लिओनार्दोले त एउटै मात्र मोनालिसाको चित्र बनाएका थिए । बेलायत, अमेरिका तथा क्यानाडामा कसरि ३ वटा मोनालिसाका चित्रहरु बिक्री हुन सके ? कला जगतमा यस्ता धेरै आश्चर्यजनक घट्नाहरु घट्ने गरेका छन् जसमध्ये यो पनि एउटा हो ।
– मनुजबाबु मिश्र
एउटा मोनालिसाको चित्र क्यानाडाको एउटा कलाप्रेमी र पारखीले किनेको थियो । फेरी अर्को मोनालिसालाई अमेरिकाको कला प्रशंसकले किने । अझ अर्को मोनालिसाको चित्र बेलायतका कला मर्मज्ञले किने । पेरिसको विश्व प्रसिद्ध संग्रहालय लुभ्रमा रहेको विश्वविख्यात बहुमुल्य मोनालिसाको चित्र आफ्नो हातमा आएको छ भन्ने प्रत्येक क्रेताले विश्वास गरेका थिए ।
युरोपको पुनरुद्धिपन कालका एक महान् कलाकार लिओनार्दोले त एउटै मात्र मोनालिसाको चित्र बनाएका थिए । बेलायत, अमेरिका तथा क्यानाडामा कसरि ३ वटा मोनालिसाका चित्रहरु बिक्री हुन सके ? कला जगतमा यस्ता धेरै आश्चर्यजनक घट्नाहरु घट्ने गरेका छन् जसमध्ये यो पनि एउटा हो ।
अहिले भन्दा झन्डै ७३ वर्ष अघिको कुरा हो, दक्षिण अमेरिकामा अर्जेन्टिनाको राजधानी ब्यनसआएर्समा एकजना कलाकृतिका व्यापारी थिए । उनको नाम थियो मार्कस एडवार्डो । शुरु-शुरुमा उनी मुनाफा लिन नजान्ने, चित्र भन्ने नबुझेका, सतहका काँचा व्यापारी थिए । कुनै पनि व्यापार शुरुमा त कानूनी नै हुन्छ । तर जब एडवार्डोले कला व्यापारको महत्व बुझ्दै गए, उनको व्यापार सामान्य बजारको कला र क्युरियोबाट ठुला-ठुला संग्रहालयतर्फ आकृष्ट हुँदै गयो । मेक्सिको र चिलीका मुकुट, अलास्का र हवाइका दृश्य-चित्र तथा बोलिभिया र फोकल्याण्डका हस्तकला-कृतिहरु मात्रको व्यापारबाट उनी सन्तुष्ट रहन सकेनन् । फेरी यस्ता कलाकृतिहरुमा पनि खास गरि चित्रकला-कृतिहरूतर्फ उनी अझ बढी आकृष्ट हुँदै गएका थिए ।
पहिलो त चित्रकलालाई मूर्ति तथा अन्य कलाकृतिहरुलाई भन्दा सजिलोसँग परिचालन गर्न सकिन्छ । दोस्रो कुरा, अक्सर गरेर चित्रकला सस्तो सामग्रीबाट सस्तोमा बन्ने गर्दछ ।तेस्रो कुरा, यस्तो कलाकृतिक रचयिता कलाकार साधारणतया गरिब हुने गर्दछन् । तसर्थ तिनलाई सजिलैसँग आफ्नो स्वार्थानूकुल काममा लगाउन सकिन्छ । चौथो प्रतिभालाई चिन्न सक्ने क्षमता भएका व्यक्तिहरुको लागि ती गरिब कलाकार-कुबेर नै झर्न सक्ने सम्भावना रहन्छ । यी सबै कुरालाई ध्यानमा राखेर एडवार्डोले आफ्नो व्यापारलाई पूर्णतया चित्रकलातर्फ एकोहोर्याएका थिए । उनी बरोबर आफ्नो संग्रहालयमा विश्वका विभिन्न कला संग्रहालयमा रहेका विश्वप्रसिद्ध कलाकृतिका प्रतिकृति पुस्तकहरु पल्टाउने र मनमर्ने प्रत्येक कलाकृतिको मुल्यांकन गर्ने गर्दथे ।
