शुक्रबार , अषोज ४, २०८१

कविता-  यो शनिवारको बिदा

image

भीमनिधि तिवारी  एक  वरिष्ठ साहित्यकार हुन। उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै पाठशाला खोलेर चलाउने शिक्षा प्रेमी तिवारीले वि.सं. १९९५ मा नेपाली साहित्य प्रेस खोले। वि.सं. २००६ साल तिर नेपाल नाटक सङ्घ खोलेका थिए ।

आज आउने कवी तिवारीको कविता यहाँ प्रस्तुत छ;

सासूको बुहार्तनले हार खाएर माइत आएकी छोरीजस्तो
पिजडाबाट बर्षौँपछि उम्कन पाएको क्यानरीजस्तो
ढोका ढोका ढुक्दा पनि एक मुठी भीख नपाउने
जोगीको आश्रममा अचानक पुगेको दरबारी सिघा
यो शनिवारको बिदा

छ दिनसम्म मेहनत गरी कमाएको ज्यामीको ज्याला
नरुचाउने को होला ? यो, किशोरीको गाला
नशाजस्तो सबैको प्यारो, लूतो कनाए जस्तो सञ्चो
जन्ती गएको दुल्हाको दिलजस्तो
छोरो जन्माउँदा आमाको मन जस्तो
खुशी, उत्साह, स्फूर्ति, सञ्जीवन-सुधा
यो शनिवारको बिदा

भारी भन्ज्याङमा बिसाएर भरियाले फेरेको सासजस्तो
दिनभरी हिँडेर थाकेको बटुवाले साँझमा भेटेको वासजस्तो
नयाँ पात प्रदान गर्न बहने बसन्तको बतासजस्तो
गाँठबाट झिकिएको उन्मुक्त कपासजस्तो
भोकाएको गोरुले चैतमा पाएको हरियो घाँसजस्तो
न्यूनतम कर्मचारीको साँझ बिहानको गाँसजस्तो
अथवा जेठको जूनजस्तो रमाइलो सदा
यो शनिवारको बिदा

खाई पिई सकेर भरदिन मस्त सुतूँजस्तो
पासा या ताश खेलेर अर्काको धन धुतूँजस्तो
बन्दूक बोकेर गर्न शिकार कतैतिर कुदूँजस्तो
जहान, परिवार च्यापेर पिकनिक गर्न हिँडूजस्तो
एउटा नयाँ किताब झिकेर टन्न पढूँजस्तो
के गरूँ, कसो गरूँ सधैँ दुविधा दुविधा
यो शनिवारको बिदा

राजा, मन्त्रीले चाहेको; पिपा, पिअनले रुचाएको
शिक्षक, छात्रले खोजेको; अफिसर, सिपाहीले रोजेको
वैलेको फूलको जरामा सिंचेको जलजस्तो
बेला बेलामा पाउनैपर्ने बन्द बोत्तलको तलतल जस्तो
(यो शुक्रवारको साँझ मानों फूलबारीको माझ)
इन्जनमा थपेको इन्धनजस्तो नव शक्ति हुने पैदा
यो शनिवारको बिदा

Tags:

सम्बन्धित समाचार