सोमबार , भाद्र ३१, २०८१

मिथिलाको रंग ‘मिथिला चित्र’

'मिथिला चित्रकोको सुरुवात राजा जनकका पुर्खाले गरेका थिए । उक्त चित्रलाई पछि राजा जनकले परिष्कृत गरी विकास गर्न लगाए ।

image

चित्रहरू समय, परिवेश, कालखण्ड र भावनाको प्रदर्शित रूप हुन् । भावनामा अभिव्यक्त गर्न नसकिने अनेक परिस्थितिलाई कलात्मकरूपमा उतार्नु नै चित्र हो, यो मेरो बुझाइ हो । चित्रका सम्बन्धमा चित्रकार र विज्ञहरूको आ-आफ्नै तर्क र मत छ र रहन्छ नै ।

चित्रहरूले जीवन, जगतलाई उतार्दछन् । चित्रको इतिहास यही हो र यो मितिबाट सुरु भयो भन्न सक्ने अवस्था भने देखिँदैन । यसका परिष्कृत स्वरूप र चित्रको अवधारणाको कालखण्ड भने फरक अवश्य नै रहन्छ ।

समाज, संस्कृति, क्षेत्र, धर्म, विचार, प्रयोग जस्ता विभिन्न पक्षका आधारमा चित्रहरूको स्वरूप र प्रकृति फरक हुन्छन् । नेपालमा पनि विभिन्न धर्म, आस्था, समाज, संस्कृति, परिवेश , विचार अनुसार फरकफरक चित्रहरू देख्न सकिन्छ । ती फरक फरक चित्रहरूमध्येकै एक प्रचलित चित्र हो-  मिथिला चित्र ।

के हो त मिथिला चित्र?

मिथिला चित्र के हो भन्नू भन्दा पहिला मिथिला बुझौँ । मिथिला एक राज्य हो । भारत वर्षको समयमा, सत्ययुग वा राम राज्यको समयमा भारत वर्षमा रहेको एक सबल र शक्तिशाली राज्य हो- मिथिला । मिथिला राज्यको सिमाना कहाँसम्म थियो भन्ने यकिन तथ्य नभए पनि मिथिला क्षेत्रबारेका जानकारहरूका अनुसार मिथिला राज्यको सिमाना उत्तरतर्फ हालको नेपालको सिन्धुली र दक्षिणतर्फ हालको भारतको गङ्गा तटसम्म रहेको थियो । यसलाई यसरी पनि भन्न सकिन्छ, “१८१६ को सुगौली सन्धिमा मिथिला दुई भागमा बाँडियो । तर, मिथिलाको राजधानी रहेको जनकपुर पनि वर्तमान नेपाल सरहदभित्र नै रह्यो । यही मिथिला राज्यमा भएका विभिन्न पर्व, अवस्था र इतिहासलाई रङ्गहरूले सजाई रेखाचित्र जस्तो स्वरूपमा घर, पर्खाल, मन्दिर, सार्वजनिक स्थलका भित्ताहरूमा कोरिने चित्रहरू नै मिथिला चित्र हुन् । तर, यहीँबाट टुक्रिएर गएको राज्य बिहारमा भने मिथिला चित्रकलालाई ‘मधुवनी चित्रकला’ भनेर बोलाउने गरिन्छ ।

नेपालमा मिथिला चित्रको लागि प्रख्यात क्षेत्र जनकपुरधाम, धनुषा, महोत्तरी र सो आसपासका जिल्लाहरू हुन् । मिथिला चित्र विकसित हुँदै जाँदा मिथिला क्षेत्रमा रहेका देवीदेवता, राजा-महाराजा, परम्परा, दैनिक जीवन, राजनैतिक, आर्थिक एवम् सामाजिक मनोभावनालाई  चित्रमा उतार्ने प्रयास बढ्दै गएको पाइन्छ । घर, पर्खाल, भित्ताहरूमा चित्र बनाउँदा उक्त ठाउँको शृङ्गार हुने, ठाउँ राम्रो देखिनुका साथै फरक पहिचान पनि बोक्ने भएकाले मिथिलाका शासकहरूले मिथिला चित्रको विकास गराएका हुन् ।

