लेख्दिन पनि होला । यात्रा डायरी यहिबाट अन्त्य गर्दैछु । लेख्नका लागि त भोलि पनि अनेक कुरा भेटिएलान् तर मलाई अब थप केही लेखौँ झैँ लागेको छैन । यो यात्रामा आफ्ना भावनाहरूसँग गरेको गफलाई अक्षरमा उतार्न ठूलो रहर थियो । त्यो कति सम्भव भयो म जान्दिनँ । तर आफैसँग अलिक नजिक भएको छु जस्तो आभास हुन्छ । मनमा आइरहने अनेक कुरासँग समय लगाएर शान्ति साथ कुरा गर्ने मौका मिलाइदिने यो यात्रा आजीवन याद रहनेछ ।

पानीले कुटिएर दिनभर हिँड्नु, थाक्नु अनि फेरि हिँड्नु मेरो दुई दिनको दैनिकी हुँदा म कहाँ थिएँ मैले थाहा पाइनँ । म भन्ने व्यक्ति त यहाँको सुन्दरतामा कतै हराएको थियो । भेटिनका लागि हराउन जरुरी छ किनकि नहराई केही कुरा भेटिँदैन र नहराएको कुरालाई भेट्नुको कुनै अर्थ पनि छैन । पदयात्रा निस्कँदा म सधैँजसो हराउँदै भेटिने गर्छु । अचम्म के छ भने म जे हराएको हुन्छु त्यही म कहिल्यै भेटिन्न । पदयात्रासँग दिनलाई अथाह कुरा भएझैँ चोर्नका लागि पनि अनेक कुरा हुँदा रहेछन् । पुरानो म चोरेर नयाँ म मलाई नै उपहार दिने पदयात्रा मेरो सबैभन्दा निकटको साथी हो । उसैले गरेर मैले आफूलाई चिनेको हुँ, देशलाई चिनेको हुँ । यो यात्रा त्यसैले उसैलाई (पदयात्रालाई ) समर्पित गर्दछु  ।

रातमा तारा हेर्न सारै मन लागेको छ तर बाहिर हुस्सेले गर्दा तारा देखिने कुनै छाँटकाँट छैन । तारा नदेखिए पनि अन्धकारलाई एकछिन हेर्न पर्ला सोचिरहेको छु । भन्छन्, ‘अन्धकारले पनि कहिले काँही उज्यालो दिन्छ अरे !’  हेरौँ के दिँदो रहेछ मलाई अन्धकारले ?

अस्तु !

सम्बन्धित समाचार