चारैतिर दन्त लहरझैँ फैलिएका हिमश्रृखंला, अग्ला पहाड, नदी खोला, मनमोहक झरना, लोठ सल्ला र धुपीको जङ्गल तथा बौद्धमार्गीहरूको संस्कृतिको धनी मनाङ जिल्ला अत्यन्त मनमोहक प्रकृतिले भरिपूर्ण छ ।
लमजुङको स्याँगे गाउँमा रहेको सुन्दर स्याँगे झरनाको दृश्यावलोकन गरेर बाटो लाग्दा बिहानको आठ बज्न लागेको थियो । बाटोमा पर्ने जगत, च्याम्चे हुँदै लमजुङ जिल्ला र मनाङ जिल्लाको सीमामा रहेको म्यार्दी खोला कटेर माथि लागे पछि मनाङमा पर्ने ताल गाउँको दृश्यले यति मोहित बनायो कि त्यहाँ बसेर सुख्खा वनभोज गर्ने योजना बन्यो । बोकेका खानेकुरा र झोल पदार्थहरू खोलियो र तालको दृश्यावलोकन गर्दै रमाइलो गरियो । तालबाट मर्स्याङ्दी नदीको तिर पछ्याउँदै बनेको साँघुरो सडक भएर नाचे, धारापानी, ओडारगाउँ, बगरछाप, दानाक्यू, तानचोक, कोटो हुँदै तथा बाटामा पर्ने मनमोहक बुङ, अक्टोपस, तिमाङ झरनाहरू, नाचेको अग्लो झोलुङ्गे पुल, दुधखोला र मर्स्याङ्दीको सङ्गमबाट लार्केपास जाने बाटो तथा मानस्लु हिमशृङ्खलाको दृश्यावलोकन गर्दै मध्यान्हको करिब १२ बजे चामे पुगियो ।
मैले साथीहरूलाई भनेँ, “तालदेखि चामेसम्मको भूभागलाई तल्लो मनाङ तथा चामेभन्दा माथि लागेपछिको भूभागलाई उपल्लो मनाङ भनिन्छ । मनाङको अर्को लुकेको भाग पनि छ जसलाई नारफु भनिन्छ, जहाँ जान कोटोबाट दाहिने लागि मर्स्याङ्दी नदी तरेर नार खोला पछ्याउनु पर्ने हुन्छ ।” चामेमा खाना खाएर अगाडि बढ्ने सल्लाह बमोजिम होटेल खोज्न थालियो । कोरोनाको बेला बल्लबल्ल एकजना होटेल साहुनीले खाना पकाइदिने भइन् । होटेल साहुनीलाई भनेँ, “बरु समय लागोस् । केही छैन । तर मनाङ आएर जैविक स्थानीय खाना खानुपर्छ है बहिनी । बरु जैविक झोलझाल के के छ ल्याउनुस् । खाना तयार नभइन्जेल खाँदै गरौँ ।”
खाना खाईवरी होटेलबाट निस्कँदा दिउँसोको डेढ बजिसकेको थियो । हामी चामेबाट अगाडि बढ्यौँ । चामे बजार छाडेर उपल्लो मनाङ लाग्दा मर्स्याङ्दी नदी पुलको मुखैमा लेक लाग्ने कारण र बच्ने उपाय बारेको प्रचार सामाग्री टाँसेको पाइयो । एकछिन लेक लाग्नेबारे गफ गरियो । बाटोमा पर्ने दक्षिण एसियामै सबैभन्दा ठूलो मनाङको भ्राताङस्थित एग्रो मनाङ प्रालिको स्याउ फार्म देखियो ,जसको लगत्तै डरलाग्दो पहाड काटेर बनाइएको साँघुरो सडक पार गरेपछि स्वर्गद्वारी पहाड देखियो । नजिकै सुन्दर सानो बस्ती ढुकुरपोखरी भेटियो । अघि बढ्दा लोठ सल्लाको विशाल जङ्गल, सुन्दर पिसाङ ताल, पिसाङ पिक, चुली ईस्ट, तल्लो पिसाङ आदि देखिए ।
