स्थानीयले चाड आउनु केही समय अगाडी भदौ देखि नै माटाे खन्न थाल्छन् ।
काठमाडौँ। पाँचथर फिदिम–४ चारखम्बे क्षेत्रमा दायाँबायाँ केही भिरालो र पारिलो जमिनमा कोही माटो खन्दै छन् । कोही चाल्न, बोरामा हाल्न र प्याक गरेर राजमार्गमा बोक्न व्यस्त छन् । यसरी निकालिएको रातो माटो ताप्लेजुङ र तेह्रथुमका ग्रामीण बस्तीका ग्राहकलाई बेच्न व्यवसायी राजमार्गमा लामबद्ध बसेका छन् ।
बाटोका भित्तामा छपक्क मिलाएर राखेका बोराको माटो किन्ने ग्राहक र बेच्नेको व्यस्तता अचेल झनै बढेको छ । ‘फिदिम आसपासको रातो माटोले लिपेका घर उज्याला र चम्किला देखिने भएकाले बर्सेनि दसैंमा यहींबाट उठाउँछौं,’ स्थानीय व्यवसायी भन्छन् ।
छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका ग्राहक माटो किन्न आइपुग्ने भएकाले चाडबाड नजिकिँदै जाँदा स्थानीयको दौडधुप पनि बढेको हुन्छ । व्यवसायीहरूले अर्डर अनुसार गाडीमा लोड गरेर समेत माटो पठाउने गर्छन् । पछिल्लो समय बस्तीबस्तीमा मोटरबाटो पुगे पछि ढुवानी गर्न सहज भएसँगै यहाँको माटोको बजार बढेको छ ।
एक व्यवसायी भन्छिन्, सिजनमा यहाँबाट दैनिक पाँच हजार बोरासम्म माटो बिक्री हुन्छ । यहाँको माटो प्रति बोरा एक सय रुपैंयाँका दरले बिक्री हुन्छ । यही माटो ग्रामीण बजारमा ग्राहकले १ सय ६० रुपैंयाँसम्ममा किन्नुपर्छ । थोकमा खरिद गर्न आउनेहरूले यहाँबाट प्रतिबोरा ८० रुपैयाँका दरले लैजान्छन् ।
प्रायः दसैं एवं तिहारमा लिपपोतमा चाहिने रातोमाटो बेचेर यहाँका स्थानीयको घर चलेको छ । चारखम्बे क्षेत्रका एक दर्जन परिवारले व्यावसायिक रूपमै माटो खनेर बेच्छन् । यो काममा ३० जनाले रोजगारी पनि पाएका छन् ।
स्थानीयले चाड आउनु केही समय अगाडी भदौ देखि नै माटाे खन्न थाल्छन् । खन्न सुरु गरिए लगत्तै फाटफुट ग्राहक आए पनि सोह्रश्राद्ध र नवरात्रिमा ठूलो परिमाणमा बिक्री हुने यो व्यवसायमा संलग्नहरू बताउँछन् । माटो खनेर बेच्न स्थानीयले यहाँको जग्गा नै भाडामा लिएका छन् । सिजनमा यहाँबाट दैनिक १० गाडीसम्म माटो निर्यात हुन्छ ।