पैठका निम्ति धामीहरू सेता दौरा, सिरमा फेटा, गलामा रुद्राक्ष तथा सुनबुकी फूलका माला लगाउने चलन रहेको छ । दमाहकाे रागअनुसार धामीहरू आ-आफ्नो बाजामा पतुर्ने गर्दछन् ।
कर्नाली प्राकृतिक सांस्कृतिक र भौगोलिक हिसाबले ‘भर्जिन ल्यान्ड’ हो । यहाँका थुप्रै कलाकृति र सांस्कृतिक सम्पदाको चर्चा हुन बाँकी छ । तिनै थुप्रै पृथक् कला सांस्कृतिक सम्पदामध्ये कर्नालीका पैठबारे धेरै मानिस अनविज्ञ छन् । हिजोआज टेलिभिजनमा कर्नाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएका केही भिडियोभित्र पाटनमा धामी नाचिरहेका दृश्य देखिन्छ, देउडा खेलिरहेको दृश्य देखिन्छ तर, कर्नाली बाहिरका धेरैलाई’ पैठ के हो ? देउडा खेल के हो ?’ थाहा छैन ।
यस लेखमा विशेषगरी कर्नाली तथा सुदूरपश्चिम भेगका जुम्ला कालिकोट, बाजुरा, मुगु लगायतका जिल्लामा मनाइने पैठकाे चर्चा हुनेछ ।
पैठ अर्थात् जात्रा, स्थानीय देवहरूको उत्सव हो । मस्टो संस्कृति भित्रका देवहरू, इस्टदेवहरूका पूजाअर्चना गर्नु नै पैठ हो । कर्नाली भेगका केही चर्चित पैठहरू जस्तै: मष्टा देवको पैठ, झ्या देवको पैठ, लाकुराकाे पैठ, ह्याकर लाैडिसिमेकाे पैठ, माहदेवकाे पैठ, लामा विष्णुको पैठ, बाटपालाकाे पैठ, खापर देवको पैठ इत्यादि हुन् । पैठहरू खासगरी एकादशी, पुर्णिामाका दिनमा मनाइने परम्परा रहेको छ । देवहरू जति शक्तिशाली हुन्छन्, पैठकाे आकार र मानिसको चहलपहल त्यहीँ अनुसारको हुनेगर्दछ । प्रायश: ठुला देवहरूका पैठ पाटनमा आयोजना गरिन्छ । बाजुरामा मनाइने खापर देवको पैठ विशाल पाटनमा आयोजना हुन्छ । त्यस्तै, साना तथा स्थानीय पैठ भने गाउँ-गाउँमा लाग्ने गर्दछन् ।
ठूलाठूला पैठकाे दिन पाटनहरूमा विशाल मानव सागर देखिन्छ । मानिसहरू नयाँ लुगा लगाउने, साथीसंगी समूह समूह जुटाएर पैठ हेर्न जाने चलन छ । सबै उमेर समूहका मानिस घण्टौँ हिँडेर पैठका मेला भर्न जाने गर्दछन् । धामी नाच पैठकाे प्रमुख आकर्षणको केन्द्र हो । धामीहरू दमाहकाे धुनअनुसार पैठमा कम्मर हल्लाउँदै (पतुर्छन्) नाच्ने गर्दछन् । धामी पतुरीसकेपछि पैठारु (पैठ हेर्न गएका मान्छेहरू) देउडा खेल खेल्ने गर्छन् । देउडा खेलले पैठकाे माहौलमा झन् रौनक थप्ने गरेको हुन्छ । देउडा समूह समूह बाँधेर खेलिन्छ । महिलाको छुट्टै देउडा खेल हुन्छ भने पुरुषको छुट्टै ।
