बुधबार , कार्तिक २८, २०८१

कसैले नदेखेको गाउँ ‘न्याम्जिराङ’ का व्यथाहरू 

कसैले नदेखेको गाउँ भएकाले यस गाउँलाई 'लोन्ली प्लानेट' अर्थात् 'एक्लो ग्रह' समेत भन्ने गरिएको छ ।

image

Photo by: हिमाल दर्पण

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा पर्ने न्याम्जिराङ गाउँ नेपालको सङ्घीय राजधानी काठमाडौंबाट करिब ८० किलोमिटरको दुरीमा अवस्थित छ । महाभारत लेकको काखमा अवस्थित जम्मा १९ घरधुरी रहेको यस गाउँको बारेमा सबै तहका सरकार अनविज्ञ छ । सबैभन्दा तल्लो र नजिकको सरकार वडा सरकारले समेत नदेखेको यस गाउँलाई अन्य तहका सरकारले देख्ने कुरै भएन । कसैले नदेखेको गाउँ भएकाले यस गाउँलाई ‘लोन्ली प्लानेट’ अर्थात् ‘एक्लो ग्रह’ समेत भन्ने गरिएको छ ।

भौगोलिक विकटता र कठिनाइका कारण अन्य गाउँका मानिसहरू न्याम्जिराङमा पुग्दैनन् । पुग्नैपर्ने बाध्यता आइलागेमा मात्रै मानिसहरू यस गाउँमा पुग्दछन् । रोचक कुरा त के छ भने सोही वडाकै अधिकांश बासिन्दालाई पनि न्याम्जिराङको नाम सुने पनि गाउँको अवस्था र त्यहाँको जनजीवनको बारेमा थाहा छैन । यति भनिसकेपछि तपाईँ अनुमान लगाउन सक्नुहुन्छ, न्याम्जिराङका बासिन्दाको जनजीवन कस्तो होला ? त्यहाँका जनताको जीवनशैली र उनीहरूका व्यथाहरू कति होलान् ? न्याम्जिराङ गाउँ र बासिन्दाको दिनचर्याको स्थलगत अवलोकन, उनीहरूसँगको भलाकुसारी र स्थानीय अगुवा एवम् जनप्रतिनिधिहरूसँगको संवादका आधारमा त्यहाँका जनताले भोगिरहेका कठिनाइहरूलाई चित्रण गर्ने कोसिस गरिएको छ ।

खानेपानीको हाहाकार

न्याम्जिराङमा खानेपानीको हाहाकार छ । यहाँका जनताको आधा जिन्दगी खानेपानीको जोहो गर्नमै बित्छ । एक गाग्री पानी ल्याउनका लागि कम्तीमा चार घण्टा लाग्छ । गाउँभन्दा तीन किलोमिटर मुनि रहेको खोलामा पानी बोक्न जानुपर्छ । दुरीका हिसाबले तीन किलोमिटर भएपनि यात्रा गर्न चार घण्टा लाग्छ । कठिन र डरलाग्दो भिरको बाटो तय गर्नुपर्छ । कतिपय ठाउँमा एकले अर्कालाई तान्ने र धकेल्ने गर्नुपर्छ । खुट्टाको बुढी औँला मात्रै टेकेर भार थेग्नुपर्छ । अप्ठ्यारो बाटो भएकाले केटाकेटी, वृद्धरवृद्धा र महिला पानी बोक्न जानै सक्दैनन् । पानी बोक्न प्रायस् पुरुषहरू जान्छन् । काम गर्न सक्नेहरूको आधा दिन एक गाग्री पानी जोहो गर्नमै बित्छ । जसका कारण उनीहरूले अन्य काम गर्न पाउँदैनन् ।

गाई वस्तुलाई हप्तामा दुई पटक मात्रै पानी

पानी जोहो गर्न कठिन भएपछि गाई वस्तुलाई हप्तामा दुई पटक मात्रै पानी खुवाउने गरेका छन् । मानिसले प्रयोग गरेर खेर गएको (हात मुख धुने, तरकारी पखाल्ने, भाँडो माझ्ने) पानी गाई वस्तुलाई खुवाउने गरेका छन् । पर्याप्त पानी नपाउँदा र फोहोर पानी खुवाउँदा वस्तुभाउ बिरामी पर्ने, दुब्लाउने र मर्ने गरेको पीडा स्थानीय बासिन्दाहरू सुनाउँछन् । खेतीपाती र पशुपालन उनीहरूको आम्दानीको प्रमुख स्रोत भएपनि पानीको अभावका कारण उनीहरूलाई ठुलो कठिनाइ परेको छ । बाँच्नका लागि नभई नहुने अत्यावश्यक खानेपानीको जोहो गर्नकै लागि यति ठुलो सङ्घर्ष गरिरहेका न्याम्जिराङ बासीको पीडा कसैले देखेका छैनन् । देखेकाले पनि नदेखेझैँ गरेका छन् ।

