उनी आफै भन्छन्- ‘मैले जुन सोच विचार बोकेर वडाध्यक्ष बनेको थिए, सो अनुरूपको काम गर्न सकेन । मैले सोचेकोमध्ये २५ प्रतिशत मात्रै काम गर्न सकेँ ।’
Photo by: हिमाल दर्पण
काठमाडौं । गत ०७४ मा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट धादिङको बेनीबाट रोराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भए, नन्द प्रसाद तामाङ । विगत डेढ दशकदेखि विकास निर्माणका कार्यहरूमा संलग्न हुँदै आएका उनलाई वडाध्यक्ष बनेपछि अझै धेरै काम गर्न सकिने विश्वास थियो । सो निर्वाचन अघिसम्म कुनै पनि पार्टीसँग नजोडिई विकास निर्माणका साथै विविध सामाजिक गतिविधिमा संलग्न हुँदै आएका उनी चुनाव आउनुभन्दा दुई महिनाअघि नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । वडामा उनी निकै लोकप्रिय थिए । माओवादीले उनलाई टिकट दियो । अन्य आधा दर्जनभन्दा बढी आकांक्षीहरूलाई पछि पार्दै उनले टिकट हात पारे । उनले नेपाली कांग्रेसका जीवनसिं तामाङलाई १६ मतले पराजित गरे । उनी वडाध्यक्ष बने ।
उक्त निर्वाचनमा उनले २९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीवनसिं तामाङले २७६ मत प्राप्त गरेका थिए ।
वडाध्यक्ष बनेपछि उनले अपेक्षा अनुरूपको काम गर्न भने सकेनन् । उनी आफैँ भन्छन्- ‘मैले जुन सोच विचार बोकेर वडाध्यक्ष बनेको थिए, सो अनुरूपको काम गर्न सकेन । मैले सोचेकोमध्ये २५ प्रतिशत मात्रै काम गर्न सकेँ ।’
उनको यो स्वीकारोक्तिबाट बुझ्न सकिन्छ कि उनले त्यहाँका जनताले अपेक्षा गरेको जति काम गर्न सकेनन् । उनको कार्यकालमा वडामा वडा कार्यालय भवन र स्वास्थ्य क्लिनिक भवनको निर्माण, लवाङ (वडाको एउटा गाउँ) मा सडक पुर्याउने बाहेक अन्य देखिने काम भएका छैनन् । यी तीन वटा बाहेक अरू देखिने काम आफ्नो कार्यकालमा नभएको उनले बताए ।
त्यसो त आफू निर्वाचित भएर पनि काम गर्न नसकेकोमा उनी प्रायश्चित पनि गर्छन्, भन्छन्- ‘म वडाध्यक्षमा निर्वाचित हुनु नै यो ठाउँको जनताको लागि धोका थियो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ ।’
आफूले काम गर्न नसक्दा वडाका जनताले विकास र समृद्धिको स्वाद चाख्न नपाएको उनको स्वीकारोक्ति छ ।
तर उनी आफूले गरेको राम्रो कामको पनि मूल्याङ्कन नगरेको भन्दै वडाका बासिन्दासँग गुनासो पनि पोख्छन्- ‘मैले उहाँहरू(वडाका बासिन्दा) ले चाहेको जति काम गर्न सकेन होला, तर गरेको कामको त मूल्याङ्कन हुनुपर्यो नि, त्यो पनि भएन । मलाई दु:ख लागेको छ ।’
उनी आक्रोश पोख्दै भन्छन्- ‘जनता भनेको भेडा नै हो कि जस्तो पनि लाग्छ ।’
उनको कार्यकालको विश्लेषण गरौं:
स्पष्ट ‘भिजन’ थिएन
उनी सामाजिक एवम् विकास निर्माणका कार्यहरूमा सक्रिय हुँदै आएका थिए । तर उनीसँग वडाको विकासको लागि स्पष्ट खाका ‘भिजन’ थिएन । आफ्नो वडाका आवश्यकताहरूको बारेमा जानकार भए पनि तीनको सम्बोधन गर्न उनीसँग स्पष्ट मार्गचित्र थिएन । विकासमा कस्ता पूर्वाधारहरूलाई प्राथमिकतामा राख्ने भन्ने निर्क्योल उनले गर्न सकेनन् । उनी भन्छन्- ‘म वडाध्यक्ष बन्दा जनतालाई यो गर्दिन्छु, त्यो गर्दिन्छु, बाटो बनाइदिन्छु, पानी पुर्याइदिन्छु भनेर बनेकै होइन ।’
उनी आफूले जनतालाई कुनै सपनाहरू नबाँडेको बताउँछन् । उनको यो भनाइबाट नै पुष्टि हुन्छ कि उनीसँग वडाको विकासका लागि योजना थिएनन् । उनी पार्टीको जनमत र त्यसअघि आफूले कमाएको लोकप्रियताको जगमा टेकेर मात्रै निर्वाचित भएका हुन् । अथवा उनीसँग भिजन भएर पनि समाजको लागि लागु गर्न सकेनन् । त्यसैले उनीसँग वडाको विकासका लागि भिजन नभएको जस्तो देखियो ।
