पैसा बाँकी रहेका निर्माता आजभोलि भेटिए भने हतारमा छु मात्रै भन्न भ्याउँछन् र हिँडिहाल्छन् । धन्न राष्ट्र बैङ्कको जागिर थियो र पो !
लुगा लगाए र गरिमालाई भनेँ, ‘म अफिस जान लागेको ।’ उसको उहीँ उपहासको हाँसो आफ्नो ओठमा टाँसेर म घर बाहिर निस्केँ ।निस्कनेबित्तिकै भीष्मलाई फोन गरेर भने,”म निस्किसकेँ । तपाईं आउने भए पर्यटन बोर्डतिर आउनु ।”
उसको हातमा निफको कार्यक्रमको तालिका थियो । अचेल यो सहरमा कतै कुनै कार्यक्रम हुने सूचना पाए म भीष्मलाई कुरा सुन्न पठाउँछु/ लिन्छु । म चाहन्छु, ‘ऊ धेरैभन्दा धेरै सुनोस् र कमभन्दा कम बोलोस् ।’ मलाई थोरै कुरा थाहा छन् त्यो मध्यको एउटा कुरा यो हो, ‘अचेल कान कसैका छैनन् ।’
ओठबाट आमाको दूध छुटाएर । गोठाला जान्छु भन्दै समातिरहेको लट्ठी हातबाट छुटाएर । बाहुनको काखबाट छुटाएर । बर्जङको साथबाट छुटाएर । मलाई टिकापुर लिइएको वर्ष मलाई टिकापुर थामी राख्ने कुराहरू मध्ये फिल्म हल बाहिर टाँसिएका फिल्मका पोस्टरहरू पनि एक हुन् । खड्ग मेमोरियलमा पढ्ने म राज फिल्म हलको लामो बाटो समात्दै शार्दूल हुँदै तेह्र नम्बर पुग्थे । त्यसबेला म पोस्टर हेरेर फिल्मको मज्जा लिन सक्थेँ ।
राजेश हमालको कसम ! ती दिनहरूमा पोस्टर हेरेर म आफ्नो दिमागमा पुरै फिल्म बनाउँथे । मैले त्यसरी दिमागमा बनाएका फिल्म र हलमा चलिसकेका/चलिरहेका र चल्ने फिल्म के कति मिल्थे, त्योबारे आजसम्म पनि म अनविज्ञ नै छु । मैले अघि नै भनिसकेँ, मलाई धेरै कुरा थाहा छैन । थाहा भएको कुरा चाहिँ के हो भने कति फिल्म त मैले बनाउँदा बनाउँदै आधा-अधुरोमै छोड्नु परेको थियो । त्यसरी फिल्म छोड्नुको कारण जहिल्यै मिसको थप्पड हुन्थ्यो । त्यो पनि गालामा । म उता फिल्म बनाइरहेको हुन्थे । त्यही बेला मिस यता पढाइ रहनुहुन्थ्यो । पोस्टरले गर्नु गरेको थियो । त्यो हेरेर लिने मज्जा ‘फर प्ले’को मजा थियो ।
फिल्म हेरेका ती दिनहरू पनि सकिए । पोस्टर यसरी सम्झनुको कारण थियो यसपालिको निफ (NIFF) को एउटा सत्र – सुन्दर श्रेष्ठ : फिल्म डिजाइनका कुरा । वक्ता बनेका सुन्दर श्रेष्ठ र सहजकर्ता बनेका यादव कुमार भट्टराई कलाकार र निर्देशकको भूमिका निभाइरहेका थिए ।
यादव कुमार भट्टराईका साना प्रश्नले सुन्दर श्रेष्ठ नेपाली फिल्मको ०५३ यताको इतिहास भनिरहेका थिए । सत्रमा पुगेका दर्शकहरू फिल्म हेरिरहेझैँ गरी कुनै बेला भावुक बन्थे, कुनै बेला वाल्ल परेर हेर्थे । सुन्दर श्रेष्ठ भनिरहेका थिए, “७५ प्रतिशत पोस्टर डिजाइन गरेको पैसा त लिनै बाँकी छ । तर, पैसा बाँकी रहेका निर्माता आजभोलि भेटिए भने हतारमा छु मात्रै भन्न भ्याउँछन् र हिँडिहाल्छन् । धन्न राष्ट्र बैङ्कको जागिर थियो र पो !”
भीष्मले मेरो तिघ्रामा फ्याट्टै हान्यो र, भन्यो -“नेपाली नोटको डिजाइन पनि यिनैले गरेका रहेछन् ।” मैले फेरि बोलिसको इशारामा उसलाई हेरे । ऊ फेरि चुप लाग्यो । म सझिरहेको थिएँ, हाल प्रचलनमा रहेको रू. ५, १०, २०, ५०, १००, ५००, र १००० का नोटहरू सहित १ र २ रूपैयाँको सिक्का समेत उनले बनावट गरेका थिए । साथै, केही समय अगाडि प्रचलनमा रहेको रूपैयाँ २५ र २५० का नोटहरू पनि उनले नै बनावट गरेका थिए ।
विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र ‘ टेलिग्राफ’ले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज को सूचीमा नेपालका ती वटा नोट र एक सिक्का संसारकै सुन्दर आकृत भएको नोटको सूचीमा परेका छन् जुन सुन्दर श्रेष्ठले नै बनावट गरेका थिए ।
सुन्दर श्रेष्ठ भन्दै थिए, “मैले एक्लैले गरेको हो नोटको डिजाइन भन्दा जर्मनेहरू छक्क परे ।” मैले पनि उसैगरी छक्क परेर उनलाई हेरे । जब उनी रुँदै भनिरहेका थिए, “देशको मायाले जर्मन बस्न सकिनँ ।” त्यहाँ भएका सबै दर्शकको मनको भारी उनीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो । कसको मन भारी हुँदैन र ? देशको मायाले फर्किएको एक कलाकार देशको हालत देखेर आफ्नो अगाडी रोइरहँदा ?
धन्न सहजकर्ताले बुद्धि पुगाएर र सोधेँ , “दाइ गीतका कुरा सुनौँ अब ?”
सुन्दर श्रेष्ठले भने, ” माया बस्यो मुटुमा, मायाको भण्डार रित्तै ।”
भीष्मले फेरि मेरो तिघ्रामा हान्दै भन्यो, “यो गीत पनि यिनैले लेखेका रैछन् ।” मैले फेरि बोलिसको इशारामा उसलाई हेरेँ । ऊ फेरि चुप लाग्यो । तर, एक छिनमा फेरि बोल्यो, ” सब हिट गीत त यिनैले पो लेखेका रैछन् !” भीष्म फुसफुसाई रहेको थियो, “मान्छे साँच्चै सुन्दर रहेछन् । पोस्टरको डिजाइन पनि गर्या छन्, नोटको डिजाइन पनि गर्या छन्, गीत पनि सुनाएका छन् । रहिगयो भनी मुक्तक पनि सुनाएका छन् । निफमा यस्ता सत्रहरू अरू पनि राख्नुपर्छ ।”
मेरो भन्नू निफ हरेक वर्ष भइरहोस् ।