गाउँमा धारा छ, पानी आउँदैन

गाउँमा पानी नपुगेको भने होइन । करिब डेढ दशकअघि नै न्याम्जिराङमा पानी पुगेको थियो । स्थानीय सरकार नभएको समयमा स्थानीय हस्त बहादुर तामाङले केन्द्रबाटै खानेपानीको योजना लगेका थिए । उनले न्याम्जिराङ र छिमेकी गाउँहरू लवाङ, च्यात्रा र होवाङमा समेत पानी पुर्‍याएका थिए । उक्त योजनाको पानी अहिले पनि ब्रोम्दिङ, च्यात्रा र लवाङमा भने पुगिरहेको छ । तर, न्याम्जिराङमा भने पुगिरहेको छैन । ७२ सालको भूकम्प अघिसम्म न्याम्जिराङमा पनि पानी पुगिरहेको थियो । भूकम्पका कारण ठाउँमा ठाउँमा पहिरो जाने, पाइप फुट्ने भएपछि लथालिङ्ग बनेको हो । मर्मत गर्न नसक्दा न्याम्जिराङका बासिन्दाले पानीको सास्ती भोग्न बाध्य भएको हो । यसबिचमा खानेपानीलाई व्यवस्थापन गर्नका लागि आवश्यक बजेट व्यवस्था गर्न स्थानीयले माग गरे पनि स्थानीय सरकारले सुनुवाई नगरेको न्याम्जिराङ बासीको गुनासो छ ।

३० मिटरको खोँच पार गर्न ३० मिनेट

न्याम्जिराङ गाउँको बिचमा एउटा गहिरो खोँच छ । खोँचको वारिपारि बस्ती छ । खोँच पार गरेर अर्को टोलमा पुग्न आधा घण्टा लाग्छ । रोचक कुरा के छ भने खोँचको वारिबाट सुर्तीको पाकेट फाल्दा पारी पुग्छ, सलाईको बट्टा फाल्दा पनि वारी(पारी पुग्छ । तर, मानिस पुग्नका लागि भने कम्तीमा आधी घण्टा यात्रा गर्नुपर्दछ । यात्रा गर्न समय त लाग्ने नै भयो, त्यो भन्दा दुस्खको कुरा यात्रा गर्दा ज्यानको बाजी थाप्नुपर्छ । कतै खुट्टाको नङ्ग्राको भरमा त कतै हातको औँलाको भरमा झुन्डिएर हिँड्नुपर्छ । बालबालिका र वृद्धरवृद्धा वयस्कको साथ विना वारपार गर्न सक्दैनन् । हिउँदमा दुई बस्तीका बासिन्दा वारपार गर्न सके पनि वर्षा याममा बाढी आएपछि आवतजावत बन्द हुन्छ । असार साउनमा खहरे बढेपछि एक महिनासम्म आवतजावत बन्द हुने स्थानीयले बताए । करोडौँ रकम खर्चेर गगनचुम्बी पहाडको टुप्पोमा भ्यु टावर बनाउने सरकारले न्याम्जिराङका बासिन्दाले भागिरहेको कठिनाइलाई देखेका छैनन् । न्याम्जिराङको खोँचमा थोरै लगानी गरेर झोलुङ्गे पुल हालिदिने हो भने यहाँको जनताले सहज ढङ्गले आवतजावत गर्न पाउने थियो ।

चुनावमा भोट माग्न पुग्दैनन्, नेता पनि चिन्दैनन्

न्याम्जिराङमा जम्मा १९ घरधुरी छ । जसमध्ये १२ घर वडा नम्बर १ मा पर्दछ भने बाँकी ७ घर वडा नम्बर दुईमा पर्दछ । वडा नम्बर १ का जनप्रतिनिधिहरू चुनाव अगाडि भोट माग्न पुगेपनि वडा नम्बर दुईका उम्मेदवारहरू भने भोट माग्न पनि पुग्दैनन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडा नम्बर दुईका कुनै पनि पार्टीका कुनै पनि उम्मेदवार न्याम्जिराङमा भोट माग्न नपुगेको स्थानीयले बताए । उम्मेदवारहरूले गाउँका अगुवालाई फोनमार्फत भोट माग्ने गरेका छन् । स्थानीयले गाउँका अगुवाले भनेको अनुसार एउटै पार्टीलाई भोट हाल्ने गरेका छन् । भोट हाले पनि कसलाई हालेको भन्ने उनीहरूलाई थाहा हुँदैन । नेता, जनप्रतिनिधि चिन्दैनन् । जनप्रतिनिधि नचिनेपछि दुस्ख, विपत् पर्दा हारगुहार गर्न पनि जाँदैनन् । विकास कसले गर्छ, कसले दिन्छ पत्तो हुँदैन । भौगोलिक कठिनाइका कारण भोट माग्न समेत कोही नपुगेका हुन् ।

