काठमाडाैं उपत्यका लगायत देशभरका विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् परातात्त्विक महत्त्वका सम्पदास्थलमा पुग्याैँ भने ती अधिकांश सम्पदाहरू घुम्टाे ओढेर बसेकाे देख्न सकिन्छ ।
०७२ सालकाे महाभूकम्पले कुरूप बनाइदिएपछि सम्पदाहरूले लाज छाेप्न घुम्टाे ओढेर बसेकाे सात वर्ष वित्याे । उनीहरूकाे लाजकाे घुम्टाे कहिले उघारिने हुन् कुनै टुङ्गाे छैन । उनिहरूकाे सिंगारपटार, संरक्षण र संवर्द्धन गर्ने जिम्मा लिएकाे पुरातत्त्व विभागले तदारूकता देखाउन नसक्दा वर्षाैँसम्म लाज छाेपेर बस्न बाध्य भएका छन्, सम्पदाहरू ।
ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्त्विक महत्त्वका वस्तु र प्राचीन सम्पदाको संरक्षण तथा संवर्द्धनको जिम्मेवारी पाएको पुरातत्त्व विभागले अझै एक सय ३९ वटा सम्पदाको पुनर्निर्माणको थालनी समेत गर्न नसकेकाे महालेखाले जनाएकाे छ । महालेखा परिक्षककाे कार्यालयले सार्वजनिक गरेकाे ५९औँ प्रतिवेदन अनुसार सम्पदा संरक्षणमा पुरातत्त्व विभाग चुकेकाे छ ।
०७२ सालको विनाशकारी महाभूकम्पले देशभर नौ सय २० वटा सम्पदामा क्षति पुर्याएको थियो । पाँच वर्षभित्र ती सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार हालसम्म जम्मा पाँच सय ८९ वटा सम्पदाको मात्रै पुन निर्माण सम्पन्न भएको छ । एक सय ९२ वटा सम्पदाको पुनर्निर्माण जारी छ भने एक सय ३९ वटा सम्पदाको काम अगाडि बढाउन सकेको छैन ।
पाँच वर्षभित्रमा सम्पन्न गर्ने भनिए पनि सात वर्ष बितिसक्दा पनि सम्पदा पुनर्निर्माण गर्न नसकेकोले विभागले काम गर्न नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख ।
समयमा पुनर्निर्माण सम्पन्न नहुँदा सम्पदा स्थल कुरूप देखिनुका साथै सम्पदाको क्षेत्रमा अतिक्रमण समेत बढेको महालेखाको प्रतिवेदनले जनाएको छ ।
प्राचीन स्मारक तथा पुरातात्त्विक महत्त्वका स्थलहरूको संरक्षण तथा संवर्द्धन सम्बन्धमा सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय गर्न स्पष्ट नीति तथा ऐन कानुनको अभाव रहेको पनि प्रतिवेदनले औँल्याएको छ । त्यस्तै सम्पदा संरक्षणका लागि पर्याप्त बजेट तथा दक्ष जनशक्तिको अभाव रहेको पनि महालेखाको प्रतिवेदनले औँल्याएको छ ।
हालसम्म देशभर पुरातात्त्विक सम्पदाको सूचीकरण भएका सम्पदाको वर्तमान अवस्थाबारे अभिलेख अद्यावधिक गर्न उचित संरक्षण तथा संवर्द्धनमा विभागले ध्यान दिन नसकेको महालेखाको ठहर छ ।
‘पुरातात्त्विक सम्पदामा सूचीकरण भएका ४ हजार ८५० सम्पदाको वर्तमान अवस्थाबारे अभिलेख अद्यावधिक गरी उचित संरक्षण एवं संवर्द्धनमा ध्यान दिनुपर्दछ ।’ प्रतिवेदनमा भनिएको छ ।
ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्त्विक महत्त्वका वस्तु र प्राचीन सम्पदाको अन्वेषण, विश्लेषण, संरक्षण र प्रकाशन गर्ने कार्यका लागि वि.सं. २००९ सालमा विभागको स्थापना भएको हो । विभागले प्राचीन स्मारक ऐन, २०१३ अनुसार कार्य गर्दै आएको छ ।
समयमा सम्पदाको पुनर्निर्माण गर्न नसक्दा सम्पदा नासिदै जाने खतरा समेत बढेको छ । त्यसैगरी पर्यटकीय आकर्षणका सम्पदाहरूको निर्माण सम्पन्न नहुँदा सो क्षेत्रमा आउने पर्यटकहरूको सङ्ख्यामा समेत कमी आउन सक्छ ।
सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पाएको पुरातत्त्वले सम्पदाहरूको पुनर्निर्माणमा तीव्रता दिनु जरुरी छ ।