काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाइ गरेको हो । नेपाली टिम आज अमेरिका जाँदैछ ।
टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको टोलीले बिदाइ गरेको हो । भ्रमण गर्न लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सफलताको शुभकामना दिए ।
बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृखंला निकै महत्वपूर्ण रहेको बताए । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आफू आशवादी रहेको बताए ।
पहिलो पटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ। शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिकासमेत रहेको छ ।
नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आफू आशावादी रहेको प्रतिक्रिया दिए । उनले, ‘नेपालभित्रको अभ्यासमा हामीले तयारी राम्रो गरेका छौँ । पछिल्ला ५र६ साता टोलीले निकै मिहिनेत गरेको छ । यो बीचमा हामीले आपसमा धेरै खेल पनि खेल्यौँ । अभ्यास थालनी गर्दा हामीले युवा खेलाडीमा केन्द्रीत रहेर अभ्यास थालेका थियौँ। टोलीको प्रदर्शनमा म विश्वस्त पनि छु ।’
लिग–२ शृंखलाअन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन ९ तारिखमा खेल्ने छ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।
आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । १२ खेल खेलेको नेपाल अहिले छैटौँ स्थानमा छ ।