उनले मुलुकको विकासका लागि सत्तापक्ष र प्रतिपक्षबीच हातेमालो हुनुपर्नेमा जोड दिइन् ।
काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
उनले संसद् आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत् जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गरिन् । उनको संकेत प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित थियो ।
सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ओलीले बिहीबार सत्ता गठबन्धनविरुद्ध तीन घण्टा लामो राजनीतिक मन्तव्य दिएका थिए । ‘संसद भनेको आमजनताको भावना अभिव्यक्त गर्ने थलो हो। जनताको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधिमार्फत अभिव्यक्त हुने गर्दछ’, घर्तीले भनिन्, ‘ तर, केही दिनयता संसदमा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रुझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने, अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृति देखिएको छ ।’
उनले मुलुकको विकासका लागि सत्तापक्ष र प्रतिपक्षबीच हातेमालो हुनुपर्नेमा जोड दिइन् ।
घर्तीले विगतमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले मिहेनतपूर्वक दिएका सुझाव बेवास्ता गर्ने परम्परा रहेको भन्दै यसपटक त्यसो नगर्न सरकारलाई सुझाव दिइन् ।