मायड्रिडको प्रादो संग्रहालय पल्टाउँदा पल्टाउँदै जेरोनिमस वोस (Hieronymus Bosch) मा उनको आँखा पर्यो अनि आफ्नो साथीतिर फर्केर भन्न लागे, “बुझ्यौ फेदान, वोसका चित्रहरु साँच्चै आजको युगले मन पराउँछ, उसका चित्रहरु साँच्चै युरोपीय अन्धकार युगको झाँकी हो, हेर मानिसको दुर्दशा ! हेर पिल्सिएका, सल्किएका, रोपिएका खोपिएका, चपाइएका, ठूँगिएका, डसिएका, उमालिएका, काटिएका, त्रसित, द्रवित मानिसको संसार ! यो नर्कको चित्र हो, तर मानव धर्तिभित्र मानिस आफैले मानिसकै लागि बनाएको नर्क हो यो । बुझ्यौ फेदान, यो वोस त ब्रुगेल भन्दा पनि उच्च स्तरको कलाकार थियो तर के गर्नु, नर्कको चित्र बनाएको अभियोगमा होला उसका चित्रहरु सयौँ वर्षसम्म तिरस्कृत भइरहे । स्वर्गको रमितामा बस्ने कसैलाई पनि नर्क मन पर्दैन । यो नर्कको चित्र अत्यन्नै उत्कृष्ट छ तर पनि यसले मेरो उद्देश्य पूर्ति गर्न सक्दैन । किन बुझ्यौ फेदान ?”
फेदानको जवाफलाई नकुरीकनै उनले अरू पाना पल्टाउँदै गए । मासासियो चित्रलाई देखाउँदै फेदानले केही भन्न खोजेका थिए तर एडवार्डोले पहिल्यै त्यो कुरा बुझे झैँ गरेर भन्न लागे, “कस्तो तिमी फेदान ! म के खोज्दैछु तिमीले बुझ्नै सकेका रहेनछौ, के काम मलाई भित्ति चित्र जतिसुकै राम्रो भए तापनि ? मलाई त कुनै पटमा बनाएको स्वतन्त्र चित्र चाहिन्छ, बुझेनौ ?… बरू यी यो जिओटो, यी यो डुसियो, यो लिप्पो लिप्पी हुन्छ, किनकी कला जगतमा यिनको ज्यादै ठूलो ऐतिहासिक महत्त्व छ । तर यी पनि होइनन्, यी कलाकृतिहरूमा न त सांस्कृतिक शैलीको परिपक्वता देखिन्छ, न त कलाकारको आफ्नै मौलिक उत्कृष्टता । आजको कला क्रेताहरू ऐतिहासिक महत्त्वको साथसाथै विश्वभरि प्रसीद्धि पाएका कलाकारको उत्कृष्ट कलाकृतिहरू नै बढी रुचाउँदछन् ।”
उनले पुनरुद्दीपन कालका कलाकृतिहरूको पुस्तक निकालेर पल्टाउन लागे । हठात एउटा चित्रमा उनी रोकिए । अनि आँखा गाडेर कलाकृति हेर्दै मुस्कुराउन लागे । उनको त्यो मुस्कुराहट चित्रको मुस्कुराहट जस्तै रहस्यमय थियो । आफै भुतभुताउन लागे उनी “लुभ संग्रहालय पेरिस; धेरै ठूलो पनि छैन यो कोहिनूर हिरा, केवल तीस इञ्च लामो र वीस इञ्च चौडा मात्र छ यसको आकार । बुझ्यौ फेदान ?” उनी फेरी अगाडि भन्न थाले, “त्यतिवेला यसमा दर्शाएको प्रकाश छायाँको जतिसुकै प्रशंसा गरिएको भए तापनि आजका दक्ष कलाकारको लागि त्यो त्यति ठूलो कुरा होइन । यहाँ हेर न, टाउको दुईतिर दुई प्रकारको दृश्य चित्रण गरिएजस्तो देखिन्छ । सायद कलाकारले एक पटकमा एकापट्टिको र अर्को पटकमा अर्कोपट्टिको दृश्य बनाएका थिए होलान् । त्यसैले त यो देब्रे पट्टीको चित्र हेर न कति वरसम्म आएको छ । यसको ओठका दुई कुना हेर त, सम्पूर्ण मुहारको मुस्कान यही दुई कुनामा आएर मिसिएका छन् । यस्तो प्रभाव दिन चाहिँ आजका कलाकारहरूलाई पनि निकै गाह्रो पर्दछ ।” एडवार्डोको मनमा के कस्ता कुरा खेलिरहेका थिए, फेदानले पटक्कै लख काट्न सकेका थिएनन् । उसको मुख अत्यन्तै गम्भिर देखिन्थ्यो, कहिले चञ्चल र कहिले खिस्स मुस्कुराउँदथ्यो ।
‘‘फेदान, के तिमी लुभ संग्रहालयसँग अन्तर सम्बन्ध भएको कुनै व्यक्तिलाई चिन्दछौ ?