प्रायः सबै पैठहरूका आआफ्ना विशेषता छन् तर, समानता भने उत्सव उत्साह र धार्मिक पाटो नै हो । देवहरूको प्रकृतिअनुसार पैठमा पूजाआजा हुन्छ । पशुवलीकाे भोग खाने देवको पैठमा देवको नाममा बोका, भाले राँगा लगायतका पशुवली चढाइन्छ । त्यस्तै, पशुवली नचढ्ने देवहरूलाई पूजाअर्चनाकाे निम्ति दूध तथा फलफूल चढाउने चलन रहेको छ । देवहरूका दूत धामीमा देवता ल्याउन दमाहाको राग, धुन अवश्य बज्नुपर्छ । त्यसपश्चात् धामीमा देवता चढ्छ र पैठकाे सुरुवात भएको मानिन्छ ।
दमाहकाे राग अनुसार धामी नाच्नु (पतुर्ने) नै पैठकाे मुख्य विशेषता हो । पैठका निम्ति धामीहरू सेता दौरा, सिरमा फेटा, गलामा रुद्राक्ष तथा सुनबुकी फूलका माला लगाउने चलन रहेको छ । दमाहकाे राग, धुनअनुसार धामीहरू आआफ्नो बाजामा पतुर्ने गर्दछन् । पैठमा धामीलाई नचाउन (पतुराउन), धामीमा देवता प्रवेश गराउन, दमाहकाे धुनले मात्र गर्न सक्ने जनविश्वास रहेको छ । दमाहकाे राग, धुनविना धामीलाई देवता आउँदैन अथवा देवता चढेको ठानिँदैन । प्रत्येक देवताका धामीको आ-आफ्नै धुन हुन्छ । अन्य धुनमा उक्त देवताका धामीलाई देवता आउँदैन । मष्टाे आउने धामीको धुन- ‘झ्यान… झ्यान’ दमाहाबाट आवाज निकाल्नु पर्छ । उक्त दमाहकाे धुनमा मात्र मष्टादेवकाे धामी (काँप्ने) पतुर्छन् । त्यस्तै लामा विष्णुको धामीलाई देवता निकाल्न ‘झानी टिउ…. झानी टिउ’ दमाहकाे धुनको आवश्यक पर्दछ । अन्य देवताका धामीलाई शरीरमा देउता चढ्न निश्चित आफ्नै धुन चाहिन्छ ।
पैठकाे चर्चा गरिरहँदा पैठकाे मुटु, देवहरूको प्रिय बाजा दमाहालाई भुल्नु हुँदैन । दमाहा र दमाईबीना पैठ हुँदैन । जबसम्म दमाईले दमाहा बजाउँदैनन्, तबसम्म धामीलाई देवता चढ्दैन । पैठमा पैठारुले धामीहरूलाई वरिपरि घरेका हुन्छन्, बिचमा धामीहरूको समूह उभ्भेकाे हुन्छ । किनारमा दमाईहरू दमाहाका साथ बसेका हुन्छन् । धामी दमाहकाे रागकाे पर्खाइमा बसेका हुन्छन् । जोडतोड समूहगत दमाहकाे धुनसँगै धामीमा देवता चढ्न सुरु हुन्छ । धामीको शरीरमा देवता रहुन्जेल धामीहरू काँप्ने, खाम भाषा बोल्ने, पैठारुलाई टीका लगाउने र समूहमा नाच्ने गर्दछन् । धामीहरूको समूहभित्र पनि मूल धामी, धामी तथा डाङग्री हुन्छन् । प्रत्येक देवताकाे एकजना मात्र मूल धामी हुने परम्परा छ । सहायक धामी दुईजना भन्दा धेरै हुन्छन् । डाङग्रीकाे काम भनेको देवतालाई चढाएका मूर्ति तथा अन्य सामग्रीको सुरक्षा गर्ने चलन छ ।
लामो समयदेखि पैठमा दमाहा बजाउँदै आएका दमाहा वादक अज कार्कीढाेली बताउँछन्, “धामीहरूलाई देवता निकाल्न ठुलो मेहनत गर्नुपर्छ । सामान्य दमाहकाे रागमा धामीलाई देउता आउँदैन । कहिलेकाहीँ लगातार १-२ घण्टा दमाहा बजाउँदा पनि देवता आउँदैन । जतिजति दमाहकाे धुन चर्को हुँदै गयो त्यति मात्रामा धामी हल्लिन थाल्छन्, खुसी हुन्छन् र देवता चढेको मानिन्छ ।”
