बुधबार , अषोज ९, २०८१

‘भैया एक खरिद लो ना, मैँ आपके छोटे भाइ जैसा हुँ’

खासमा कोही नभएको ठाउँ त त्यही एकछिनपछी जाने डेरा मात्र हो । तर सबै कोही नभएको ठाउँमा शान्ति नहुन पनि सक्छ । डेरामा कोही छैन, शान्ति पनि छैन ।

image

कहिलेकाहीँ केही नगर्दा पनि थकाइ लाग्छ । केही नगरी बस्दा आउने सोचको भारी नै उठाइनसक्नु हुन्छ, त्यसैले होला । “खालि दिमाग शैतानका घर” त्यसै भनेको हैन । शैतानको घर हुनलाई त्यो दिमागले कसैलाई मार्ने योजना नै बनाउनुपर्दैन, आफ्नै पतनको बाटो सोच्न थाले पुग्छ, बस् ।

“केही नगरी बस्यो, शैतान मोटाउने । केही गर्ने सोच्यो, गर्नेचाहिँ के ? जाऊँ कि नजाऊँ ? कोही चिनेको मान्छे भेटे, के गर्ने होला ? नदेखेजस्तो गरिदिऊँ ? ठूलो भयो भन्ने सोच्लान् । तिमी ठूलो भएको सोच्छन् । तिमीभित्रको शैतान ठूलो भएको र आजभोलि तिमी नै तिमी नरहेको देख्दैनन् । भएभरकालाई त्यो देखाउँदै हिँड्न सक्दैनौ, त्यसैले जाऊँ आफ्नो मनको गर।  के गर्दा हुन्छ, त्यो शैतानलाई चाहिँ मार ।” आफूलाई यति भनिसकेपछि जाने निधो गर्छ ।

सात बज्न लाग्यो । अब हिँड्यो भने ठिक्क बेलामा पुगिन्छ । बस्ने ठाउँ पनि भेटिन्छ । पुलनेर एउटा पानको दोकान छ । सधैँ त्यता जाँदा त्यहाँ छिरेकै हुन्छ । केचाहिँ गर्दो रहेछ भनेर परैबाट हेरेको- एक मुट्ठी ह्यापिडेन्ट किनेर खल्तीमा हालेको देखेँ । अर्को खल्तीमा पनि खै के हालेको जस्तो लाग्यो, मेसो पाइनँ । पाँचै-पाँचका नोट गन्दै ऊ आफ्नो बाटो लाग्छ । एयरपोर्टमा कसैलाई भेट्न छुट्ला जसरी यो मान्छे सिफलको उकालोमा पनि दौडिराछ, दायाँबायाँ कतै नहेरी ।

आजचाहिँ लास होला कि नहोला भनेर सोचिराख्नै पर्दैन । कतिवटा होलान् भनेर चाहिँ सोच्छ बरु- तीनवटा होलान् । जयबागेश्वरीमा बाटो काटेर पारी लाग्नेबित्तिकै अर्कै संसारमा पुगेजस्तो हुन्छ सधैँ । किन हो ! ल आइपुग्यो ! सधैँजस्तो त्यही १६ मिनेट लाग्यो । ४ महिना अघिसम्म १५ मिनेट लाग्थ्यो । बीचमा पान पसल छिर्न नपर्ने भएर । कति मानिस आज पनि- बाहिर बाटोतिर गयो, त्यत्तिकै ! गाडिभित्र, त्यत्तिकै ! कतै म:म खान छिर्‍यो, त्यत्तिकै ! कोही नभएको ठाउँमा एकछिन शान्तिसँग बस्छु भनेर गयो, त्यहाँ पनि सधैँ त्यत्तिकै ! कति अटाउन सक्या ! तर उसले त्यो ठाउँलाई कोही नभएको ठाउँ भनेर सोच्नचाहिँ कहिल्यै छोडेन । खासमा कोही नभएको ठाउँ त त्यही एकछिनपछी जाने डेरा मात्र हो । तर सबै कोही नभएको ठाउँमा शान्ति नहुन पनि सक्छ । डेरामा कोही छैन, शान्ति पनि छैन । बरु यहीँ ठिक छ । खुट्टा टेक्ने ठाउँ छैन । किन चाहियो? त्यो त डेरामै प्रशस्त छ नि । उसलाई चाहिएको कुरा यहीँ छ ।

जाँच, रिजल्ट, कमाई, भविष्य अनि अरू केके- सबैलाई पोको पारेर एकछिन जयबागेश्वरीतिरै छोडेर आएको छ । अहिले फर्किँदा फेरि बोकेर जानुपर्छ । एकछिन अब यतै मग्न हुने हो ।

