योमरी छे: भनेको योमरीको घर हो । विगत ५ वर्षदेखि प्रत्येक शनिवार असन चौकमा उनले स्टल राख्दै आएको र करिब १.५/२ वर्षबाट उक्त पसल थालेको पसलकी सञ्चालिका रामलक्ष्मी महर्जनले बताइन् ।
नेपाली पर्यटन र नेपाली मौलिक परिकारबीच अन्योन्याश्रित सम्बन्ध छ । कुनै पनि देशको पर्यटन प्रवद्र्धनका लागि त्यस देशको मौलिक खाना, रहनसहन र भेषभूषा महत्वपूर्ण कडी मानिन्छ । भारत, थाइल्याण्ड, भियतनाम, स्पेन, कम्बोडिया, इटाली, टर्की, इरान लगायत विश्वका थुप्रै देशले आफ्ना देशका खानाका विभिन्न परिकारहरुबाट पर्यटक आकर्षित गरिरहेका छन् । नेपालमा पनि विविध जातजातिको बहुल संस्कृतिअनुसारका परिकारलाई पर्यटनसँग जोडेर बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिने आधारहरू तयार भइरहेको महसुस हुन्छ ।
विभिन्न जातिका आफ्नो संस्कृतिसँग सम्बन्धित खानाहरू आफ्ना पाहुनाका थालीसम्म पुर्याउने उद्देश्यले देश तथा विदेशमा विभिन्न रेस्टुराँहरू खुलिरहेका छन् । मधेसको समोसा चाट, काटिया, घुँगीहरूसँग पहाडका जिब्रोहरू पनि परिचित भइसकेका छन् । चितवनको तास र धराने कालो बङ्गुरको स्वाद सम्बन्धित ठाउँसम्म नपुगी लिन पाइने भएको छ । पूर्वको भक्का काठमाडौं या पश्चिमतिर पाइने भएको छ । तामाङ खाना विशेष रहेर रेस्टुराँहरू खुलेका छन् । थकाली सेटहरूले आन्तरिक एवम् बाह्य पर्यटनहरूलाई लोभ्याइरहेका छन् ।
यिनै विविध खानामध्ये एक हो ‘नेवारी खाना’, जसको लोकप्रियता दिनदिनै बढिरहेको छ । काठमाडौ, ललितपुर, भक्तपुर तथा कीर्तिपुर, नेवारी समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । जहाँ अनेकन् नेवारी खाना विशेष रेस्टुराँहरू खुलेका छन् र खुल्ने क्रम जारी छ । उपत्यकाबाट निस्किएर नेवारी खाना पूर्वदेखि पश्चिमसम्म पुगिसकेको छ । साथै, नेपाल बाहिरका विभिन्न देशमा पनि नेवारी स्वाद पसिसकेको छ ।
पिरो, अमिलो, साँधेको, पोलेको, उसिनेको जस्ता स्वाद बोकेको नेवारी खानाको पारखी दिनदिनै बढिरहेका छन् । स्वादकै लागि खानाका पारखीहरू टाढा-टाढासम्म यात्रा गर्ने गरेका छन् । सामान्य खाजाघरदेखि तारे होटेलसम्म नेवारी खानाले आफ्नो अस्तित्व बनाइसकेको छ ।
विभिन्न खानाहरुको सम्मिश्रण समयबजी, अमिलो तामा, बोडी र आलुको ट्वाक्क परेको सुप बारा, छोयला, चटामरी, कचिला, सुकुटी, तिस्यो, खाःगो (भैँसीको आन्द्रा) तथा गुलियो यमरी सम्झिँदै कतिपयको मुख रसाउने गर्छ । त्यसमाथि नेवारी समुदायको विशेष पेय ऐला ‘अयला’, छ्याङले घाँटी भिजाउने चाह राख्नेहरू खोजी-खोजी नेवारी खाना पाइने रेस्टुराँ पुग्ने गर्छन् ।
२०० भन्दा धेरै परिकार समेटिएको नेवारी खानामा सपू म्हिचा (बोन म्यारो हालेर बनाइएको एक परिकार) जस्ता परिकारहरू पनि रहेका छन् । हरिसिद्धिको नेवा: सुली, कीर्तिपुरको स:स त्वा, लहना आदि नेवारी खानाका लागि लोकप्रिय ठाउँहरू मध्ये एक हुन् । तर, कम पैसामा नेवारी खानाको आनन्द लिने हो भने असनको गल्लीमा रहेका साना खाजाघरमा पनि जान सकिन्छ । तिनै गल्लीमा रहेका खाजाघरमध्ये एक हो- चन्द्रदेवी महर्जनको बारा पसल ।
इन्द्र चौकको दाहिनेपट्टिको गल्ली छिचोल्दै गएपछि अलिक अगाडी पुगेर देब्रेपट्टि ‘समा ह्याण्ड इम्ब्रोइडरि’को सानो बोर्ड छ, त्यसकै तलपट्टि भित्र छिर्ने बाटोमा उत्कृष्ट साथीभाइ बचत तथा ऋण सहकारीको जाने बाटो देखाइएको छ । त्यही बाटो समाएर हामी थोरै भित्र छिरेपछि अलिक फराकिलो ठाउँमा पुग्छौँ । जहाँ ठुलो तावामा बारा बनाइरहेकी चन्द्रदेवीलाई देख्न सकिन्छ । सो ठाउँ इन्द्र चौक क्लबको भवन भएको ठाउँ पनि हो ।
चन्द्रदेवीले विगत १० वर्षदेखि सोही ठाउँमा बारा पसल चलाइरहेकी छिन् । आफ्नो पुर्खौली १०० वर्ष पुरानो घरमा रहेको उक्त पसलबाहिर मैदान जस्तो ठाउँमा केही मुडा र बेन्चहरू राखिएका छन् । कुनै पनि बेला त्यहाँ पुग्दा ती बेन्चमा नेवारी खानाका पारखीहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । उक्त पसलमा योमरी, नेवारी भेज खाजा सेट, बारा आदि खानाको स्वाद लिन पाइन्छ ।
कति पर्छ ?
