बुधबार , अषोज २, २०८१

अन्नपूर्ण पदमार्गमा मृत भेटिएका कोरियन नागरिकको शव काठमाडौँ ल्याइयो

उद्धारमा गएका प्रहरी टोली लेक लागेर फर्किनु परेकाले र मौसम अनुकुल नभएकाले उद्दार कार्यमा ढिलाइ भएको हो ।

image

काठमाडौँ । मनाङमा अन्नपूर्ण पदमार्ग यात्राका क्रममा मृत्यु हुने कोरियन पर्यटकको शव काठमाडौँ ल्याइएको छ ।

पर्यटक प्रहरी सूचना अधिकारी चन्द्र किशोर शाहका अनुसार गत शनिबार मृत्यु भएका ५३ वर्षीय कोरियन पर्यटक जोनसिनको शव आज सोमबार काठमाडौँ ल्याइएको हो । सूचना अधिकारी शाहले भने, ‘दुई दिनअघि नै ट्रेकिङ गएका अन्य टोलीले उनलाई मृतावस्थामा भेटेर खबर गरेका थिए । र आज बिहान १०:३० बजे उनको शव काठमाडौँ ल्याइएको छ ।’

अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङपासको करिब ५४०० मिटरको  उचाइमा पासपोर्ट नं m946p0025  भएका जोनसिन मृतावस्थामा भेटिएका थिए । मृतक जोनसिनको परिवारसँग कोरियन एम्बेसीले कुरा गरेपछि मनाङ प्रहरी र पर्यटक प्रहरीको समन्वयमा उनको शव काठमाडौँ ल्याइएको शाहको भनाइ छ ।

दुई दिनसम्म उनको शव किन झिकाइएन भन्ने प्रश्नमा शाहले भने, ‘उद्धारमा गएका प्रहरी टोली लेक लागेर फर्किनु परेकाले र मौसम अनुकुल नभएकाले उद्दार कार्यमा ढिलाइ भएको हो ।’ मनाङस्थित चेकपोस्टमा दर्ता भएअनुसार उनी जनवरी १ मा पदयात्राका लागि निस्किएका थिए । सूचना अधिकारी शाहका अनुसार उनी मनाङ भ्रमणका लागि एक्लै गएका थिए ।

जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वयबिना आउँदा अप्रिय घटना घट्ने गरेकाले पर्यटक प्रहरीले बेला-बेला यसबारेमा सचेत गराउँदै आएको छ ।

सम्बन्धित समाचार