कति मान्छे ! प्राय: सबैका हातखुट्टा छन् । प्राय: सबै बोल्न सक्छन् । अनुहार नमिले पनि बाँकी कुरा त उस्तै छन् तर, कोही पनि उस्तै छैनन् । ऊ जस्ता कोही छैनन् । उसैले जस्तो भारी बाहिर छोडेर उसैले जस्तो खोज्न आउनेचाहिँ थुप्रै छन् । नजिकै एउटा मान्छे छ । उसैको जस्तो बनावट छ तर, एकछिन पछि अर्कै हुनेवाला छ। हिजो ऊ पनि आज ऊ आँको जसरी नै आँको थियो होला । आज पनि आँको छ तर, अलि अर्कैगरी र आज सबै फर्किसकेपछि पनि ऊ फर्किँदैन । त्यही ठाउँमा कसैलाई पर्नुसम्म आपत् परेको छ । कसैलाई केही न केही ! ऊ पनि केही न केही वाला जस्तो देखिन्छ । खोलापारी भइरहेको ताण्डवलाई मोबाइलमा भरेर जो बसिराछ । एकैठाउँमा एकजनाको अवस्था कस्तो, अर्काको कस्तो । उसको पनि दिउँसोसम्म उसकै जस्तो पारा थियो होला । उसैको जस्तो भारी बोकेर हिँडिराथ्यो होला । साँझमा उसैले जसरी जयबागेश्वरीमा भारी बिसाएर त्यहाँ जाने पनि सोचिराथ्यो होला । जे होस्, जान त गयो । भारी पनि बाहिरै बिसायो । तर अब उसका भोलिदेखिका “दिउँसो”हरू आजको “दिउँसो” जस्तो हुँदैनन् । न उसले कहिल्यै फर्केर त्यो भारीलाई हेर्छ । त्यो भारी फेरि कस्तो भनौँ भने- एउटाले बिसाएपछि अर्को पिठ्युँ खोजेर चढिहाल्ने । यतिबेलासम्म त्यसलाई अर्कैले बोकिसक्यो । उसले पनि अब बिसाउने-उठाउने, बिसाउने-उठाउने गरिराख्छ । तबसम्म जबसम्म अर्को पिठ्युँ निस्किँदैन ।

आँखै अगाडि यो सब भइराछ तर, उसलाई मेसो छैन । होस पनि किन ? यही सब नसोच्न भनेर त ऊ त्यत्रो १६ मिनेटको बाटो हिँडेर आँको छ । अहिले त्यही कोही नभएको ठाउँमा फर्कँदा सोच्छ अनि भोलि साँझसम्म सोची नै रहन्छ ।

अब फेरि उसकै कुरा गरौँ । उसले भारी बाहिरै छोडेर आँको छ, त्यसैले भारीको कुरा नगरौँ । त्यो अब उसले बाहिर निस्केपछि फेरि उठाउँछ अनि भोलि साँझसम्म उठाइ नै रहन्छ ।

ऊ त अझै मोबाइल ठाडो पारेरै बसिराछ । एउटा फुच्चे केटो क्यामरा अगाडि आउँछ । “भैया एक खरिद लो ना, मैँ आपके छोटे भाइ जैसा हुँ ।” यो लाइन उसले अघिदेखि ४-५ चोटि सुनिराथ्यो तर, खासै ध्यान दिएको थिएन । “सिर्फ फिफ्टि रुपिज भैया । अच्छा चलो आपके लिए फर्टी ।” त्यो के चिज हो थाहा छैन । न त्यो फुच्चेलाई त्यसको नाम थाहा छ । उसले त्यो कहिल्यै देखेको थिएन । न उसलाई त्यसको आवश्यकता छ, न उपयोगिता थाहा छ । उसलाई एउटा कुरा थाहा छ- ऊ पनि एकचोटि १० वर्षको थियो । “मम्मी यो किन्दिनु न”, “बाबा त्यो ल्याइदिनु न”– उसले यस्तो कतिचोटि भन्यो भन्ने उसलाई याद छैन  । “दाइ यो “किन्नु” न”– यस्तोचाहिँ उसले कतिचोटि भन्नुपर्‍यो उसलाई याद छ। एकचोटि पनि परेन ।

हुन त ४० रुपैयाँ उसका लागि महँगै हो तर, फुच्चेका लागि त्यो कति महँगो होला भनेर सोच्दा मात्र पनि उसले आफूलाई साह्रै सम्पन्न पायो । फुच्चेको आवश्यकताले उसले “भैया खरिदो ना” भनेको त्यस चिजको उपयोगितालाई जित्यो । दुई चोटि गाडी चढिकन चारवटा ह्याप्पिडेन्ट खान पुग्ने त्यति पैसा राखेको भए खै के’मा खर्च हुन्थ्यो तर, आजसम्म पनि उसलाई गाडी चढ्न र ह्याप्पिडेन्ट खान पुगि नै राख्या छ ।

त्यहाँबाट फर्केपछि खानलाई जसो भन्यो उसै छ । जाँदाजाँदै भिजे के लगाउने होला भनेर सोचिराख्न पर्दैन, न सुत्दा ढाड बिझाउँछ । छोराछोरीलाई के खुवाउने भनेर पनि दिमाग खियाइराख्न पर्दैन उसले, त्यो गरिदिने अरू नै छन् । एक घण्टा त्यहाँ बस्दा यतिसम्म सोच्न सक्ने हुन्छ ऊ ।

त्यहाँबाट निस्कँदासम्म अघि पान पसलबाट लिएका पाँचै-पाँचका नोट सबै सकिए तर, हातहरू अझै सकिएनन् । व्यर्थै ह्याप्पिडेन्ट किनेछु भनेर मन अमिलो पार्दै ऊ बाटो लाग्छ । भारीहरू एकएक गर्दै पिठ्युँ चढिसके । कोठामा पुग्दासम्म हिँडाइले भन्दा तिनै नदेखिने भारीको बोझले बढी गाल्छन् । अघि भर्खर पाँचै-पाँचको नोट बाँडेर आएको ठाउँमा खान, लाउन, पल्टिन, रमाउन जेजे भन्यो त्यही थिएन तर यहाँ छ । उसका लागि यो सब कहिल्यै सकिँदैन- ठिक त्यसैगरी जसरी त्यो एक घण्टाको शान्ति ऊसँग सधैँका लागि कहिल्यै आउँदैन ।

सम्बन्धित समाचार