‘पार्टीका नेता कार्यकर्ताबाटै असहयोग’
आफ्नै पार्टीका नेता कार्यकर्ताले साथ नदिँदा काम गर्न नसकेको उनी दाबी गर्छन् । तर, वडामा सदस्यहरू पनि सबै माओवादीले नै जितेका थिए । आफ्नो पार्टीले मात्रै जितेको हुनाले उनले आफ्नो पार्टीको भिजन र निर्णय अनुसार काम गर्न सक्थे । यति मात्रै नभएर गाउँपालिका प्रमुख पनि उनकै पार्टी नेकपा माओवादी केन्द्रले जितेको थियो । गाउँपालिका प्रमुख माओवादी केन्द्रकै पित्त बहादुर डल्लाकोटी ‘हरि’ ले जितेको थिए । पालिकामा १० वटामध्ये पाँच वटा वडा माओवादी केन्द्रले नै जित हात पारेको थियो ।
वडादेखि पालिकासम्म आफ्नै पार्टीको सरकार हुँदा पनि काम गर्न नसक्नु र पार्टीका नेता कार्यकर्तालाई दोष दिनु तर्कसंगत देखिँदैन । तर, वडामा उनलाई सहयोग गर्ने क्षमतावान् कार्यकर्ताहरू भने थिएनन् र छैनन् । भएका सहकर्मीहरूसँग पनि उनले सहकार्य गर्दै जान सकेनन् । सबै कार्यकर्ताहरूलाई समेटेर लान सकेनन् । जसका कारण निर्वाचनमा उनलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका बाबुलाल तामाङ, चन्द्रमान तामाङ, चन्द्र थिङ तामाङ लगायतका युवाहरू माओवादी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरे । बाबुलाल तामाङलाई उनको ‘दाहिने हात’ समेत भन्ने गरिएको थियो । बाबुलाल तामाङ अहिले नेपाली कांग्रेसबाट वडा सदस्यको उम्मेदवार बनेका छन् ।
प्रतिपक्षबाट सिर्जनात्मक सहयोग
वडामा उनीसँग पराजित भएका नेपाली कांग्रेसका जीवनसिं तामाङले आफूहरूले वडाध्यक्षलाई सिर्जनात्मक सहयोग गरेको दाबी गरे । उनले वडामा भएका सबै विकास निर्माणका कार्यहरूमा नेपाली कांग्रेसले सिर्जनात्मक सहयोग गरेको र कुनै पनि काममा अवरोध सिर्जना नगरेको बताए ।
आगामी वैशाख ३० हुने निर्वाचनमा वडाध्यक्षको उम्मेदवार समेत रहेका जीवनसिं तामाङले भने- ‘०७४ सालको निर्वाचनमा हामी उहाँ (नन्दप्रसाद तामाङ)सँग थोरै मतले पराजित भयौँ, तैपनि हामी हार मानेनौँ, बरु वडाको विकासका लागि उहाँले गरेका हरेक योजनाहरूमा सिर्जनात्मक सहयोग गर्यौँ’, उनले थप्दै भने, ‘हामी वडाको विकास र समृद्धि चाहन्छौँ, राम्रो कामलाई जसले गरे पनि सहयोग गर्छौँ ।’
अहिले पार्टीबाटै बेवास्ता !
अघिल्लो निर्वाचनमा पार्टीबाट निर्वाचित भएर पाँच वर्ष काम गरिसकेका उनलाई अहिले पार्टीले नै बेवास्ता गरेको बताउँछन् । उनले अपेक्षा अनुरूपको काम गर्न नसकेकै कारण पार्टीले पनि उनलाई बेवास्ता गरेको बताइन्छ । बेनीबाट रोराङमा नेकपा माओवादी केन्द्रको दुई खेमा छन् । यसअघि पालिका प्रमुख निर्वाचित भएका पित्त बहादुर डल्लाकोटी र अर्का नेता कृष्ण प्रसाद थपलिया ‘विवेक’ ले फरक फरक खेमाको नेतृत्व गरेका छन् । नन्द प्रसाद तामाङ डल्लाकोटीसँग नजिक मानिन्छन् ।
वडा नम्बर १ मा थपलिया खेमाको वर्चस्व छ । थपलिया निकट मानिने मिलन लामालाई पार्टीको वडाध्यक्ष बनाएका छन् । अहिले पार्टीले गर्ने गतिविधि एवम् निर्णयहरूमा नन्द प्रसादको खासै ‘खोजी नहुने’ गरेको उनी आफैँ स्विकार्छन् ।
उनी भन्छन्-‘ खाई पार्टीले के-के गर्दैछन् मलाई खासै जानकारी छैन ।’
आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले वडाध्यक्षमा पार्टीका वडाध्यक्ष मिलन लामालाई नै उठाउने निर्णय गरेको छ ।
वडाध्यक्ष नन्द प्रसाद तामाङले आगामी निर्वाचनमा आफ्नै पार्टी माओवादीलाई सहयोग गर्छन् या गर्दैनन्, त्यो भने हेर्न बाँकी छ ।