मिथिला चित्रका जानकार तथा जानकी मन्दिरका पुराना कर्मचारी सुधाकान्त झाका अनुसार, ‘मिथिला चित्रकोको सुरुवात राजा जनकका पुर्खाले गरेका थिए । उक्त चित्रलाई पछि राजा जनकले परिष्कृत गरी विकास गर्न लगाए । मिथिला चित्रको सुरुवात हुँदा तत्कालीन समयमा माटोको घरहरू हुन्थे, ती घरका  भित्ताहरूमा माटोको गाह्रो अग्लो बनाए चित्रको स्वरूप दिइने गरिन्थ्यो । यसरी माटोको गाह्रोले बनाएको चित्र प्रस्ट नदेखिने र नबुझिने भएपछि उक्त चित्रलाई प्रस्ट बुझिने बनाउनका लागि रङ्गको प्रयोग गर्न थालियो ।’

मिथिला चित्रमा रङका लागि गोबरको प्रयोग

मिथिला चित्र घरका भित्तामा प्रस्ट देखिने बनाउनका लागि रङ्गको प्रयोग गर्ने प्रचलन त चलाइयो तर, तत्कालीन समयमा अहिले जस्तो विभिन्न रङ्गहरू नपाइने हुँदा रङ्गको अभाव मेट्नको लागि गोबर, रातो माटो, कालो माटो, सेतो माटो एवम् विभिन्न बिरुवाको पातको रस ( झोल) हरूको प्रयोग गर्न थालियो । यसरी माटो , गोबर र पातको रस प्रयोग गर्दा घरका भित्ताहरू कलात्मक र आकर्षक देखिन थाले, त्यसपछि सबै परिवार र समाजले आफ्नो घर, घर वरपरका पर्खाल, मठ मन्दिर शृङ्गार गर्न मिथिला चित्र बनाउन थाले ।

घरमा यसरी बनाइएका चित्रमा देवी देउता, राजा रानी,महाराज, समाज, जनावर अन्य प्राणीहरूको चित्र समावेश हुन थाल्यो र सो कुराले हालसम्म पनि निरन्तरता पाइरहेको देख्न सकिन्छ ।

 

मिथिला चित्र कोर्ने महिला र कोरिने समय चाड पर्व:

मिथिला चित्र बनाउने काम महिला र पुरुष दुवैले गर्दछन् । तर कतिपय जानकारहरूका अनुसार, तत्कालीन समयमा मिथिला चित्र महिलाहरूले मात्र कोर्दथे । विशेषगरी घरकी छोरीले सो चित्र कोर्नु पर्ने मान्यता थियो । छोरी नभए बुहारी र बुहारी नभए घरकी महिलाले उक्त चित्र कोर्नुपर्थ्यो । विवाहपञ्चमी, रामनवमी, छठ जस्ता पर्व साथै, घर र समाजमा हुने विभिन्न पर्व, कार्यक्रम, पूजाआजा, बिहे व्रतबन्धमा मिथिला चित्र कोर्नु अनिवार्य जस्तै भयो, जो कुरा हाल पनि लागू छ । यसरी मिथिला चित्र कोर्नु अघि सो चित्र कोर्न आवश्यक पर्ने सामाग्री भने घरका पुरुषहरूले जम्मा गरिदिनु पर्ने नियम चल्तीमा रहेको थियो । अहिले यस परिपाटीमा परिवर्तन आउँदै गरेको महसुस हुन्छ ।

शताब्दीऔँ अघि घर-आँगन सुन्दर र आकर्षक बनाउन भुइँ र भित्तामा पोतिएका चित्रले आजको आधुनिक समाजमा महिला स्वतन्त्रतालाई पनि बल पुर्‍याएको छ। आत्मसम्मान दिएको छ, आर्थिक रूपले बलियो बनाएको छ । महिला अभिव्यक्तिलाई समाजसामू प्रकट गरेको छ ।

तस्बीर : साहित्यपोस्ट

इतिहासदेखि सामायिक चेतनासम्म अट्ने मिथिला चित्र:

मिथिला चित्रहरूमा तत्कालीन समयको समाज, समय, परिवेश ,परिस्थिति, सामाजिक आर्थिक अवस्था, संस्कृति जस्ता थुप्रै पक्ष कोरिन्छन् । जस्तै : तत्कालीन समयको बिहे, पूजा आज, खेलकुद, आर्थिक क्रियाकलाप, समाज जस्ता अनेक पक्ष झल्काउने चित्र । उदाहरणका लागि, इनारबाट पानी तान्दै गरेकी महिलाको चित्र, बिहेमा डोली बोकिरहेका मान्छेहरूको चित्र आदि ।

