काठमाडौँ – कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । धेरैले यत्तिकै बस्दा वा कुनै तनाव हुँदा नङ टोक्ने गर्छन् । स्वास्थ्यका दृष्टिकोणले यो बानी राम्रो होइन । यो बानीले दाँत, मुख, छाला र पेटमा समेत अनेकौँ समस्या निम्त्याउँछ ।
धेरै बालबालिकाले नङ टोक्ने बानी बसाएका हुन सक्छन् । नङ टोक्ने बानी भएका बालबालिकाका हातका नङ बिग्रेका हुन्छन् । दाँतले नङको आकार पनि बिगार्छ । नङ वरपरको छाला उप्कन्छ । तर अभिभावकले यसमा सचेत गराउनुपर्ने हुन्छ । नङ टोक्दा रोग प्रतिरोधात्मक क्षमता पनि घट्छ । सानो उमेरका नङ टोक्ने बानी भएका बालबालिकामा ठुलो भएपछि दाँत बिग्रने समस्या हुन्छ । बच्चादेखि नङ टोक्ने बानी भएका कतिपयले किशोरावस्थासम्म पनि नङ टोक्छन् ।
बेफाइदाहरू :
- नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ ।
- नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको सङ्क्रमण हुन्छ । यो सङ्क्रमणले नङ वरपरको छालाको कोषिकामा असर गर्छ ।
- नङ टोक्ने मानिसको नङको स्वरूप फेरिन सक्छ । नङ बाङ्गिने हुन सक्छ ।
- नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उप्किरहन्छ । जसले गर्दा रक्तस्राव हुन्छ ।
- नङबाट निस्कने फोहोरले दाँतलाई पनि कमजोर बनाउँछ । धेरै नङ टोक्ने बानी भएकाहरूमा मुख बन्द गर्दा तल र माथिका दाँत एकसाथ ल्याउने समस्या देखिन्छ ।
- अत्यधिक नङ टोक्नेहरूमा पेपिलोमा भाइरस अथवा एचपीभीका कारण सङ्क्रमण फैलिने डर बढी हुन्छ, जसले गर्दा नङ र मुखमा गाँठा बन्छन् ।
- धेरै नङ टोक्नेहरूमा श्वास गन्हाउने समस्या पनि हुन्छ ।
- नङ पोलिस लगाउनेहरूको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश भएर विभिन्न समस्या आउन सक्छन् ।
- हैजा–पखालाजस्ता सङ्क्रमण फैल्याउने इकोलाइ भाइरस नङबाट सर्नसक्ने सम्भावना हुन्छ ।