“चिन्दछु केहीलाई, त्यहाँका एउटा अधिकृत जर्ज पिकेट नै कुनै बखत मेरा नजीकैका मित्र थिए, किन र र ?”
“त्यहाँको कर्मचारी होइन, कुनै बाहिरीया व्यक्ति जसलाई संग्रहालयको अस्थिपञ्जर, मांसपेशी सबै कुरा थाहा होस् ।”
एकछिन घोरिएर फेदानले भने, “अर्को एउटा व्यक्ति छ, उसको नाम भिन्सेन्जी पेरूजिया हो । ऊ केही वर्ष अघि लुभ संग्रहालयका कतिपय उत्कृष्ट कलाकृतिलाई सफा गर्ने र रसायनिक पदार्थ छरेर टल्काउने आदि कार्य गर्दथ्यो । तर गैरकानूनी काम गरेको आरोपमा ऊ दुई तीन पटक पक्डाउमा परिसकेको थियो ।”
“लौ लौ त्यो पेरूजियोसँग सम्पर्क राखिहाल फेदान, के हाम्रो काममा सहयोग गर्ला उसले ?”
“अधिकांश आधुनिक नागरिक पैसा पाइन्छ भने जे पनि गर्न तयार हुने बनिसकेका छन्, झनसारो ऊ त यस प्रकारको कामलाई आफ्नो व्यवसाय नै सम्झन्छ ।” “ऊसँग सम्पर्क राखिहाल र उसैलाई लगाएर जसरी भए पनि त्यो चित्रलाई संग्रहालयबाट उठाउनु पर्यो । उसलाई अहीले केही अग्रिम रकम पनि पठाइदेऊ र काम पूरा नहुन्जेल केही रकम पठाउँदै गर । तर, उसलाई पत्र व्यवहारको ठेगाना मात्र देऊ । हाम्रो नाम ठेगाना उसलाई थाहा नहोस् । बुझ्यौ ! अनि सुन, हामीले यदि त्यो चित्रलाई अँध्यारो बजारमा बेच्न सक्यौँ भने, तिमी मालामाल हुनेछौ भनेर पनि सुनाइ देऊ ।”
१९११ को २० अगष्ट आइतवारका दिन फ्रान्सभरि र खासगरि पेरिसभित्र एउटा ठूलो सनसनी मच्चिरहेको थियो । फ्रान्सका वरिपरिका अन्तरराष्ट्रिय सीमानाहरू बन्द गरिए । देश भित्रको सम्पूर्ण यातायात व्यवस्थालाई रोकियो । जताततै सावधानीको घण्टी बज्न लाग्यो । सम्पूर्ण प्रहरी वर्ग, सुरक्षा सेना तथा जासुसहरू सक्रियतापूर्वक देशका कुनाकाप्चा खोतल्न लागे । पेरिसमा त एउटा घर पनि नछाडी सम्पूर्ण शहरको खानतलासी लिइन लाग्यो । लुभ संग्रहालयका सबै कर्मचारी हिरासतमा राखिए । घटनाको तापक्रम बढ्दै गयो । तर, लुभ संग्रहालयबाट त्यो दिनमा चोरिएको विश्व प्रसिद्ध “जिओकोण्डा (मोनालिसा)” को मुहार चित्रको कुनै पत्तो लागेन ।
दिन बित्यो, रात बित्यो, हप्ताहरू पनि बित्दै गए । घटनाको शारीरिक तापक्रम क्रमशः घट्दै गयो । तर पनि भित्र-भित्र अमेरिका, बेलायत, इटाली, जर्मनी तथा फ्रान्सका जासूसहरू अपहरण गरिएकी “मोना”को खोजीमा नै थिए भने अर्को तर्फ विश्वभरिका कला संग्रहालय, कला संकलक, कला प्रेमी र अझ बढी त अँध्यारो बजारका कला क्रेता तथा विक्रेताहरूको बीचमा ठूलो सनसनी मच्चिएको थियो । सबैको कान ठाडो भएको थियो । कोही चाहि लियोनार्दो द भिन्सीको सर्वचचित र सर्वोत्कृष्ट चित्र हराएकोमा खेद प्रकट गर्दै थिए भने कोही भने त्यो हराएको चित्र कसैसँग सस्तोमा पो किन्न पाइन्छ कि भन्ने आशामा सचेत थिए ।
