शुक्रबार , अषोज २५, २०८१

इन्धन खपत १८% ले घट्यो: आयल निगम

अघिल्लो महीनाको सोही अवधिसँग तुलना गर्दा जेठमा १४ करोड २८ लाख रुपैयाँ बराबरको पेट्राेल बचत भएको छ । डिजेलमा ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ बचत भएको छ ।

image

काठमाडौं । एक महीनाको अवधिमा ३ अर्ब १९ करोड रुपैयाँको इन्धन बचत भएको छ । नेपाल आयल निगमका अनुसार वैशाखको तुलनामा जेठमा पेट्रोल ८४ लाख लिटर कम विक्री भएको छ । जेठको डिजेल विक्री अघिल्लो महीनाको तुलनामा १ करोड ९९ लाख ४५ हजार लिटरले कम छ ।

अघिल्लो महीनाको सोही अवधिसँग तुलना गर्दा जेठमा १४ करोड २८ लाख रुपैयाँ बराबरको पेट्राेल बचत भएको छ । डिजेलमा ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ बचत भएको छ ।

जेठबाट लागू भएको सार्वजनिक बिदा, स्थानीय तहको चुनाव सकिएका कारण सवारीसाधनको ओहोरदोहोरमा कमी र महँगी चर्किएको भन्दै निर्माण व्यवसायीले ठूला परियोजना निर्माणको काम रोक्दा इन्धन विक्री घटेको नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीको अनुमान छ ।

उनले वैशाखमा स्थानीय तहको निर्वाचन परेकाले धेरै सवारीसाधन चलेका कारण इन्धन खपत बढेको हुन सक्ने अनुमान गरे । जेठमा त्यस्तो क्रम रोकिएकाले खपत घट्न पुगेको उनको अनुमान छ । यता मूल्य चर्किंदै गएपछि सर्वसाधारण उपभोक्ताले समेत इन्धन खपत घटाएको हुन सक्ने अनुमान गरिएको छ ।

पेट्रोलियम पदार्थको खपत कम गर्न निगमले नै सरकारलाई हप्तामा २ दिन बिदा दिन र विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा सरकारले जेठ १ गतेदेखि हप्तामा शनिवार र आइतवार सार्वजनिक बिदा दिन थालेको थियो ।

दुईदिने बिदा प्रभावकारी नभएको भन्दै चर्को आलोचना भएपछि सरकारले उक्त निर्णय खारेज गरिसकेको छ । असार १ गतेदेखि हप्तामा शनिवार १ दिनमात्र बिदा हुनेछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निकै आकाशिएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको १५३ रुपैयाँ छ ।

बुधवारसम्म आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई इन्धन खरीदबापत ३२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार