बिहिबार , मंग्सिर ६, २०८१

पितृसत्तात्मकतामा अल्झेको हाम्रो समाज, आखिर के फरक छ छोरा र छोरीमा ?

image

मिति २०७८ साल साउन ३ गते, समय अन्दाजी बिहानको ११ः३० बजे, स्थान राप्ती समाज अस्पताल (अस्थायी ननकोभिड अस्पताल),रुकुम (पश्चिम) । म सधै झैँ ओपिडिमा बिरामीका समस्याहरु सुन्दै आफ्नो ज्ञानले भ्याएसम्मको चेक–जाँच, परामर्श तथा उपचारकै क्रममा थिएँ । उहाँ सायद पन्ध्रौँ बिरामी हुनुहुन्थ्यो त्यस दिनको । उमेर ३५ वर्ष, समस्याहरुः कमजोरी हुने, छिटै थकान महसुस हुने, खान मन नलाग्ने, निद्रा नपर्ने, टाउको दुख्ने लगायत यावत् समस्याहरु । यति भन्दै गर्दा मैले उहाँको भाइटल हेरिसकेको थिएँ । चेकजाँच गर्दा उहाँ Clinically Anaemic रक्तअल्पता भएको अवस्थामा हुनुहुन्थ्यो ।

उहाँ अझै पनि आफ्नो  खास समस्या नभनेर आफू अस्पताल आउनुपरेको कारण अन्य समस्याहरु भन्दै टार्न खोज्दै हुनुहुन्थ्यो वा अझ भनौँ भन्न अफ्ट्यारो महसुस गर्दै हुनुहुन्थ्यो । मैले हजुरको रगत, पिसाबको  जाँच सँगै भिडियो एक्सरे पनि गर्नुपर्छ भनेपछि बजार नजिकैको मेडिकलमा गरेको भिडियो एक्सरेको कागज देखाउनुभयो । जसमा प्रिन्टिङ पेपरमा Non–relevant organ को Scan थियो र अन्य केही लेखिएको थिएन । अनि मैले पनि Scan कोही Non–doctor/Non–medical ले गरे भन्ने अनुमान गरेँ । त्यसपछि उहाँले भन्नुभो, डा.साब मेरो गर्भ बसेको थियो, साँढे ४ महिना जतिको थियो, बुटवलमा चेक गर्दा छोरी छ भन्यो, हामीले फेरि पनि नराख्ने निर्णय गर्यौँ, त्यहाँबाट आौषधि दिनुभयो, बच्चा त खस्यो तर रगत बग्न त रोकिएकै छैन आज ११ दिन भयो ।

अनि मैले सोधेँ, “हजुरको कतिऔँ गर्भ थियो यो ?”

उहाँले भन्नुभयो, “आठ भयो क्यारे डा.साब ।”

मैले फेरि सोधेँ, “घरमा कति जना बच्चा छन् तपाईंका ?”

उहाँले भन्नुभयो, “चारवटी छोरी छन्, यो भन्दा अघि यस्तै ३/४ महिनाको ३ वटा खेर फालेको छोरी भएर ।”

मैले फेरि पनि सोधेँ, “हामी छोरा भएर केही गर्न सकेका छैनौँ, १२ वर्ष भो घर छोडेको, बिरामी पर्दा तातोपानी दिन नजिकै अस्पताल लैजान सहयोग गर्न सकिरहेका छैनौँ, छोरा नै किन चाहियो ?”

उहाँले भन्नुभयो ,“क्यार्दान् र सर बड्डाले माने पो, मलाई  त यतिखालाको जीवन खेर फाल्न रहर हुँदो हो त ?”

त्यसपछि सम्झिएँ, पितृसत्तात्मक हाम्रो निरीह समाज,आफ्नो  इच्छाको लागि लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउने हाम्रै Fraternity का वरिष्ठ डा.साबहरु, अनि अरु अरु । त्यसपछि त्यहाँ हुने जाँचहरु पठाएँ, आफुले जानेसम्मको भिडियो एक्सरे गरेँ अझै पनि RPOC (सालका टुक्राहरु, गर्भका केही अंशहरु) देखिन्थे । रगतको रिपोर्टमा Hb–6 (अत्यधिक रक्तअल्पता) संक्रमण भएको देखियो । Septic Abortion Provisional diagnosis राखेर  2 Pint Fresh whole blood नेपाल आर्मीको सहयोगबाट, Antibiotics, supportive medications र चार दिनको अस्पताल बसाइपछि सबै कुरा Stable भएपछि पुनः Post abortion care पछि बिरामी अलि तग्रिनुभयो । बिरामी सँगै हाम्रो डाक्टर, अस्पताल टिमले मोलेको जोखिमले बिरामी त ठिक हुनु भयो, खुसी लाग्यो ।

यस्ता उदाहरण त  विकट जिल्लाका केहि प्रतिनिधि घटना मात्र हुन् । केयौं आमाहरु छोरा जन्माउने अभिलाषा बोकेर आफूलाई मृत्युको तराजुमा तौलिन बाध्य भएका छन् वा बाध्य पारिएका छन् ।

छोरीलाई ‘अर्काको घर जाने जात’, ‘अर्काको नासो’ भनिएको सुन्नुभएको छैन भने एकचोटि सोच्नुस्– तपाईं यही समाजमै बसिरहनुभएको छ ? अझै पनि धेरै महिला छोरा नजन्माएकैले घरबाट निकालिन्छन् । लिंग पहिचानपछि भ्रूणहत्याको ग्राफ उकालो लागिरहेकै छ । ‘ढिकुरोको पुजारी’ जन्माउनकै लागि लोग्नेहरू दोस्रो विवाहको तयारीमा छन् । लोग्नेको यातनापछि आत्महत्या गर्नेहरू पनि बढेकै छन् ।

पढेलेखेका, स्कुल–कलेजतिर समानताको पाठ पढाउने व्यक्तिबाट पनि यस्ता प्रश्न आउँछन् । छोरा नजन्माएका दम्पतीलाई उनीहरूको दबाब हुन्छ– कुलको दीप नबल्ने भयो तपाईंको घरमा ! जहिले पाए पनि हुन्छ, एउटा छोराचाहिँ पाउनुस् ! भोलिको भविष्य भनेकै छोरा हो ! छोरीले त छोडेर गइहाल्छन् ! छोरीका लागि साथी पनि त चाहिन्छ !

पारिवारिक दबाब ! सामाजिक दबाब ! मानसिक दबाब ! दबाबको विशाल चट्टानले थिचिएर मानिसहरू जीवनभर दुःखको यात्रा गरिरहेका छन् । दबाबैले कलेज जाने छोरीका अघि भर्खरै छोरा पाइरहेका आमाहरू हाम्रै आँखाअघि देखिन्छन् । आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा छोरीहरूमाथि गरेको व्यवहारमा हाम्रो समाजले कहिल्यै आत्मसमीक्षा गरेको छैन ।

तर छोराको चाहनामा थिलथिल बनेको कैयौँ आमाहरुको शरीर, त्यो सबै पीडालाई कत्ति बोध नगरी गिज्याइरहेको लाचार पितृसत्तात्मक सङकिर्ण सोच कहिले ठीक होला ?

डा. राजकुमार भुजेल 

सम्बन्धित समाचार