काठमाडौं । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् । भारतका प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले पनि पूजाअर्चना गरेका हुन् ।
दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए । भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गरे ।
दुबै देशका प्रधानमन्त्रीहरुले अशोकस्तम्भ नजिकै रहेको वोधी वृक्षमा जलसिञ्चन पनि गरेका थिए ।
आजै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँस्थित अन्तरराष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय वौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण गरे ।