मोनालिसाको चित्रलाई भने कुनै अज्ञात व्यक्ति (एडवार्डो) को आदेशानुसार पेरुजिओले कुनै अनकण्टार तहखानामा बडो हिफाजत पूर्वक बन्द गरेर राखिसकेको थियो । चाँडै नै आफूलाई बरोबर ठूलो रकम पठाएर यस्तो काममा आदेश दिने त्यो अज्ञात व्यक्तिले अँध्यारो बजारमा बिक्री गर्ने व्यवस्था मिलाउने छ र एकदिन ठूलो रकम लिएर चित्र लिन आउनेछ भने पेरुजिओलाई पूरा विश्वास थियो । उसले बरोबर अज्ञात श्रोतबाट पाइरहेको रकम अहिले बन्द भइसकेको थियो तर पनि चोरेको मूल धन आफैँसँग भएकोले उसलाई कुनै चिन्ता लागेको थिएन । तर महीनौँ र वर्ष बितिसक्दा पनि त्यो अज्ञात धन सम्राटले न त कुनै पत्र पठायो, न त चित्र लिन नै आयो।
अझ अर्कोतर्फ एडवार्डोले एउटा मध्यम प्रतिभाको एभ्स चोद्रोन नामक कलाकारलाई अर्को लियोनार्दो बनाइसकेको थियो । मोनालिसा पेरुजिओको हातमा परेको केही हप्ता पछि नै एडवार्डोले चोद्रोनलाई पेरुजिओ कहाँ पठाएर मौलिक कृतिको गहिरो अध्ययन र त्यसका खास-खास विशेषताहरू जस्तो कि मोनालिसा बनेको चित्र पट, त्यसको फ्रेम, त्यसको पछाडि संग्रहालयले राखेको सांकेतिक अंक तथा अक्षरहरू, चित्र सुरक्षित राख्न त्यसमा लगाएको पारदर्शक पालिस, चित्र धेरै वर्ष पुरानो हुँदा रंगमा बनेको धाँजाको आकार प्रकार इत्यादिको अध्ययन गराइसकेको थियो । यो सबै अध्ययन पश्चात एडवार्डोको आदेशानुसार मोनालिसाको उत्कृष्ट प्रतिकृतिलाई आधार बनाएर चोद्रोनले धमाधम मोनालिसाका चित्रहरू बनाउन लाग्यो । उसले बनाएको नक्कल चित्र दुरुस्त सक्कल जस्तै हुन आवश्यक थियो ।
चोद्रोनले यति ठूलो कुशलतापूर्वक मोनालिसाका का ३ वटा चित्रहरू तयार गरिदियो कि कुनै पनि कला समज्ञ त्यसलाई नक्कली हो भन्ने हिम्मत गर्न सक्दैनथ्यो । विज्ञानले मानिसलाई यति साधन सम्पन्न बनाइदिइसकेको थियो कि मोनालिसाको चित्रमा चार सय असी वर्ष भित्र पर्दै आएका अनेकौं धाँजाहरूलाई समेत चोद्रोनको चित्रमा एडवार्डोले अनेकौँ रसायनिक विधि अपनाएर जस्ताको तस्तै धाँजा फटाइदिएको थियो । संसारका कलाकृतिका कुनै पनि महाजनहरूसँग उसँग भएको भन्दा राम्रा मोनालिसाका प्रतिकृतिहरू छैनन् भन्ने एडवार्डोलाई राम्रैसँग थाहा थियो ।