जुम्ला विराट निवासी लाैडिसिम देवका धामी प्रताप दमाईका अनुसार देवता शरीरमा चढ्न दमाहकाे राग अनिवार्य चाहिन्छ । दमाहकाे रागले देवता बोलाउने काम गर्दछ । मलाई देवता आउन, लाैडिसिमे देवको शक्ति मेरो शरीरमा पस्न, दमाहकाे रागकाे आवश्यकता पर्दछ । अन्य देवताका दमाहकाे धुनले मलाई देवता आउँदैन । पैठमा दमाहा भएन भने त्यो पैठ नै हुँदैन । दमाहा र दमाई पैठका मुटु हुन् ।”
कर्नाली प्रदेश, सामाजिक विकास मन्त्रालयका उपसचिव जहवरलाल हमालका अनुसार, “आर्य खस वर्गका मानव जातका पुर्खाहरूले ठाउँ परम्परागत संस्कार जातभात, परम्परा तथा भूगोल, भाषाअनुसार आफ्नो कुल देवतालाई अदृश्य शक्तिबाट सुरक्षित रहन संरक्षक रूपमा मान्य क्रममा गरिने वार्षिक रूपमा गरिने विशेष पर्व पैठ हो भन्ने बुझाई छ। जसलाई सम्बन्धित नयाँ पुस्ताले विश्वासपूर्वक अवलम्बन गर्दै आएको देखिन्छ । हामीकहाँ हुने पैठ यही कर्म को परिणाम हो । यसमा कुल, इष्ट र पितृ गरेर टीन थरि हुने गरेकोले सबैले समान रूपमा मान्य गरेको पाइन्छ । आजभोलि पैठलाई ‘जात्रा’ भन्दै विविध गतिविधि समावेश गर्दै भेटघाट तथा जमघट तथा रमाइलो अवसर रूपमा उपयोग गरेको देख्न सकिन्छ ।
कनकासुन्दरी गाउँपालिका, सिम्पाटि निवासी गाेरख जुम्लीकाअनुसार, पैठ सामाजिक तथा धार्मिक पर्व हो । यसले घरपरिवार, गाउँघरलाई एक ढिक्का बनाएको छ । पैठ भनेपछि मानिसहरूमा छुट्टै उत्साह र उमङ्ग ल्याउँछ । भारत श्रम गर्न गएका युवाहरू पनि पैठका लागि घर आउने चलन छ । पैठकाे महिमा र महत्त्वलाई भलै राज्यबाट प्रवर्द्धनात्मक कदम चालेको छैन तर, स्थानीयको पैठप्रतिको मोहले नै पैठकाे अस्तित्व बचाएको छ ।
पछिल्लो समय पैठहरूमा आधुनिकतासँगै केही विकृति पनि भित्रिएको छ । मदिराको सेवन गरेका पैठारुकाे (पैठ हेर्ने ) जमात दिनानुदिन बढ्दैछ । जसकारण पैठाहरूबिच एकआपसमा झगडा हुने, दुर्घटनामा पर्ने जस्ता गतिविधि बढेको पाइन्छ । यस्ता गतिविधिले एकातिर सांस्कृतिक र धार्मिक पक्षले भरिपूर्ण पैठकाे माहौल बिगार्ने काम गरेको छ भने अर्कोतिर झैझगडा र दुर्घटनाको कारण मानिसहरू पहिला जस्तै निर्वाधरूपमा पैठहरूमा जान सकिरहेका छैनन् ।
