बिहिबार , मंग्सिर ६, २०८१

काठमाडौंका जुँगे महादेव !

वसन्तपुरको नवयोगिनी मन्दिरमा भने शिव र पार्वती दुवैले टाउकोमा मुकुट लगाएका छन् । पार्वतीले केही कपडा लगाएकी छैनन्, शिव भने पार्वतीका स्तनमा हात हालेर बसेका छन् ।

image

विगत सात वर्षदेखि हाम्रो देशका धेरै सम्पदाहरू टेकोको भरमा उभिएका छन् । २०७२ सालको विनाशकारी भूकम्पमा क्षति भएका धेरै मठ, मन्दिरहरूको पुनर्निर्माणको कार्य भइरहेको छ । हनुमान ढोका दरबार क्षेत्र कतै स्वरुपमा फेरिएको छ, कतै नाममा फेरिएको छ, कतै आस्थामा नै फेरिएका कुराहरू पनि आइरहेकै छन् ।

यस्तै लामो समयदेखि बाँसको टेकोले उभिएको छ; वसन्तपुर दरबार क्षेत्रमा भएको ‘नवयोगिनी मन्दिर ।’ यस् मन्दिरलाई शिव पार्वती मन्दिर नामले पनि चिनिन्छ । कारण हो, मन्दिरको दोस्रो तलाबाट बाहिर हेरिरहेका शिव पार्वतीको मूर्ति । कसैले यसलाई जुँगे महादेवको मन्दिर पनि भन्ने गर्छन्, कारण हो दोस्रो तलाको झ्यालदेखि बाहिर हेरिरहेका शिवको अनुहारको जुँगा छ ।

हामीले सामान्य रूपमा वास्तै नगरेको यस् मन्दिरमा यस्ता  धेरै अनौठा चिजहरू छन् ।

पार्वतीसँग मस्तीमा रहेका जुँगे शिव :

हामीले जुँगा भएको शिवको मूर्ति नेपालमै एउटा छ, र त्यो नेपालगन्जको बागेश्वरी मन्दिरमा मात्रै छ भनेर चर्चा गर्छौँ । तर, वसन्तपुरमा भएको उक्त मूर्तिमा पनि शिवको जुँगा छ । एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ ।

नेपालगन्जको बागेश्वरी मन्दिरस्थित जुँगा भएका शिव

यता, वसन्तपुरको नवयोगिनी मन्दिरमा भने शिव र पार्वती दुवैले टाउकोमा मुकुट लगाएका छन् । पार्वतीले केही कपडा लगाएकी छैनन्, शिव भने पार्वतीका स्तनमा हात हालेर बसेका छन् । शिव-पार्वती दुवैको शरीरको रंग सेतो छ ।

भगवान् शिवको एक हजार आठ नामहरू छन् । जुन नामहरू उनका सात वटा रूप (भोलेनाथ, नटराज, अर्धनारीश्वर, कालभैरव, आदियोगी, त्रैयम्बक,..) बाट आएका हुन् । ती मध्य एक सय आठ नाम भने ज्यादा प्रचलित छन् । तिनै नाम मध्य एउटा नाम छ, ‘औगढ’ अर्थात् ‘जो हर समय मस्तीमा हुन्छन् ।’ यो मूर्ति हेर्दा लाग्छ सायद उनी सो समय त्यही मनोवृत्तिमा थिए होला ।

वासुपासाले आफ्नो किताब कान्तिपुरमा लेखेका छन्, “एक समय त्यस डबलीमा अति नै हिस्सी परेका सुन्दरी पञ्चकन्या आएर नाच्ने गर्दा रहेछन्, यहाँसम्म कि पार्वतीभन्दा पनि राम्री रे ! ती पञ्चकन्याको नाच हेर्न महादेव र पार्वती त्यही नवदुर्गा (नवयोगीनी) को नवौँ झ्यालमा बस्दा रहेछन् । एक जना विद्वान् तान्त्रिकले दुई वटा पीठो, पिचामा समयबजी राखी त्यसमा आफ्नो तन्त्र शक्ति प्रयोग गरे । त्यस पिचालाई छुनासाथ छुने मान्छे उसै उभिएर बस्नुपर्ने गराए । महादेव-पार्वतीको ध्यान नाचमै केन्द्रित भएको त्रिकोण मौका छोपी तान्त्रिक सरासर महादेव-पार्वतीकहाँ पुगे । उक्त समयबजी अगाडि राख्दै ‘तपाईँहरू यो समयबजी पनि खाँदै गर्नुस्, नाच पनि हेर्दै गर्नुस्’ भने । पार्वतीले मुस्कुराउँदै तान्त्रिकको हातमा रहेको समयबजीको पिचा लिन मानिनन् र महादेवले पनि आफ्नो स्वरूप देखाई ‘यो रूपमा समयबजी खानुहुन्न’ भने । त्यसपछि महादेव पार्वती दुवै अन्तरध्यान भए ।”