यसरी मिथिला राज्यको विभिन्न समय कालखण्ड, परिवेश, अवस्था, इतिहास , धार्मिक जनविश्वास  जस्ता पक्ष कोरिँदै आएको मिथिला चित्रमा हाल सामाजिक चेतना र समकालीन समाज पनि कोरिन थालिएको छ । मधेस प्रदेशको ‘बेटी पढाओ, बेटी बचाओ’ कार्यक्रम होस या रेल चढ्दा रेलमा गर्नु पर्ने व्यवहारका कुरा हुन् । या ट्राफिक नियम मान्नु पर्ने सन्देश होस् वा  कोरोना बाट बच्न अपनाउनु पर्ने विधि होस्; यी र यस्ता  थुप्रै पक्षलाई मिथिला चित्रले समेट्ने गरेको छ ।

मिथिला चित्रको एक अद्भुत पक्ष के हो भने यसमा प्रयोग गरिने अधिकांश चित्रको अनुहारको एक भाग मात्र देखाइन्छ । अनुहारको पुरै भाग देखिने गरी कोरिएका चित्रहरू कम मात्रामा हुन्छन् ।

मिथिला चित्रको स्वरूप ‘मेहेँदी’

मेहेँदी (मेहन्दी) भारत र नेपालमा प्रचलित नाम हो । शृङ्गारका लागि प्रयोग गरिने विभिन्न साधनहरू विकास मिथिला क्षेत्रबाट भएको हो भन्ने अनुमानहरू प्रचलित छन् । मेहेँदी महिलाहरूले हात र खुट्टामा लगाउने खैरो रङ्ग हो, जसलाई विभिन्न आकृतिको रूप दिइएको हुन्छ ।

तत्कालीन समयमा महिलाहरूले माटो र बालुवामा बढी खटिनु पर्ने हुँदा माटो र बालुवाले हात र खुट्टाको छाला खाने घाउ बनाउने हुँदा उपचार पनि हुने, सज्जा पनि हुने हिसाबले जडीबुटीको रङ्ग वा झोल हात खुट्टामा लगाउन थालिएको हो ।  हात र खुट्टामा औषधिका लागि प्रयोग गरिएको रङ्गले हात खुट्टा सुन्दर देखाउन थालेपछि, सो रङ्गलाई विभिन्न आकृति दिँदै प्रयोग गरिन थालियो । मेहेँदीको अर्थ एक प्रकारको औषधि भन्ने हुन्छ । त्यही मेहेँदी अपभ्रंश हुँदै र दक्षिण भारततिरबाट आएको शब्दसँग मिल्दा मेहेन्दी बन्न पुग्यो।

यसप्रकार, औषधिबाट शृङ्गारको साधनको रूपमा पुगेको मेहेँदी विस्तारै  महिलाले पूजापाठ, चाडपर्वको समयमा लगाउन थाले । पति तथा सन्तानको आयु बढाउन तथा सौभाग्यको प्रतीकको रूपमा मिथिला क्षेत्रमा मेहेँदी/मेहेन्दी विकास भयो ।

मिथिला कला बनाउँदै मधुमाला मण्डल, तस्बीर : हिमाल खबर

मिथिला चित्र विशेष गरी तत्कालीन मिथिला राज्यको राजधानीमा बढी प्रचलित थियो र, हालसम्म पनि कायम छ । मिथिला क्षेत्रको तत्कालीन  इतिहास, समाज, संस्कृति, परिवेश, आर्थिक सामाजिक क्रियाकलाप बुझाउन, समायिक चेतना वृद्धि गर्न प्रयोग गरिँदै आएको मिथिला चित्रले मधेशको जीवनलाई हुबहु हाम्रोसामू राख्ने गर्दछ । अत: मिथिला संस्कृतिको उत्थान गर्दै र यस् सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुमा सबैको भलो हुनेछ ।

(स्रोत खुलाइएको बाहेकका तस्बीर केआर पाण्डुलिपिले खिचेका हुन् ।)


यो पनि पढ्नुहोस्;

नेपालमा रेल्वे : संरक्षणको पर्खाइमा पुरानो रेलको इन्जिन

जनकपुरधामको महिमा

 

सम्बन्धित समाचार