अब मोनालिसाको मौलिक कलाकृति लुभबाट चोरिइसकेपछि एडवार्डो कसैलाई पनि चोद्रोनले रचना गरेको मोनालिसाको नक्कली चित्रलाई सक्कली भनेर कलाको अँध्यारो बजारमा बिक्री गर्न सक्दथ्यो । चोद्रोनले बनाएको तीनवटा चित्रहरूलाई एडवार्डोले सजिलैसँग क्यानाडा, अमेरिका र बेलायतका कला प्रेमीहरूलाई ठूला-ठूला रकममा विक्री गरिसकेको थियो । उसलाई चोरिएको मौलिक मोनालिसासँग कुनै मतलब थिएन, न त उसलाई अब पेरुजिओसँग कुनै सरोकार थियो । आफ्नो योजनामा ऊ पूर्ण रूपले सफल भइसकेको थियो । यही तरिका अपनाएर ऊ अर्जेन्टिनाको रकफेलर बन्न चाहन्थ्यो । चोद्रोनलाई मोनालिसाका दर्जनौँ चित्रहरू बनाउन लगाएर विश्वका विभिन्न कलाप्रेमीलाई बिक्री गर्ने उसको वृहद् योजनाको यो एउटा प्रारम्भिक प्रयोग मात्र थियो ।
उता पेरुजिओलाई चोरेको बहुमूल्य कोहिनूरले पोलिरहेको थियो । कतिसम्म राख्ने त्यो मोनालिसालाई, त्यो अस्वस्थ तहखानामा । एउटा मौलिक सक्कली चित्र चोरिएर एडवार्डोले कति नक्कली चित्रलाई सक्कली भन्दै बिक्री गरिसकेको छ र अरबपति बनिसकेको छ भन्ने कुरा बिचरा पेरुजिओलाई के पत्तो ? उसको विचारमा कुनै पनि व्यक्ति यत्नो बहुमूल्य चित्र चोराएर त्यसलाई लिन नआई किन छाड्दथ्यो, एक न एक दिन त ठूलो रकम लिएर त्यो अज्ञात व्यक्ति आइहाल्ने छ । शायद उपयुक्त ग्राहक नपाउनाले चित्र लिन आउन अबेर भयो होला, आदि सोचेर पेरुजिओले धेरै समयसम्म कुर्यो । तर २ वर्ष पुग्दा पनि त्यो चित्रको कसैले खोज खबर लिएन ।
पेरुजिओ इटालियन थियो । इटालीमा उसका अनेकौँ चित्रहरू थिए । अतः एउटा गैरकानूनी कला व्यापारमा लागेको एउटा मित्रलाई उसले सबै कुरा खोलेर एउटा गोप्य पत्र लेख्यो । केही पत्रको आदान-प्रदानपछि एकदिन पेरुजिओले मोनालाई उनकै माइतिघर र लियोनार्दोको देश फ्लोरिन्स पुग्यायो । ऊ त्यहाँ उनलाई बिक्री गर्न चाहन्थ्यो तर सफल भएन । ऊ पकडाउमा पर्यो । पछि न्यायालयमा उसले आफू ठूलो देशभक्त भएकोले नै आफ्नो देशको अमूल्य सम्पत्तिबाट अर्को देशले फायदा उठाइरहेको देख्न नसकेर उसले त्यो चित्र चोरेर आफ्नै देशमा ल्याएको हो भन्ने साबिति बयान दियो ।
फलस्वरूप: केही नतिहत दिए तापनि उसलाई इटालीले देशभक्त नागरिकको रूपमा सम्मान गर्यो । मोनालिसाको चित्रलाई ठूलो राष्ट्रिय सम्मानका साथ इटालीका विभिन्न प्रान्तमा भव्य रूपले प्रदर्शन गरियो । आफ्नो देशका अद्वितीय कलाकार लियोनार्दो द भिन्सीले झण्डै ५०० वर्ष अघि रचना गरेको यो चित्रलाई आफ्नै देशमा त्यसरी प्रदर्शित भएको देख्न पाउँदा प्रत्येक इटालियन दर्शक हर्षविभोर भए । त्यो चित्र फेरि पेरिस नै फर्काइन्छ भनेको सुन्दा कति दर्शक डाँको छोडेर रुन लागे, अनि कति त चित्र आफ्नै देशमा राखिनु पर्छ भन्ने नारा लगाउन थाले ।
जे भए तापनि आखिर त्यो चोरिएको सम्पत्ति थियो । अतः इटाली सरकारले चित्र चोरिएको ठीक २ वर्ष ४ महीना पछि १९१३ डिसेम्बर ३१ का दिन पुनः पेरिस स्थित लुन संग्रहालयमा नै फिर्ता पठाइदियो ।
अस्तु !