पासाले अगाडि लेखेका छन्, “म तान्त्रिक भनेको त महादेव झनै तान्त्रिक पो रहेछन्’ भनी त्यहाँबाट तल झर्दै ‘अब पञ्चकन्यालाई भए पनि समयबजी दिई उभ्याइराख्छु’ भनी तान्त्रिक ढोकाबाट बाहिर आए । तर, पञ्चकन्या पनि त्यहाँ देखिएनन् । त्यहाँदेखि पञ्चकन्याको नाचै बन्द भयो । महादेव पार्वतीको ती मूर्ति उहाँहरूले पञ्चकन्याको नाच हेर्न आएको सम्झनामा राजा महेन्द्र मल्ल ले स्थापना गरेका हुन् ।” पासाले महेन्द्र मल्ल लेखेको भएता पनि उनको नाम महिन्द्र मल्ल (वि सं १६१७-१६३१) हुनुपर्दछ । ‘प्रजाले नखाएसम्म आफुले नखाने’ भनेर चिनिएका यस राजाले  प्रचलनमा ल्याएको चादीको मुद्रालाई ‘महेन्द्र मल्ली’ भनिने गर्दछ । महिन्द्रको अपभ्रंश हुँदै ‘महेन्द्र’ हुन् पुगेको हुनुपर्दछ । देगु तलेजुको निर्माणमा पनि यी राजाको भूमिका छ ।

pujari rimal  मन्दिरका पुजारी विकास रिमालकी आमा शारदा रिमाल

मन्दिरका पुजारी विकास रिमाल र उनकी आमा शारदा रिमालले बताए अनुसार शिव-पार्वतीको सो मूर्ति श्रीखण्डको काठले बनेको हो । शारदाले बताए अनुसार उक्त मूर्तिको पछाडिको भाग भने समथर छ । बाहिरबाट हेर्दा उनीहरू एकदमै प्रफुल्ल मुद्रामा देखिन्छन् ।

मन्दिर अगाडि द्वारपालको रुपमा दुई ठूला सिंहको मूर्ति देखिन्छ । छानामा तीनवटा सुनौला गजुर छन्, जसमा पुष्पबल्लरी र छत्रसमेत छन् ।

नवदेवी अर्थात् नवयोगिनी

यस मन्दिर भित्र अति नै सुन्दर नवयोगिनीका मूर्तिहरू छन् ।

तन्त्र शास्त्रमा ६४ योगिनीहरूको उल्लेख छ । तीमध्ये मुख्य अष्ट योगिनीहरूको तन्त्रमा विशेष महत्त्व रहेको छ र अष्ट भैरवसँगै तिनीहरूको पूजा गरिन्छ ।

योगिनी भन्नाले सूर्यादि नवग्रहको मातृ स्वरूप हो । यिनको सङ्ख्या आठ वटा हुन्छन् । तिनीहरू यस प्रकार छन्- मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र सङ्कटा । सङ्कटा योगिनीको प्रकृति दुई किसिमको हुन्छ – सङ्कटा र विकटा । यस योगिनीको समयावधि ८ वर्षको हुन्छ, जसमध्ये सुरूको चार वर्ष सङ्कटाका रूपमा र अन्तिम चार वर्ष विकटाका रूपमा यस योगिनीले जातकलाई फल प्रदान गर्छ । प्रत्येक आठ वटा नक्षत्रको अन्तरमा उही योगिनीको पालो दोहोरिन्छ ।

नेपाली ज्योतिषीय परम्परामा योगिनीलाई ग्रहका पत्नीका रूपमा समेत व्याख्या विश्लेषण गरिएको पाइन्छ । उक्त विश्लेषणका आधारमा सूर्यकी पत्नी पिङ्गला, चन्द्रमाकी पत्नी मङ्गला, मङ्गलकी पत्नी भ्रामरी, बुधकी पत्नी भद्रिका, बृहस्पतिकी पत्नी धान्या, शुक्रकी पत्नी सिद्धा, शनिकी पत्नी उल्का तथा राहुकी पत्नी सङ्कटा र केतुकी पत्नी विकटालाई लिने गरिएको पाइन्छ । योगिनीको महादशाको एउटा चक्र ३६ वर्षको हुन्छ । त्यसैले प्रत्येक ३६ वर्षको समयावधिपछि पुनः त्यही योगिनीको महादशा दोहोरिने गर्दछ ।

