बुधबार , कार्तिक २८, २०८१

घुम्न जाऊ, घुम्न जाऊ, घुम्न नगरकोट !

image

Photo by: Google

हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अपनाउँछन् । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मद्दत गर्छ । बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।

यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा नगरकोटलाई लिन सकिन्छ । काठमाडौं उपत्यकाबाट थोरै दुरीमा रहेको पर्यटकीय स्थल नगरकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । काठमाडौंबाट करिब ३२ किलोमिटर उत्तर-पूर्वमा रहेको नगरकोट भक्तपुरबाट २० किलोमिटर पूर्वमा अवस्थित छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको यो ठाउँमा गर्मी मौसममा पनि चिसो वातावरणको आनन्द लिन सकिन्छ । काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाँधमा रहेको नगरकोट चाँगुनारायण नगरपालिकामा पर्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउँबाट मौसम सफा भएको बेला उत्तरका मनमोहक हिमालय र सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ । नगरकोटबाट धौलागिरि हिमशृङ्खला, कञ्चनजङ्घा हिमशृङ्खला, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल समेत हेर्न सकिन्छ । बिहान उठ्ने बित्तिकै हासीरहेका हिमालहरूले पर्यटकहरूको मन गदगद बनाउँछ । साथै काठमाडौंको गर्मी छल्न र शीतल मौसम भएको वातावरणमा घुम्न पाउँदा शरीरमा एउटा बेग्लै किसिमको रोमाञ्चकता महसुस हुन्छ ।

खानपिन र बसोबासका लागि सामान्यदेखि स्तरीय होटेल तथा रिसोर्टहरूको समेत सुविधा भएको नगरकोट कमल विनायकबाट सार्वजनिक यातायात चढेर पनि पुग्न सकिन्छ ।

चारै तिरबाट वन तथा जङ्गलले घेरिएको यो सुन्दर ठाउँलाई अधिकांशले आफ्नो घुम्न पर्ने ठाउँको सुचीमा राख्ने गरेका छन् । व्यस्त तथा कोलाहलपूर्ण जीवनलाई एकैछिन् विश्राम दिन नगरकोट पुग्न सकिन्छ । बिहान डाँडामा पुगेर हिमालको काखबाट जन्मँदै गरेको सुनौलो सूर्यलाई हेर्दा संसारका सारा पिडाहरू भुलिन्छ ।

नगरकोट पुगेर महादेव कुण्ड, महाँकाल मन्दिर, काली देवी मन्दिर, जालपादेवी मन्दिर, गीता मन्दिर आदिको अवलोकन तथा दर्शन समेत गर्न सकिन्छ ।

नगरकोट नामकरण पछाडिका केही कथा

प्राचीन समयमा सो ठाउँमा एक जना मानिसले कुनै काम गर्न खोज्दा आफूले लगाएको कोट फुकालेर राखेका थिए । तर केही अन्य मान्छेहरूले सो कोट हेरिरहेकाले उनले ‘नचला कोट’ भन्दै आफ्नो काम थालेका थिए । त्यही मानिसले नचलाकोट भनेका आधारबाट नगरकोट नाम रहन गएको भन्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । कालान्तरमा गएर नचलाकोटबाट अपभ्रंश भएर नगरकोट भएको भन्ने बुझिन्छ ।

त्यसैगरि नेपालको पश्चिम भागमा तामाङ,मगर बस्ती रहेको डाँडाको अति चुच्चो भागलाई कोट भन्ने चलन छ । यो ठाउँमा पनि तामाङको बसोबास रहेकाले र नगर क्षेत्रबाट अग्लो ठाउँमा रहेका कारणलाई नगरकोट भन्ने गरेको पाइन्छ । नगरकोट दुई भिन्न शब्दहरू मिलेर नगरकोट शब्द बनेको हो । त्यस शब्दलाई टुक्र्याएर हेर्दा नगरको अर्थ सहर र कोटको अथ अग्लो भाग भन्ने बुझिन्छ ।

अर्को जन श्रुति अनुसार १८०१मा नगरकोट विजय पश्चात् नगरकोटको नियन्त्रण पृथ्वीनारायण शाहले भक्तपुरका राजा (उनका मित बा)लाई सुम्पिए । पछि नगरकोटलाई कोतको रूपमा विकास गरिएको र नगरको कोतका रूपमा रहेकोले नगरकोट नाम रहेको भन्ने कथन समेत रहेको छ ।

सम्बन्धित समाचार