भेटिएका हरेक दृश्य यति मनमोहक थिए कि गाडीबाट ओर्लेर आँखा अघाइन्जेल नहेरी र तस्बिर नखिची अगाडि बढ्न मनले मान्दैनथ्यो । “यहाँबाट माथिल्लो बाटो हिँडेर तल्लो पिसाङ, माथिल्लो पिसाङ, घ्यारु, ङावल हुँदै मनाङको तल्लो गाउँ भ्राका निस्कन सकिन्छ । नारबाट काङला पास पार गरेर पनि आइपुगिने ठाउँ ङावल हो,” ढुकुरपोखरी पछिको विशाल चौरमा उभिएर मैले साथीहरूलाई भनेँ । मनाङको एयरपोर्ट हुम्डे पुग्नु पहिलेको थुम्कोबाट घाम डुब्ने बेलाको उपल्लो मनाङ उपत्यका गजब सुन्दर देखिन्थ्यो ।
प्रकृतिको वक्षस्थलमा लुटपुटिँदै र स्थानीय खाना तथा त्यसको सुवासमा लठ्ठ पर्दै गर्दा समय बितेको पत्तै भएनछ । हामी पुग्दा उज्यालोमा नै पुग्ने अनुमान विपरीत भ्राका र मनाङ गाउँ अँध्यारोमा डुबिसकेका थिए । मङ्सिरको चिसो महिना तथा कोभिडको कहरको डरले होला मनाङ गाउँ चकमन्न थियो । बडेमानको ढुङ्गे गेट भन्दा उता गाडी जाने रहेनछ । साथीहरूलाई गाडी मै बस्न भनेर म सोधपुछ गर्न अगाडि बढेँ । त्यो बडेमानको ढुङ्गे गेट भन्दा २००-३०० मिटर पहिले नै सडक छेउमा गाडी रोक्ने ठाउँ बनाइएको रहेछ । सूचना त प्राप्त भयो तर बस्ने ठाउँको टुङ्गो लागेको छैन । कोभिडका कारण हरेक होटेल बन्द रहेछन् । सोधखोज गर्दै जाँदा करिब ५०० मिटरको दूरीमा एउटा होटेलका साहुजीले खान र बास बस्न दिने भए ।
त्यो सबै व्यवस्थापन गर्न हतारको हिँडाइले होला छाती अलि गह्रुङ्गो र हिँड्न गाह्रो हुने भइरहेको थियो । आदिकवि भानुभक्त आचार्यले, “मान माथि भुक्तमान थपिदिया कहिल्यै नघट्ने गरी” भने झैँ होटेलमा होटेलका स्टाफ नभएका कारण करिब ७००-८०० मिटरसम्म आफै लगेज बोकेर जानुपर्ने भयो । होटेलमा पुगेर हलमा पुगेर तातो पानी खाए पनि सहज अनुभव भइराखेको थिएन । हाईअल्टिच्युड नलागोस् भन्नका लागि बेशीशहरमा किनेको औषधीको याद आयो । एक ट्याब्लेट निकालेर खाएँ । तातो पानी निकै खाँदा पनि अझै गाह्रो महसुस भइराखेको थियो ।
एकजना साथी माथ्लो तल्लामा रहेको बेडरुममा सुत्न जान्छु भनेर उठ्न खोजें । मैले अहिले नगएर मजाले तातो पानी खाएर तथा त्यहाँको तातो वातावरणमा बसेर पछि मात्र माथि जाने भन्दा भन्दै उनी हिँडिसकेका थिए । उनी ढोकामा नपुग्दै अचेत भएर लडे । सबै मिलेर भित्र ल्याएर हलमा रहेको बेन्चमा सुतायौँ । उनको जुत्ता मोजा निकालेर तेल लगाइ पैताला रगड्ने काम गरियो । उनका पैताला निकै चिसा भएका थिए ।
झटपट लेक नलाग्ने औषधी खुवाएँ, उनले बल्लबल्ल निल्न सके । साहुजीले फापरको धुलो मनतातो पानीमा घोलेर खुवाए । निकै बेरपछि साथीले आँखा खोलेपछि बल्ल सासमा सास आयो । खासमा उनलाई निकै गाह्रो भएको रहेछ । त्यसैले कोठामा गएर सुतेमा ठीक होला भनेर जान खोजेका रहेछन् । मैले भनेँ, “भाग्यले गर्दा यहीँ लड्नुभएछ । नत्र त माथि कोठामा गएर लेक लागेको भए हामीले चालै नपाउने रहेछौँ ।” त्यो दिन एउटा कुराको ज्ञान भयो, “केही समस्या भएमा साथीभाइसँग बेलैमा बाँडेमा डरलाग्दो परिणति भोग्नु नपर्ने हुनसक्दो रहेछ ।”