 बिहानको ९ बजे आसपास पूजाविधि चलिरहेको थियो

सामान्य उमेरसम्म बाँच्ने एउटा मानिसले लगभग ३ पटकसम्म एउटै योगिनीको महादशा भोग्नु पर्ने परिस्थिति पनि आउन सक्छ । योगिनीको गणना नक्षत्रका आधारमा हुने गर्दछ । व्यक्तिको जन्मकालको नक्षत्रका आधारमा उसको सुरुको योगिनी के हो भनी निर्क्योल गरिन्छ । सुरुको योगिनीको समय भुक्तान भएपछि क्रमशः अन्य योगिनीको समय सुरु हुने गर्दछ । जस्तै अश्विनी नक्षत्रमा जन्म लिने जातकले सुरुमा भ्रामरी योगिनीको समय भोग्नु पर्ने हुन्छ । अनि क्रमशः भद्रिका, उल्का, सिद्धा आदिको पालो आउँछ । सुरुमा कुन योगिनीको पालो छ भनेर पत्ता लगाउन जन्म नक्षत्रको सङ्ख्यामा ३ जोडेर ८ ले भाग गर्दा जुन अङ्क शेष आउँछ, त्यसै क्रमको योगिनीको पालो सबैभन्दा पहिले आउँछ । जस्तै ०१ शेष भए मङ्गला, ०२ शेष भए पिङ्गला आदि हुन्छ ।

कमलको फुल र अष्टमातृका

त्यस मन्दिरको डबलीको दायाँ भागमा ढुङ्गाको एउटा सानो मन्दिर छ । त्यसभित्र आठ वटा पात भएको कमलको फूल छ र त्यसको बिच भागमा रहेको योनी मन्त्रलाई भैरव र अन्य आठ पातलाई अष्टमातृकाको रूपमा बुझिन्छ ।

कमलको फूल

‘वृहदस्वस्थानी-व्रतकथा’ पुस्तकको अनुसार, श्री स्वस्थानी देवीको ८ वटा रूप रहेको छ, जसलाई अष्टमातृका भनिन्छ । अष्टमातृका वैष्णवी देवी, महाकाली, चामुण्डा, इन्द्राणी देवी, वाराही देवी, कौमारी, महेश्वरी, ब्राह्मी हुन् । बौद्ध धर्मको ललित विस्तार ग्रन्थमा कमलको फूललाई अष्टमंगल मानिएको छ ।

हिन्दु, जैन तथा बुद्ध धर्ममा अष्टमंगलको विषेश स्थान छ | विषेशत: अष्टमङ्गलयुक्त कलशलाई ‘पूर्ण कलश’ भनिन्छ र यसलाई शुभ साइत र श्रीसम्वृद्धिको प्रतिक मानिएको छ |

परम्परानुसार अष्टमङ्गलका चिन्हहरूमा केही भिन्नता पनि भेटिन्छ । जस्तै, नेपालको परम्परामा रहेको चामरको स्थानमा तिब्बती परम्परामा धर्म चक्रको प्रयोग भएको छ । यस्तै हिन्दु र जैन परम्परामा केही आठ चिन्ह मध्ये केही चिन्हहरू फरक छन् । यी आठ चिन्हहरूको आ-आफ्नै प्रतिकात्मक अर्थहरू छन् । यी चिन्हहरू ध्यान साधनामा र शिक्षणमा प्रयोग हुन्छ ।

बौद्ध परम्परामा अष्टमङ्गल चिन्हहरूको प्रचलन विहारहरू लगायत घरघरमा तथा सार्वजनिक स्थानहरूको कलाकृतिमा समेत देख्न सकिन्छ । भगवान् बुद्धले बोधिवृक्ष मुनि बोधि ज्ञान लाभ भएको दिन देवलोकबाट देवताहरू आई यी आठ चिजहरू (श्रीवत्स, पुण्डरिक, ध्वज, कलश, चमर, मत्स्ययुग्म, छत्र, शङ्ख) दान दिएको मानिन्छ । बौद्ध कलामा अति प्रचलित यी चिन्हहरू आध्यात्मिक तथा भौतिक संवृद्धिको समेत कारकको रूपमा मानिन्छ । तसर्थ, विहार तथा निजी घरहरूको मूल द्वारहरूमा यी चिन्हहरू चित्रकलामा वा काष्ठकला वा धातुकलामा अङ्कित गरिएको पाइन्छ । विशेषतः नव विवाहित दम्पतीको, जङ्को गरेका जेष्ठ व्यक्तिको र अन्य गन्यमान्य व्यक्तिको स्वागत गर्न यी चिन्हहरू अङ्कित गरी द्वार सजाउने प्रचलन बौद्धहरूमा प्रचलित छ । नयाँ घर निर्माण सम्पन्न पछि गरिने गृहारम्भ, गृह प्रतिष्ठा पूजा आदि अवसरहरूमा अष्ट मङ्गल अङ्कित माला बनाइ घरलाई घेर्ने परम्परा पनि अद्यापि चलिआएको छ ।

