बुधबार , अषोज ९, २०८१

के ‘ओ उन-सन’ले कञ्चनजंघा चढेकी थिइन् ?

संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर चढ्ने आफू पहिलो महिला भएको भन्ने उनको दाबी केहीले उनी कञ्चनजंघा चढे नचढेको यकिन नभएको भन्दै प्रश्न गरेकाले विवादास्पद छ ।

image

ओ उन-सन (जन्म: मार्च ५, १९६६, नामवोन, नर्थ चोल्ला प्रान्त, दक्षिण कोरिया) एक दक्षिण कोरियाली व्यावसायिक पर्वतारोही हुन् । संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर चढ्ने आफू पहिलो महिला भएको भन्ने उनको दाबी केहीले उनी कञ्चनजंघा चढे नचढेको यकिन नभएको भन्दै प्रश्न गरेकाले विवादास्पद छ ।

ओका पिता दक्षिण कोरियाली सेनामा थिए जसका कारण उनको बाल्यकालमा उनको परिवार एक ठाउँबाट अर्को ठाउँ सरिरहनुपर्थ्यो । र अन्तमा उनीहरू सधैँका लागि सियोलमा आएर बसे । हाईस्कुल पढ्दै गर्दा उनले रक क्लाइम्बिङ्ग सुरु गरिन् । सन् १९८५ मा सुवोन युनिभर्सिटी छिरेकी उनले त्यहाँबाट कम्प्युटर विषयमा डिग्री गरिन् र त्यहीँ एउटा पर्वतारोहण क्लबको सदस्य पनि बनिन् । डिग्री लिएपछिको केही वर्ष उनले निजामती कर्मचारीका रूपमा बिताइन् र १९९० को दशकको सुरुवातमा त्यो जागिर छोडेर सगरमाथा आरोहणमा निस्केका एउटा महिला समूहसँग जोडिइन् । केही समयको कडा तालिमपछि उनले १९९३ मा सोही टिमसँग सगरमाथा चढ्ने प्रयास गरिन्, जुन प्रयास ७,३०० मिटरसम्म पुगेर विफल भयो ।

उक्त असफलताबाट निराश बनेकी ओ अझै कडा अभ्यास गर्न कटिबद्ध भइन् । १९९७ मा पाकिस्तान र चीनको सीमामा पर्ने कश्मीर क्षेत्रमा रहेको काराकोरम हिमशृङ्खलाअन्तर्गतको ग्यास्शरब्रम दोस्रो चढेर उनी पहिलोपल्ट ८,००० मिटर उचाईंको शिखर चुम्न सफल भइन् । उनले १९९९ मा काराकोरममै पर्ने ब्रोड पिक (८,०४७ मिटर) र हिमालयमा अवस्थित मकालु (८,४६३ मिटर) चढ्ने प्रयास गरिन् तर, दुबैमा उनी चुकिन् । २००१ मा केटु (८,६११ मिटर) चढ्ने प्रयासमा पनि असफल भएपछि उनले केही समय ८,००० मिटरका शिखरबाट सन्यास लिइन् र होचा हिमालतिर ध्यान दिन थालिन् । २००२ र २००४ का बीचमा उनले सातै महादेशका सबैभन्दा अग्ला हिमाल चढेर भ्याइन्, जसअन्तर्गत सगरमाथाको शिखरसम्म भने उनी एक्लै पुगिन् । २००६ मा उनका उपलब्धिहरूमा इन्डोनेसियाको सर्वोच्च शिखर जया पनि जोडियो ।

सगरमाथामाथि विजय हासिल गरेपछि उनले संसारका अन्य ८,००० मिटरभन्दा अग्ला शिखर चढ्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिइरहिन् । उनले २००६ मा सगरमाथाको उत्तरपश्चिमतर्फ अवस्थित छिछाबाङ्ग्मा (८,०१२ मिटर), २००७ मा केटु र अर्को एउटा, २००८ मा ब्रोड पिक र मकालुलगायत अन्य दुईवटा र २००९ मा पनि थप चारवटा शिखर चढ्दै यस समूहको अन्तिम शिखर अन्नपूर्ण (८,०९१ मिटर)को आरोहण गर्ने बाटो पहिल्याइन् । २००९मा खराब मौसमका कारण अलिकतिले चुकेकी उनले अप्रिल २७, २०१० का दिन हात र घुँडाकै भरमा भएपनि शिखरसम्म पुगेरै छाडिन् ।

Oh Eun-sun

अन्नपूर्ण आरोहणको केही समय अघिसम्म ८,००० मिटरभन्दा अग्ला सबै शिखर चढ्ने प्रथम महिला भएको भन्ने उनको चिनारी खोसिने अवस्थामा थियो । नेपालको पर्वतारोहण क्लब ‘दि नेपाल माउन्टेनियरिङ्ग एसोसिएसन’ले उनको उपलब्धिलाई छिटै मान्यता दिइहालेता पनि उनकी निकटतम प्रतिद्वन्द्वी स्पेनकी एड्युर्न पासाबानले २००९ मा उनले कञ्चनजङ्घा चढेको कुरा साँचो हुन नसक्ने भन्दै आशंका व्यक्त गरिन् ।

प्रमाणको रूपमा रहेको ओको शिखरमा खिचिएको भनिएको तस्बिरको सत्यतामाथि पनि पासाबानलाई शंका लाग्यो र ओलाई शिखरसम्म पुग्न मद्दत गरेका शेर्पाहरूले पनि विवादास्पद बयान दिए । अन्तमा दुवै पक्ष पर्वतारोहणसम्बन्धि रेकर्ड राख्ने अनौपचारिक जानकार एवम् इतिहासकार एलिजाबेथ हाउलेको निर्णय मान्न सहमत भए । अन्नपूर्ण चढेर फर्केकी ओको अन्तर्वार्ता लिएपछि हाउलेले ओको कञ्चनजंघासम्बन्धि बयानलाई मान्यता दिइन् तर उक्त आरोहणलाई विवादास्पदकै संज्ञा दिइन् । यद्यपि २०१० को जुनमा उनले ओ कञ्चनजंघाको शिखरसम्म पुग्न सफल भएको कुरामा सत्यता नरहेको भन्नेजस्तो कुरा गरिन् । त्यसको दुई महिनापछि अल्पाईन कोरियन फेडेरेशनले पनि ओ कञ्चनजंघाको चुचुरोसम्म पुग्न सायद असफल भइन् भन्ने कुरा सार्वजनिक गर्‍यो ।

सम्बन्धित समाचार