मूल्यको कुरा गर्ने हो भने सादा बारको ३० रुपैयाँ, अन्डा बाराको ६० रुपैयाँ, खाजा सेटको ९० रुपैयाँ, योमरीको ५० रुपैयाँ मात्र रहेको छ ।
दिनकै अनगिन्ती मान्छेहरू आफ्नो पसलमा आउने गरेको चन्द्रदेवी बताउँछिन् । दिनमा करिब १० हजारसम्म व्यापार हुने गरेको पनि उनले बताइन् । योमरीको व्यापारबाट सुरु गरेको उनको पसलमा विशेषगरि योमरी र च्याउको छोइला खोज्ने ग्राहकहरू आउने गरेको उनी बताउँछिन् ।
परिवारकै सदस्य मिलेर चलाइरहेको उक्त पसलमा चन्द्रदेवीलाई विशेषगरि बारा बनाइरहेको देख्न सकिन्छ भने अरू सदस्य योमरी बनाउने तथा आएका ग्राहकहरूको माग बमोजिम खाना पस्किने काम गर्छन् । मुङ र मासको तात्तातो बाराको आनन्द लिइरहेका ग्राहकहरुलाई देख्दा जसलाई पनि एउटा बारा चाख्न मन लाग्छ । आइतबार सबैभन्दा धेरै व्यापार हुने गरेको पनि उनले बताइन् ।
नेवारी संस्कृतिसँग सम्बन्धित ती परिकारहरू भगवानलाई पनि चढ्ने गरेको र ती परिकारहरूले नेवार समुदायको हरेक सुख दुखमा प्रत्यक्ष सम्बन्ध राख्ने गरेको कुरा उनले बताइन् । चन्द्रदेवीको पसलमा भोज भतेर, पुजा-आजामा विशेष अर्डर आउने गरेको छ ।
त्यसैगरि असनको माछाको मूर्ति भएको ठाउँबाट ठ्याक्कै दाहिनेपट्टि माथि हेर्ने हो भने अर्को पसल देखिन्छ- ‘योमरी छे:’ । योमरी छे: भनेको योमरीको घर हो । विगत ५ वर्षदेखि प्रत्येक शनिवार असन चौकमा उनले स्टल राख्दै आएको र करिब १.५/२ वर्षबाट उक्त पसल थालेको पसलकी सञ्चालिका रामलक्ष्मी महर्जनले बताइन् ।
बाजे-बराजुदेखि खाँदै आएको नेवारी खानालाई अन्य ग्राहकसम्म पुर्याउने उद्देश्यले सो पसल थालिएको हो । जात्रा तथा अन्य कार्यमा विशेष अर्डर लिने गरिएको उक्त पसलमा छोइला, नेवारी खाजा सेट, योमरी, बारा, म:म:, सपू म्हिचा, कान-भौखा(नाक) , भुटन, फोक्सो भरेको, टिस्य र गिदि आदि खानाको स्वाद लिन सकिन्छ ।
ज्वाइँको आतिथ्यमा जिब्रो र गिदी अनिवार्य रहेको पनि महर्जनले मुस्कुराउँदै सुनाइन् । योमरी छे:मा सन्तोषजनक व्यापार हुने गरेको उनले बताइन् । शनिवार उनको पसलको स्टल असन चौकमा राखिने हुँदा सो दिन बढी व्यापार हुने गरेको छ । हरेक नेवारको जन्मदेखि पुजा-आजा आदि कार्यक्रममा अपरिहार्य खानेकुरालाई नै आफ्नो पसलबाट पस्किने गरेको उनले बताइन् । आफ्नो खानामा सामान्य मर-मसला तथा भुटेको तेल प्रयोग गर्ने गरेको पनि उनले जनाइन् ।
योमरी छे:मा ऐला र छ्याङ पनि थोरै मात्रामा खपत हुने गरेको छ । नेवारी खानाको स्वाद नलिएकाहरूलाई पनि एक पटक चाख्न उनी आग्रह गर्छिन् ।