पैठालाई सभ्य र भव्य बनाउन सुरक्षा संयन्त्रको अति आवश्यक छ । प्रायः जसो पैठमा पैठारुबीच सामान्य विवादले झैझगडा निम्त्याउने गरेको छ । यस्ता घटनाले उग्ररूप लिँदा कैयौँ व्यक्ति घाइते भएका छन् भने कैयौँको अंगभंग हुन् पुगेका छन् । हालसम्म स्थानीय निकायबाट सुरक्षाकर्मीको उपस्थिति पैठहरूमा एकदम न्यून रहेको छ । स्थानीयको व्यवस्थापन पक्ष पनि दत्तचित्तका साथ लागिरहेको देखिँदैन । मदिराको नशामा स-सानो कुराले पैठहरूमा झैझगडा हुने प्रबल सम्भावना हुन्छ । यस्ता कुरीति र हिंसात्मक गतिविधि रोक्न पैठ आयोजना हुने स्थानमा प्रहरी प्रशासनको बाक्लो उपस्थिति हुन जरुरी हुन्छ । पाटनमा आयोजना हुने पैठमा अस्थायी स्वास्थ्य शिविर राख्नुपर्ने देखिन्छ । वृद्ध, महिला तथा पुरुषमा लेक लाग्ने समस्या रहेको छ भने बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको छ ।
अन्त्यमा, कर्नालीकाे जस्तो पृथक् सांस्कृतिक तथा धार्मिक सम्पदा कर्नाली क्षेत्र बाहेक अन्यत्र देख्न पाइँदैन । हरियालीले लेकमा सुनबुकी फूलले ढपक्क ढाकेकाे पाटनमा लाग्ने पैठले जसलाई पनि लोभ्याऊ सक्छ । अझ, पैठभित्रको धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्त्वले भारतवर्ष जस्तो धर्ममा विश्वास गर्ने समाजलाई धार्मिक तथा सांस्कृतिक तहबाट एक बनाउन सक्ने सम्भावना धेरै छन् । यसको लागि स्थानीयस्तरका बुद्धिजीवी तथा नागरिक अगुवाहरूले पैठकाे विकासका निम्ति प्रदेश, केन्द्र सरकारसँग समन्वय गर्नुपर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पैठ सम्बन्धित विभिन्न गोष्ठी, सेमिनार, वृत्तचित्र प्रदर्शन गरी खस संस्कृतिभित्रका पैठ जस्ता पृथक् सम्पदालाई प्रभावकारिता साथ अगाडि बढाउने सांस्कृतिक कार्यक्रमको आयोजना हुनुपर्छ । जसबाट पैठकाे गरिमालाई विश्व समुदायसमक्ष पुराउन सकियोस् । कर्नालीमा लाखौँलाख पर्यटन भित्र्याउन सम्भव होस् ।
विश्वमा अहिले पृथक् सांस्कृतिक पक्ष हेर्न, अध्ययन गर्ने नयाँ परिपाटी विकास भएको छ । आधुनिक मानिस नयाँ चिज हेर्न रुचाउँछ । विश्व बजारमा पैठ विशुद्ध नयाँ सांस्कृतिक सम्पदा हो । जसलाई राज्यले उचित ढङ्गले संवर्द्धन र प्रवर्द्धन गर्नसके कर्नालीकाे विकासमा ठुलो टेवा पुग्ने थियो । उदाहरणको लागि ब्राजिलको साम्भा नृत्य, स्पेन तथा मेक्सिकोमा हुने साँढे जुधाइलाई लिनसक्छाै । लाखौँलाख पर्यटक ब्राजिलिएन साम्भा नृत्य हेर्न हजारौं डलर खर्चेर ब्राजिल पुग्ने गरेका छन् । त्यस्तै, साँढे जुधेको अवलोकन गर्न स्पेन तथा मेक्सिको पुग्ने पर्यटकको सङ्ख्या पनि लोभलाग्दो रहेको छ । त्यस्तै राज्यले पैठलाई विश्व बजारमा प्रचारप्रसार गरे कर्नालीमा लाखौँलाख पर्यटकको ताँती देख्न सकिन्छ । जसबाट कर्नालीका सबै क्षेत्रको विकास हुने थियो ।