मंगलबार , मंग्सिर ४, २०८१

नेपालले भुटानलाई हरायो

नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ ।

image

Photo by: क्यान

काठमाडौं । आईसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एशिया क्षेत्रको छनोटका लागि मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले सोमबार भुटानविरुद्ध जित निकालेको छ ।

किनरारा ओभल मैदानमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दै जारी छनोट प्रतियोगितामा दोस्रो जित निकालेको हो । यससँगै नेपालको तीन खेलबाट चार अंक भएको छ। नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आफ्नो दोस्रो खेलमा युएईसँग लज्जास्पद हार व्यहोरेको नेपालले सोमबार भुटानविरुद्ध जित निकाल्दा अघिल्लो चरण पुग्ने सम्भावन कायमै छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा सानु राजवंशीले अविजित सर्वाधिक ३० रनको पारी खेल्दा साना प्रविनले १२ रन, आश्मा पुलामी मगरले ३ तथा किरण कुँवरले २ रनको योगदान गरिन् । यस्तै सृष्टि जैसीले ८ रन कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा शून्यमा पवेलियन फर्किए भने एलिशाकुमारी यादव २ रनमा अविजित रहिन् ।

बलिङतर्फ भुटानकी सांगे वाङ्मोले ३ तथा अञ्जुली घली र सोनमले १/१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाउँदा पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन् ।

भुटानको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषाकुमारी उपाध्यायले २र२ विकेट लिइन् । यससँगै भुटानले जारी प्रतियोगितामा लगातार दोस्रो हार भोगेको छ ।

सम्बन्धित समाचार