शनिबार , अषोज २६, २०८१

पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सेल्स मिसन कार्यक्रम

नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्यवसायी सहभागी रहेको कार्यक्रममा सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी रहेका छन् ।

image

काठमाडौं । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटनलाई  पुनरुत्थान गर्न नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा सेल्स मिसन सुरु गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीका अनुसार बोर्डको वार्षिक कार्यक्रमअनुसार विभिन्न मुलुकमा यस्ता कार्यक्रमहरू भइरहेका छन्  र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउनेछ ।

पर्यटन व्यवसायीहरूको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरू सुरु भएको हुँदा यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा बोर्डले राखेको छ ।

बोर्डले नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर अपरेटर्स (नाट्टा)सँग सहकार्य गरी माघ १० गते भारतको वाराणसी (वनारस) र ११ गते गोरखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । साथै माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गर्ने बोर्डले जनाएको छ ।

नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्यवसायी सहभागी रहेको कार्यक्रममा सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी रहेका छन् । त्यसैगरि बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायी पनि सहभागी रहेको जनाइएको छ ।

गोरखपुर तथा वनारसमा आयोजित दुवै कार्यक्रममा भारतीय पक्षले भारतीयहरू नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गरेका छन् । उनीहरूले सीमा हुँदै नेपाल प्रवेश गर्ने गााडिहरूको सहज आवात-जावत हुनुपर्ने बताउँदै पर्यटकका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । गोरखपुरमा आयोजित कार्यक्रममा उत्तर प्रदेश पर्यटनका क्षेत्रीय अधिकृत रवीन्द्र कुमारले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटनलाई चलायमान बनाउने बताए ।

नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मडि्रडमा फितुर समेत सम्पन्न भएको छ । जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको उक्त कार्यक्रमको अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल सबै सिजनको लागि उपयुक्त गन्तव्य रहेको बताउँदै नेपाल भ्रमणमा आउन आग्रह गरिन् । बोर्डका अनुसार बोर्ड र स्पेनस्थित नेपाली दूतावासको सहकार्यमा नेपाल प्रमोसन इभेन्ट पनि सम्पन्न भएको छ ।

सम्बन्धित समाचार