नेवार बौद्ध परम्परामा प्रत्येक शुभ अवसरहरूमा (विवाह, म्हःपूजा, घर छोडेर कतै बाहिर जाँदा आदि) सगुन दिँदा अष्ट मङ्गल सम्बन्धी ‘स्तोत्र मङ्गलाष्तव’ वाचन गर्ने गरिन्छ । नेपाल बाहेक तिब्बत, भुटान, चीन र मङ्गोलिया आदि देशहरूमा अष्ट मङ्गलको बढी प्रयोग भएको पाइन्छ । तिब्बती परम्परामा यी आठ मङ्गल वस्तुहरू धारण गरेका देवी तासी ल्हामोग्याल अर्थात् अष्टमङ्गल देवीको नामले प्रसिद्ध छ ।

मन्दिर पुनर्निर्माणको चरणमा छ

वासुपासाले लेखे अनुसार त्यसको अगाडि एउटा लामो ढुङ्गामा पाँच वटा योनी मन्त्र स्थापना गरेको देखिन्छ । वास्तवमा ती मन्त्रलाई तान्त्रिक तरिकाले पञ्चकन्याको रूपमा स्थापना गराई दैनिक पूजा चलाउनको निमित्त राजा महिन्द्र मल्लले गुठीसमेत राखिदिएका थिए ।

हातहतियारसहित लस्करै उभिएका सिपाहीहरू 

शिव पार्वतीको मूर्ति भन्दा तल्लो भागमा हातहतियारसहित लस्करै सिपाहीहरू छन् । हतियार लिएर उभिएका सिपाही देखाएर मन्दिर दर्शन गर्न आएका एक स्थानीय भन्छन्, “यो सिपाहीहरू देखेर कहिलेकाहीँ त्यो मूर्ति राजा रानीको पो हो की भन्ने पनि लाग्छ ।  फेरी राजा हुनु भएको भए किन सर्पका माला लगाउनु हुन्थ्यो होला र है ?”

पुजारी रिमाल भने पहिले राजाहरू युद्धमा जानुअघि यही मन्दिरमा देवीको प्रार्थना गर्ने हुनाले यी सिपाहीहरूको मूर्ति बनेको हुन सक्ने बताउँछन् । उनका अनुसार सिपाहीहरूले बोकेका हातहातियार त्यस समयकै हुँदा राजाहरू युद्धमा जानुअघि यहाँ आएर देवीको प्राथना गर्दथे भन्ने पुष्टि हुन्छ ।

 हातहतियारसहित लस्करै उभिएका सिपाहीहरू

पुजारीले हामीलाई उक्त मन्दिरको पहिलो पेटीतिर देखाउँदै ‘सो ठाउँमा शिलालेख छ’ भन्ने जानकारी दिइन् । मन्दिरको पुन: निर्माण भइरहेको छ । वरपर सबै जालीले बारेको छ । जताततै फालिएका काठ र लेउ अनि झारका कारण राम्रोसँग शिलालेख देख्न सकिएन । उक्त शिलालेख राजा लक्ष्मीनरसिंहले वि.सं. १६९८ मा लेख्न लगाएको रहेछन् । बहादुर शाहले उक्त मन्दिरको जीर्णोद्धार गरेको कुरा शिलालेखमा छ भन्ने जानकारी पुजारीले दिए ।

यस मन्दिरको झ्याल पनि अन्यत्रको मन्दिरका झ्यालभन्दा विशेष छ । संस्कृतवीद गौतम बज्रचार्यले मन्दिरको माथिल्लो भागमा टुँडालको ठाउँमा सालमी परेका जस्तो देखिने आँखीझ्याललाई ‘विधिझ्याल’ भनेर उल्लेख गरेका छन्  ।

मूर्तिमा सिपाहीहरू हतियार लिएर उभिए पनि मन्दिरको तोरणमा रहेका तीन वटा मूर्तिहरू भने हराएका छन् । पुजारीका अनुसार ती कहिले हराएका हुन् भन्ने कसैलाई थाहा छैन ।

तोरण चोरी भएको प्रवेशद्वार

अब वसन्तपुर जाँदा भगवान् शिवको अनौठो रूप र नवयोगिनी हेर्न जानुहोला है ! शिव र पार्वतीलाई बाहिरबाटै हेर्दा देखिन्छ । मन्दिर पुनर्निर्माणको काम भर्खर सुरु भएको छ  । बाँसमा ठोक्किएर लडिएला विचार गर्नुस् ल।

नवयोगिनी मन्दिरका भत्किएका झ्यालहरू

सन्दर्भ सामग्री :
कान्तिपुर पुस्तक – वासुपासा
हनुमानढोका राजदरबार’ पुस्तक- गौतम बज्राचार्य
‘योगिनी – एक दृष्टि’ – जितबहादुर मानन्धर
दिव्य सनातन पत्रिका
विकिपिडिया

सम्बन्धित समाचार