वि. सं. १९७१, जेठ २१गते जन्मिएका भवानी भिक्षुको असली नाम भवानीप्रसाद गुप्ता हो । उनी कपिलवस्तुको तौलिहवामा जन्मेका थिए । उनिले कथा र कवितामा तराईको जीवनलाई बिम्बको रूपमा प्रयोग गरेको पाइन्छ । उनको मृत्यु वि. सं. २०३८, वैशाख ४ गते भएको हो ।
आज उनै भवानी भिक्षुको कविता प्रति यहाँ प्रस्तुत छ;
१
सोचेथें म भनुँला केही हृदय प्राणको अभिलाषा
सोचेथें म गरूँला पूरा केही भन्नाको आशा;
आकुलताको आँधी व्यारी, उत्कण्ठाको उत्पीडन
भरिएको औत्सुक्य-प्रतीक्षा-पूर्ण मेरो पीडित जीवन;
प्रकट गर्न आएँ, आँखामा लिई वेदना-भार,
तर प्रिय, तिमिले हेरेनौ नीरव आँसूको तार !
२
भावहरूको पुष्प सजाई, श्रद्धाको शीतल चन्दन
आर्द्र प्राणको अघ्र्य लिएर नेत्रहरूको आमन्त्रण
हृदयोच्छ्वास, विकलता, शीतल स्वास तथा यो उरकम्पन,
प्रिय पञ्चोपचारको निम्ति मैले ‘व्यथा’ ले भरी मन
ल्याएँ, किन्तु गरेनौ तिमिले यो आदर स्वीकार,
छरियो तिम्रो मौनमा मेरो यो पूजा-उपहार
३
तिमिले सुन्न सकेनौ प्रिय यस अन्तरको नीरव क्रन्दन,
थाहा छैन प्राणहरूमा भईरहेको यो मन्थन,
घुमी रहेछन् कति कति क्रममा आकुल व्याकुल चिन्तन
कतिको आश, निराशा, द्विविधा, दुश्चिन्तामा छन् यी क्षण।
आज प्रिये यो ‘तन’ भईरहेछ जीवनको भार,
‘जीवन’ निरुद्येश्य सरितामा डगमग बेआधार ।
४
थाहा छैन प्रिय तिमीलाई मेरो अकथ कहानी यो,
बिर्स्यौ समवेदना तिमीले तिम्रो बिर्सिदिने बाह्नी त्यो;
त्यो अतीतलाई कस्तो कस्तो दिइ सुन्दर क्रम नूतन,
प्रिये सिंगारेर ल्याएथेँ यो आफ्नो आत्मनिवेदन;
किन्तु प्रिये, उर-भावुकताले गाँसेको यो हार,
सुकिशक्यो, उफ कस्तो हाँसो यी निर्मम अनुदार !
५
कता गए ती मधुर रुदन प्रिय, कता गए ती विकल मिलन,
कता गए ती बृहद् समर्पण, कता गएछन् पागल क्षण,
सुधा-सुसिञ्चित एक दुइ कुरा, अवलोकनमा स्वागत मौन,
प्राणहरूको ओहरो दोहरो, उरको उत्सुक स्पन्दन,
आज तमोमय छ अन्तरको रमाइको संसार,
स्वप्नदेशकी रानीझैं आइन् स्मृति सुकुमार ।
६
बगेको थियो त्यो दिन अमत मेरो भावको सरितामा,
मिसिन गएको थियो गान यस अन्तरतमको कवितामा,
ध्वनिको प्रतितरंगमा रानी ! उत्फुल्लता थियो झंकृत,
थियो कति मीठापन, कति रसिलापन भाषामा सञ्चित,
त्यो अतीतमा कति सजीव कल्पना भएको थियो प्रिये !
वृक्षहरूमा कस्तो मस्ती लहरिरहेको थियो प्रिये !
७
थियो एक सन्देश प्रिय त्यो गोधूलीसँग आभाको,
अन्तिम मिलन थियो ऊषासँग शून्य गगनमा सुप्रभाको,
फेरि सुन्न नशकिने त्यो संगीतको थियो यौटा तान,
यौटै नै अलोकको थियो अन्धकारलाई त्यो सान,
‘झलक’ मात्र अस्तित्व थियो त्यो पलकमात्रको सार
हेरी, सुनी रहेछन् चिन्नना जीवनको उसपार ।।