काठमाडौं । कास्कीका विभिन्न स्थानमा माइकिङ मार्फत चुनावी प्रचार गर्नेलाई कारबाही गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको जिल्ला आचारसंहिता अनुगमन समितिले मङ्गलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ।
उम्मेदवारहरूले आचारसंहिता विपरीतका कार्य गरेको जनगुनासोपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको जिल्ला आचारसंहिता अनुगमन समितिबाट पोखरा महानगरका विभिन्न वडामा अनुगमन गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पुष्टि भएको हो।
जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य–सचिव हुमनाथ पराजुलीको नेतृत्वमा पोखराका वडा नं १, २, ३, ६, ७, ८, ९ र १० मा अनुगमन गर्दा माइक बरामद गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए।
उनका अनुसार निर्वाचन आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न आमसभा र कोणसभा गर्न अनुमति प्राप्त स्थानमा बाहेक सवारी साधन वा अन्य कुनै स्थानमा राजनीतिक दल, स्वतन्त्र उम्मेदवार वा व्यक्तिले माइक प्रयोग गर्न पाउँदैनन्।
राजनीतिक दल तथा उम्मेदवारहरूबाट पुनः लाउड स्पिकर प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत जनाएको छ।