जग्गा किन्ने बेलामा पद्मा कोलोनीका मालिक राजु कँडेलले "बाटो छ, जग्गा किन्दा हुन्छ" भनेको तर, जग्गा किनिसकेपछि बाटो नै बन्द गरिदिएको पिडित माया शेरचनले बताइन् ।
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित पद्मा कोलोनीले कोलोनीसँगै रहेको व्यक्तिको जग्गामा जाने बाटो नै बन्द गरिदिएको खुलेको छ । विगत चार वर्ष अघि माया शेरचनले जग्गासम्म पुग्ने बाटोसहित वडाबाट नक्सापास अनुमति लिएर जग्गा किनेको तर जग्गा किनिसकेपछि कोलोनीले जग्गासम्म जाने बाटो नै बन्द गरिदिएपछि आफ्नै जग्गामा समेत जान नपाएको बताएकी छन् ।
जग्गा किन्ने बेलामा पद्मा कोलोनीका मालिक राजु कँडेलले “बाटो छ, जग्गा किन्दा हुन्छ” भनेको तर, जग्गा किनिसकेपछि बाटो नै बन्द गरिदिएको पिडित माया शेरचनले बताइन् । “कोलोनी हुँदै जग्गासम्म पुग्ने बाटो छ, किन्दा हुन्छ भनेर पद्मा कोलोनीको मालिक राजु कँडेल र जग्गा धनी रामशरण खड्काले पनि भनेपछि इन्जिनियरलाई देखाएर वडाबाट नक्सा पास गराएरै जग्गा किनेका थियौँ ।” शेरचनले भनिन् ।
शेरचनले जग्गा किनेलगतै रामेश्वर कँडेल भन्ने व्यक्तिले उनको जग्गासम्म पुग्ने बाटोसँगै रहेको कोलोनीको जग्गा किनेर घर बनाएको र घर बनाएपछि शेरचनको जग्गामा जाने बाटोमा गाह्रो लगाइदिएको बताइएकाे छ । आफ्नै जग्गामा समेत जान नपाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्था तथा राजनीतिक दलहरूलाई समेत गुहार्दा पनि कुनै सुनुवाइ नभएको शेरचनले बताइन् । जग्गा किनेदेखि नै कोलोनीका मालिक राजु कँडेल भने शेरचनसँग सम्पर्कमा नै आउन नचाहेको र पटक पटक सम्पर्क गर्न खोज्दा पनि कुनै प्रतिक्रिया नदिएको शेरचनले बताइन् । आफ्नो जग्गामा जाने बाटोमा गाह्रो लगाउने रामेश्वर कँडेलसँग तनाव बढ्दै गएपछि वडामा गएर निवेदन दिँदा पनि कुनै प्रतिक्रिया नआएको शेरचनले बताइन् ।
तर, शेरचनको जग्गामा जाने बाटोमा गाह्रो लगाइदिने रामेश्वर कँडेलले भने कोलोनीको मालिक राजु कँडेलकै निर्देशनमा बाटो बन्द गरिदिएको बताएका छन् । कँडेलले भने, “राजु कँडेलले नै गाह्रो लगाउन निर्देशन दिएका हुन् । बाटोको नक्सा पास छ भन्ने हामीलाई थाहा थिएन । अहिले बाटाे खुलिसक्याे ।”
केही दिनअघि स्थानीय समाजसेवी सिजन श्रेष्ठ लगायत विभिन्न व्यक्ति र संस्थाहरूको पहलमा कागजपत्र जुटाएर वडामा निवेदन दिएपछि वडाले बाटो खुला गर्न निर्देशन दिएको तर १३ फिट बाटो खुला गर्नुपर्नेमा १० फिट मात्रै बाटो दिएको माया शेरचनले बताइन् । नक्सा पास बमोजिम १३ फिट नै बाटो खुला हुनुपर्ने शेरचनको माग छ । कोलोनीका मालिक राजु कँडेल भने अहिलेसम्म सम्पर्कमा नआएको र कुनै प्रतिक्रिया पनि नदिएको उनले बताइन् । हिमाल दर्पणले पद्मा काेलाेनीका मालिक कँडेलसँग पटक-पटक काेसिस गर्दा पनि सम्पर्क हुन सकेन ।