शुक्रबार , अषोज २५, २०८१

इन्धनकाे मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिनमा विरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिएका छन् ।

image

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्तलगायतका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए। उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताएका छन् ।

रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतामा अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरको आरोप छ। उनीहरुले जनतालाई खान लाउन संकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको संकटको बेलामा अविभावकत्व लिनुपर्ने बताए ।

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनै पनि हिसाबले ठीक नभएको बताएका छन् । सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिनमा विरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिएका छन् ।

निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरुलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरुले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए ।

सरकारले गत आइतबार रातिबाट लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाई इन्धन १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पुर्‍याएको छ ।

सम्बन्धित समाचार