काठमाडौं । भौगोलिकरूपमा विकट म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो ।
धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो । १०० भन्दा बढी मतदाता भएको उक्त गाउँबाट विसं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए ।
घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन नसक्ने समस्या छ । साथै, ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिक, पशु गोठमा बस्ने गोठालालाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । जिल्लाकै जोखिमयुक्त नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ ।
एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड अनुसार बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको माग पुरा हुन सकेको छैन ।