ती साथीले जबरजस्ती थोरै खाना खाए । हामीले पनि खाना खायौँ । निकैबेर हलमा रहेको आगोबाट तताउने बडेमानको फलामे हिटर तापेर हामी सुत्न गयौँ । ती साथी र म एउटै कोठामा सुत्यौँ । अर्को साथी एक्लै अर्को कोठामा सुते । ड्राइभर भाइलाई छुट्टै कोठाको व्यवस्था गरिएको थियो । रात भरि गाँजा खाएको अनुभूति हुने गरी तन्द्रामा माथि उठाउने र थचार्ने गरी राख्यो । त्यो पनि लेक लागेको लक्षण रहेछ भन्ने कुरा पछि मात्र थाहा भयो ।
पूरा निद्रा नलागी रात बित्यो । भोलिपल्ट अनिँदोको अनुभूति भए पनि लेक लाग्ने लक्षण कम भइसकेको थियो । घाम लागे पछि बाहिर निस्कियौँ । घामको तातो बढ्दै जाँदा जिउ पनि तात्दै गयो । हिजो देखि लगभग नबोलिरहेका अर्का साथीको बल्ल बोली फुट्यो, “अव त बाँचिन्छ होला है सर ?” मैले मुस्कुराउँदै भनेँ, “बाँचिन्छ हौ बाँचिन्छ । सास फुस्किन कहाँ त्यति सजिलो छ र ?”
हामी मनाङ गाउँ घुम्न निस्कियौँ । शुरुमा दाहिने लागेर थारङ्ला पास जाने बाटो तर्फ करिब आधा घण्टा जति उक्लियौँ । त्यस पछि तल झरेर खाङ्सार गाउँ तिर करिब डेढ घण्टा जति हिँड्यौँ । फर्कँदा बाटोबाट गङ्गापूर्ण ताल जान मर्स्याङ्दी नदी तरेर उकालो चढ्नु पर्थ्यो । म जसरी पनि त्यो ताल जान चाहन्थेँ । तर साथीहरूले जाने इच्छा देखाएनन् । म र ड्राइभर भाइ जाने भयौँ । बिस्तारै उकालो उक्लिँदै र सुस्ताउँदै हामी उकालो चढ्दै थियौँ । हिजोको लेक लागेको त्रास अझै बाँकी थियो । अलिअलि सास फुल्दा साथ म रोकिन्थेँ । गङ्गापूर्ण ताल पुगियो ।
जमेर तालको पानी बरफ बनेको थियो । मनाङ गाउँको दक्षिण पश्चिम अवस्थित त्यो तालबाट गङ्गापूर्ण हिमनदी र गङ्गापूर्ण हिमाल हातले छुन सकिएला झैँ नजिक देखिन्थे । शुरुमा तालको छेउमा पुगेँ । मुठ्ठीले बजाएर हेरेँ । निकै कडा रहेछ । थोरै पर पुगेँ । तर फेरी फर्केर आएँ । मलाई थाहा थियो कहीँ कुनै कमजोर भाग रहेछ र त्यो भाग फुटेमा मेरो ईहलिला त्यहीँ समाप्त हुन सक्थ्यो । मुहानमा रहेको खाली ठाउँबाट भित्र पसेको हावा जमेको बरफको सतहमा ठोक्किँदा आएको आवाज हिउँ चितुवाको आवाज हो कि भन्ने भान दिन्थ्यो ।
म त्यो जमेको ताल माथि अझै परसम्म जाऊँ कि नजाऊँ भन्ने दोधारमा थिएँ । त्यति टाढा पुगेर प्राप्त त्यो अवसर म छुटाउन चाहँदैनथेँ । तर मनको कुनै कुनामा डर पनि लागेको थियो । मैले परिगणित (क्याल्कुलेटेड) जोखिम लिने निर्णय लिएँ । मनमा डर रहे पनि जति टाढा पुग्थेँ म त्यति रमाइरहेको थिएँ । जीवनका अनेकौँ अनौठा अनुभवहरू मध्ये तालको जमेको बरफ माथि हिँड्दाको मेरो त्यो अनुभव अविस्मरणीय क्षणका रूपमा मानसपटलमा बसेर रहेको छ ।
