संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो ।
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् भन्ने मान्यता नेपालमा चर्चित छ । आज सेप्टेम्बर २७ अर्थात् ४३ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेको छ । यहाँको भू–बनोटका हिसाबले ६० मिटर देखि ८ हजार ८ सय ४८ मिटरसम्मको उचाइ भएको भूबनोट छ भने २८ वटा हिमशृखंला पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेका छन् । त्यसैगरी सांस्कृतिक रूपमा पनि धनी रहेको नेपालमा १ सय २५ जातजाति र १ सय २९ भाषाभाषी छन् ।
यी क्षेत्रका आधारमा हेर्दा नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारको सम्भावना भने प्रशस्त छ । यी हुँदाहुँदै पनि नेपालले विविध समस्याहरूका कारण पर्यटन क्षेत्रमा उल्लेखनीय लाभ उठाउन सकेको छैन । विविध समस्या र बाधाहरुका कारण नेपालको पर्यटकिय क्षेत्र फस्टाउन सकेको छैन । जसमा यी बाधाहरू प्रमुख रहेका छन् ।
अव्यवस्थित भौतिक संरचना: पर्यटन क्षेत्रको पहिलो आवश्यकता यातायातको हो । तर नेपालमा विकट पर्यटकीयस्थलमा जान निकै कठिन छ । आवश्यक सेवा सुविधाको अभावमा नेपालमा पर्यटकीय क्षेत्रको विकास विस्तार हुन सकेको छैन ।
प्रचारप्रसारको कमीः नेपालको पर्यटनको विकासमा पश्चिमी मुलुकहरूको योगदान रहेको विषय नकार्न सकिँदैन । यद्यपि पछिल्लो एक दशकमा चिनियाँ पर्यटकहरूको उल्लेखनीय आगमन भएको देखिएको छ । तर नेपालको प्रचारप्रसार गर्ने शैली अहिले पनि पश्चिमी मुलुक केन्द्रित भएको देखिन आएको छ । यसले गर्दा पनि पर्यटकको संख्यामा वृद्धि हुन सकेको छैन।
सम्पदाहरूको पुनःनिर्माणमा ढिलाई: विनाशकारी महाभूकम्प भएको कैयन वर्ष बिति सक्दा पनि पनि सम्पदाहरूको पुनर्निर्माणमा विभिन्न कारणले ढिलाई भइरहेको छ। जसले गर्दा सम्पदा संरक्षणका नाममा सम्पदास्थलमा उठाउने गरिएको महँगो शूल्कमा प्रश्न समेत उठ्न थालेको छ ।
मार्केटिङको अभाव: अहिले फिक्स्ड खालको प्याकेजभन्दा बढी प्रचार तथा सन्देश दिने खालको मार्केटिङ आवश्यक छ । फिक्स्ड खालको प्याकेज किन्नेभन्दा आफ्नो विचार र रुचि अनुरूप प्याकेज किनेर नेपाल घुम्न आउने पर्यटकको जमात बढी छ । सरकारले यसमा ध्यान दिनु पनि जरूरी छ ।
नीतिनियमको अभाव: नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सरकारी क्षेत्रका संघ संस्थादेखि पर्यटन व्यवसायीले सोहीअनुरुपको नीति अंगाल्नुपर्ने पनि आवश्यकता देखिएको छ ।
व्यवस्थापनः नेपालमा पर्यटकको गतिविधिसम्बन्धी भरपर्दाे तथ्यांक कुनै निकायसँग पनि छैन । कुन ठाउँमा कति पर्यटक गए र कति खर्च गरे भन्ने जानकारी अध्यावधिक गरिएको छैन । जसले गर्दा पर्यटन विषयको अध्ययनमा कठिनाइ छ ।
दक्ष कामदारको अभावः होटललगायत पर्यटन क्षेत्रमा रहेका जनशक्तिहरूको विदेश पलायन तीव्र गतिले भएकाले दक्ष जनशक्तिको अभाव देखिन्छ। जसले गर्दा पर्यटकलाई दिने सेवामा निकै चुनौती आएको छ। र्याफटिङ, ट्रेकिङ, पर्वतारोहण, होटलमा संलग्न जनशक्तिलाई पर्यटकहरूले नै आफ्नो देशमा लैजाने क्रम रहिरहेकाले दक्ष जनशक्तिको अभाव खट्किँदै गइरहेको छ।
यी बाधाहरूको मुल्याङ्कन गर्दै पर्यटकीय क्षेत्रको विकास विस्तार गर्न सकियो भने नेपालले उल्लेखनीय लाभ उठाउन सक्छ ।