तीन कक्षासम्मको पढाई, त्यसपछि गोठालो

न्याम्जिराङमा रहेको लालीगुराँस आधारभूत विद्यालयमा कक्षा तीन सम्मको पढाई हुन्छ । विद्यालयमा ३५ देखि ४० जनासम्म विद्यार्थी हुने गरेका छन् । विद्यालयमा दुई जना शिक्षक छन् । तीन कक्षा सकेपछि अधिकांश बालबालिकाले पढाई छाड्ने गरेका छन् । केही बालबालिकाहरू पाँच कक्षासम्म पढ्नका लागि वडाकै अर्को गाउँ चिम्बाङमा रहेको चिम्बाङ आधारभूत विद्यालयमा पुग्ने गरेका छन् । चिम्बाङ आधारभूत विद्यालयमा पढ्न जाँदा विद्यार्थीहरूले दैनिक साढे दुई घण्टा हिँड्नुपर्छ । बाँदर लड्ने भिरको बाटोमा ज्यान जोखिममा राखेर पढ्न जान बाध्य हुन्छन्, विद्यार्थीहरू । वर्षा याममा पानी पर्ने बित्तिकै पढ्नबाट वञ्चित हुन्छन् । उनीहरू विद्यालय जान सक्दैनन् । चिम्बाङ आधारभूत विद्यालयमा पाँच कक्षा पास गरेपछि आर्थिक क्षमताले सक्ने अभिभावकले बजारमा लगेर पढाउँछन् । आर्थिक कमजोर भएका अभिभावकले पढाउन सक्दैनन् । पढाई राम्रो हुँदाहुँदै पढ्ने रहर हुँदाहुँदै गोठाला बन्न बाध्य हुन्छन् ।

झुटो आश्वासनबाट आजित

अघिल्लो निर्वाचनमा न्याम्जिराङका बासिन्दाले घरघरमा पानीको धारा, झोलुङ्गे पुल र मोटर बाटोको आश्वासन पाएका थिए । तर, निर्वाचन सम्पन्न भएपछि आफूहरूले निर्वाचित गरेका जनप्रतिनिधि पाँच वर्षमा एक पटक पनि गाउँमा पाइला टेक्न पुगेनन् । ७४ को निर्वाचनमा वडामा नेकपा माओवादी केन्द्रका नन्द प्रसाद तामाङ वडाध्यक्षमा निर्वाचित भएको थियो । उनी तीन सदस्य सहित एकलौटी निर्वाचित भएको थियो । निर्वाचन सम्पन्न भएपछि उनी पाँच वर्षको अवधिमा एक पटक पनि न्याम्जिराङ नपुगेको स्थानीय मानवीर तामाङले बताए । घरघरमा धारा, झोलुङ्गे पुल र मोटरबाटो दिन्छु भनेर भोट मागेको जनप्रतिनिधिले निर्वाचित भएपछि गाउँमा पाइला टेक्न नआएपछि उनीहरू हैरान भएका छन्।

प्रतिबद्धता व्यक्त गर्न पुगे नवनिर्वाचित वडाध्यक्ष जीवन सिं तामाङ

यस पटकको निर्वाचनमा भने न्याम्जिराङका बासिन्दाले नेपाली कांग्रेसका जीवन सिं तामाङलाई साथ दिएका छन् । जीवन सिं तामाङ वडाध्यक्ष निर्वाचित भएपछि अन्य सदस्यहरूसहित न्याम्जिराङमा पुगेका छन् । जीवन सिं तामाङले आफूले निर्वाचन अघि गरेका वाचालाई न्याम्जिराङ बासिन्दाका बिच पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालको पहिलो प्राथमिकता नै न्याम्जिराङका बासिन्दाका लागि पानीको व्यवस्था गर्ने रहेको बताएका छन् । न्याम्जिराङमा थुप्रै समस्याहरू रहेको जनाउँदै उनले खानेपानीको व्यवस्थापनपछि स्थानीय बासिन्दाको माग बमोजिम स्रोत र साधनले भ्याएसम्मको सबै काम गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित भए लगतै वडाध्यक्ष जीवन सिं तामाङ सदस्यहरू सहित आफ्नो गाउँमा पुगेपछि स्थानीय आशावादी देखिएका छन् ।

तस्बिरहरू :

सम्बन्धित समाचार