हिमाल पारीको जिल्ला मनाङमा भोटे, गुरुङ घले, लामा र दलितहरूको बसोबास रहेको पाइन्छ । उपल्लो र तल्लो गरी दुई भागमा बाँडिएको मनाङमा फरक फरक संस्कृति, भेषभुषा र रहनसहन पाइन्छ । पश्चिममा दामोदर हिमशृङ्खला, पूर्वमा मनास्लु हिमशृङ्खला, दक्षिणमा अन्नपूर्ण हिमशृङ्खला र उत्तरमा तिब्बत तथा पेरी र चिन हिमालले घेरिएर रहेको मनाङलाई मर्स्याङ्दी नदीले लगभग बिचबाट चिरेर बगेको छ । मर्स्याङ्दी नदीको कारण उपल्लो मनाङमा सुन्दर उपत्यकाहरू बनेका छन् भने मनाङका प्राय: बस्तीहरू मर्स्याङ्दी नदी किनारमा रहेका छन् ।
चारैतिर दन्त लहरझैँ फैलिएका हिमश्रृखंला, अग्ला पहाड, नदी खोला, मनमोहक झरना, लोठ सल्ला र धुपीको जङ्गल तथा बौद्धमार्गीहरूको संस्कृतिको धनी मनाङ जिल्ला अत्यन्त मनमोहक प्रकृतिले भरिपूर्ण छ । मर्स्याङ्दी नदीको उद्गम स्थल विश्वको सबैभन्दा अग्लो तिलिचो ताल, मनाङ मुस्ताङको सीमामा रहेको विश्वको सबैभन्दा अग्लो थारङ्ला पास र मनाङ गोर्खा सीमामा रहेको अर्को अग्लो लार्केपास मनाङ जिल्लाका अन्य आकर्षण हुन् ।
मनाङ जिल्लामा आलु, गहुँ, जौ र तल्लो मनाङका केही गाउँमा मकै खेती पनि हुन्छ । तल्लो मनाङका बासिन्दाहरू कृषि र पशुपालन व्यवसायमा लागेको पनि भेटिन्छन् । तर अचम्मलाग्दो चाहिँ के हो भने नदी र ताल छेउका भूगोलमा प्रशस्त पानी भएर पनि मनाङमा माछा पाइँदैन तथा धान खेती हुँदैन । अग्ला पहाड र हिमालको फेदीका घाँसे मैदान र अन्य वनजंगलले ढाकेको क्षेत्रमा बहुमूल्य जडीबुटी पाइन्छ । मनाङका मुख्य बस्तीहरूमा पर्यटकहरूको लागि सुविधाजनक होटेलहरू सञ्चालनमा रहेका छन् । हिमाल, प्राकृतिक वातावरण, हिमाली वन्यजन्तु, बहुमूल्य जडीबुटी, जैविक विविधता, स्थानीय रहनसहन, विश्व प्रसिद्ध ताल, झरना, भन्ज्याङ, नागबेली आकारमा बग्ने मर्स्याङ्दी नदी आदिले मनाङलाई एकपटक पुग्नुपर्ने ठाउँ बनाएका छन् ।
मनाङ जिल्लामा गोरखा जिल्लाको सामागाँउबाट लार्केपास हुँदै, कास्की जिल्लाको सिक्लेस गाउँबाट तिमाङ लेक हुँदै, मुस्ताङको मुक्तिनाथ मन्दिरबाट थोराङ्ला पास हुँदै प्रवेश गर्न पनि सकिन्छ । तर बाक्लो हिउँ जम्ने हुँदा हिउँदमा यी नाकाहरूबाट प्रवेश गर्न सम्भव छैन । सबैभन्दा सुगम बाटो लमजुङको बेसिशहर हुँदै मस्र्याङदीको तिर–तिरै हो जुन भूगोल भएर मोटरबाटो निर्माण भएको छ ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि लमजुङको बेंशीसहरसम्म ४२ किमी कालोपत्रे सडक रहेको छ । बेंशीसहरदेखि मनाङ सदरमुकाम चामे ६५ किमी र चामेदेखि खाङसार ३१ किमी दूरीमा रहेको छ । मनाङ गाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य हो भने त्यहाँबाट पश्चिम लागेर पुगिने खाङसार तिलिचो ताल जाने बाटो हो ।