काठमाडौंको नक्सालको नाम कसरी नक्साल रहन गयो होला ? यसको बारेमा त्यहाँका स्थानीय बुढापाकालाई सोध्न जाने हो भने अनेकौं कथा किंवदन्तीहरु सुन्न पाइन्छ ।
काठमाडौंको नक्सालको नाम कसरी नक्साल रहन गयो होला ? यसको बारेमा त्यहाँका स्थानीय बुढापाकालाई सोध्न जाने हो भने अनेकौं कथा किंवदन्तीहरु सुन्न पाइन्छ । तर धेरै कमैले मात्रै भन्छन् कि निलशालाबाट यसको नाम नक्साल रहन गयो भन्ने कुरा ।
नक्साल गैह्रीधारा (भन्सारहिटी)को पर्खालमा एउटा अभिलेख भेटिएको छ । अभिलेख कुँदिएको उक्त शिलापत्रको शिरभागमा एउटा साँढेको चित्र छ भने यसमा संवत् उल्लेख गरिएको छैन । इतिहास शिरोमणि बाबुराम आचार्यले संस्कृति सन्देश र श्रीगुरु पंडितले प्रकाशन गरेको सो अभिलेखले त्यतिबेला जोन्जोन्दिङबाट यसको नाम कसरी नक्साल रह्यो भन्ने उल्लेख छ ।
तत्कालीन नेपालको सीमाभित्र रहेको जोन्जोन्दिङ ग्रामभित्र पर्ने एउटा टोल थियो- निलिशाला । त्यहाँका स्थानीयले धारो निर्माण गरेकाले राजाले उनीहरुलाई केही सुविधा दिएको उल्लेख गरेका छन् । धारामा पानी नसुकोस् भन्नको लागि बग्गी, गाडा, गोरु आदिको आवतजावत पनि रोकिदिएको उल्लेख छ । तत्कालीन राजा अंशुवर्माको नामबाट राखिएको सो अभिलेखमा मिति स्पष्ट उल्लेख नभएको भए पनि यो ई.६१५ तिरको अभिलेख रहेको बताइएको छ ।
उक्त अभिलेखबाट राजा अंशुवर्माको पालामा हाल गहिरिधारा भनिने भेगमा जोन्जोन्दिङ नाम गरेको गाउँ थियो । त्यो गाउँका बासिन्दाले प्रणाली हिटि(कुहिती) बनाएका थिए । सो हितिको पानी नियमितरुपले आइरहोस् भनेर पानी आउने कुलो छोपी कुलोमाथिबाट साँढे गोरुगाढाको आवतजावत रोकिदिने नियम अंशुवर्माले बनाइदिएको कुरा उक्त अभिलेखमा उल्लेख पाइन्छ ।
यो भेगको पुरानो नाम जोन्जोन्दिङको यसपछिका समयमा उल्लेख पाइन्न तर निलिशाला भन्ने भने कायमैरही निलिशालाबाट नक्साल कहलिन पुगेको कुरा जगदिशचन्द्र रेग्मीले काठमाण्डौ शहर सांस्कृतिक अध्ययन भाग १ मा उल्लेख गरेका छन् ।
ब्यानरमा प्रयोग गरिएको तस्वीर नक्साल नजिकैको नन्दीकेशर बहालको हो । गुगलमा भेटिएको यस तस्वीर आकर्षणार्थ राखिएको हो ।(संस्कृति तथा पुरातत्त्व अनुसन्धान केन्द्रबाट साभार)