वस्तुतः मैधीकोट र मैधी आफ्नो सांस्कृतिक, ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक विरासत नचिनेर ‘कुहिरोको काग’ भइरहेको तथ्य हो । यसको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक परिवेश मैधीकोटमा मिल्किएको ऐतिहासिक डुँडसरह लावारिस हुँदैछ ।
पूर्वकथन :
यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नै दिएपश्चात् एकीकरण कि राज्य (गोरखा) विस्तार भन्ने सन्दर्भमा निकै टीकाटिप्पणी भयो । इतिहासका अनुसन्धाता तथा अन्वेषकहरूका यस सम्बन्धमा छलफल चलिरहेकै सन्दर्भमा एकाबिहानै सुशीला बहिनी (विश्वकर्मा) ले फोन गरिन् ।
भनिन्, “दाइ, चौथो खड्गदेवी सांस्कृतिक उत्सवका सम्बन्धमा तपाईँको फरक मत पढेँ । कार्यक्रम त हुँदै आएकै थियो, यसपाला पनि सोही निरन्तरता रहनेछ । तपाईँले फरक मत राखेकाले आगामी दिनमा र यसै वर्षको कार्यक्रममा केके विषय उठाउन सकिन्छ, भन्नुपर्यो । तपाईँको प्रश्नहरू केके हुन् ?” उनको आशय ‘विरोधकै लागि विरोध गरिरहनुभएछ या तपाईँसँग सुधारका पाटा पनि छन्?’ भन्ने नै थियो कि भनेर म ठान्दछु ।
राधिका बहिनिले पटकपटक ‘तपाईँ नै आउनुस्’ भन्न छुटाइनन् तर मेरो देवघाट जानुपर्ने काम परेको छ । १० मिनेटको फोन कलमा मैले आफ्ना कुरा राखेको थिएँ तर, उनले ‘कि तपाईँ आउनुपर्यो कि लेख्नुपर्यो; भन्ने सुमधुर आग्रह गरेकै कारण यो लेखको खाका कोरिएको हो । अन्यथा, म सहित केही साथी यस्ता ‘खाई मेसो’का फाल्तु कार्यक्रम बहिष्कार गर्ने हदसम्म पुगिसकेका थियौँ । कार्यक्रम संयोजक टीमकै हैसियतले उनले ‘के गरौँ’ भनेकाले सुधारका केही पाटा सहित मैधीकोट र माघी महोत्सवका विषयमा अगाडि कहदैछु ।
कथन:
वस्तुतः मैधीकोट र मैधी आफ्नो सांस्कृतिक, ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक विरासत नचिनेर ‘कुहिरोको काग’ भइरहेको तथ्य हो । यसका दसी प्रमाणहरू यथेष्ट जुटाउन सकियो, यसमा शङ्कै रहेन । आँखा भएकाहरूले देखिरहेका छन् – ‘मैधी बत्तीमुनिको अँध्यारो बन्दैछ ।’ आगामी १० वर्षसम्म यही हालत रहे यहाँका अधिकांश बस्ती पलायन हुनेछन् र ‘मैधीकै माटो’ भनेर बसिरहेकाहरूसँग पनि ‘कोरा माटोप्रेम’ बाहेक केही हुनेछैन । मैधी र समग्र ज्वालामुखीकै हकमा मेरो जम्माजम्मी कुरा यहीँ नै हो ।
अलि विस्तारमा भन्दा- ०५२ को माओवादी विद्रोहपश्चात् ०६४ सम्म मच्चिएको अस्थिरताको प्रभाव देशभर नै रह्यो । यसक्रममा राजा/सामन्तहरूका शक्ति खोसियो, छोटे/भुरे नेताहरू ब्युँतिएँ । अध्ययन, अनुभव र माटो नचिनेका मनग्ये छोटे नेताहरूले मैधीको विकासका अनगीनत खाँका कोरे, र त्यसैको आडबलमा आफू र आफ्नाहरूको सुख सुविधाको जोहो गरे । याद गर्न सकियो, मैधीका गाउँघर, गोठ, खेत-खलियान अनुत्पादक बन्दै छ भने यहाँका जात्रा-पर्व, धार्मिकस्थल र स्थानीयता ‘डाइनोसर’ बन्ने बाटोमा छ । यही कारण मैधी जिल्ला सदरमुकामबाट १५ किमीको दुरीमा रहेर पनि जिल्लाको अन्तिम किनारा बन्दैछ । यसको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक परिवेश मैधीकोटमा मिल्किएको ऐतिहासिक डुँडसरह लावारिस हुँदैछ ।
खुला दिसापिसाब गर्ने आदिम आदत र उच्च भूगोलमा बस्ती बसेकाले व्यहोर्नुपरेको खानेपानीको समस्याबाट जेनतेन पार पाउन खोजिरहेको यस भूगोलले विकास र सम्भावनाको त्यो ढोका उघारेको छैन, जो सामुन्नेको नलाङ या अलि परको सल्यानटारले उघार्दै छन् । गतिछाडा शैक्षिक र भौतिक विकासका कारण यहाँका विद्यालय रित्ता हुँदैछन् भने मैधीको वातावरण संरक्षणका चुनौतीहरू बढ्दा छन् । बुढीगण्डकी र छोरगन्दी खोलाको जलाधार र यसले निम्ताउने तटीय जोखिमहरू बढ्दैछ । अर्को टीठलाग्दो कुरा, यस सम्बन्धमा मैधेली बुद्धिजीवी, समाजसेवी र आम जनताबिच कुनै पनि विषयमा साझा सहमति हुन् सकिरहेकै छैन । यहाँ कुनै पनि विषयमा जनसहभागितासहित कुनै अध्ययन गरिएको छैन । फलतः हाल तीन वडामा विभाजित यस भूगोल अगणित व्यक्तिगत स्वार्थ र राजनैतिक पूर्वाग्रहको दुष्चक्रमा फसेर आफ्नो प्राकृतिक स्रोत-साधन एवम् सम्भावनाहरूलाई गल्त्याइरहेको छ ।
बहिनी,
तिमीलाई पनि थाहा छ – मैधी आज एक किलो आलु समेत धादिङ पठाउन सक्ने हैसियतमा छैन । तिमीलाई नै प्रश्न गर्छु- धादिङबाट एक पोका दही समेत किनेर घर आउनुपर्ने अवस्थामा मैधी किन आइपुग्यो ? अमराई-हटिया, माथिल्लो हटिया, छापथोक, द्वारथोकका ती बाक्ला बस्तीहरू किन पातलिए ? कासीराम डाँडा, विजेटार, रातमाटाका पातला बस्तीहरूले कस्तो विकास चाहन्छन्, खोजी हुनुपर्दैन ?
बहिनी,
तिमीले ‘तपाईँका प्रश्नहरू केके हुन् दाइ?’ भनेकाले भन्दैछु, तिमिझैँ सदरमुकाम (धादिङवेशी) बसी पत्रकारिता गरिरहेका कति साथीहरूले स्थानीय सरकारका कामका बारेमा निष्पक्षता साथ प्रश्न गरेका छन् ? गाउँको खबर काठमाडौं आउनुपूर्व नै धादिङ बसि पत्रकारिता गरिरहेका साथीहरूले बाटैमा तोडमोड गर्दैछन् ? पालिकाको गुणगान गाइरहन सदरमुकामकेन्द्रित र राजधानीकेन्द्रित तिमि-म सबैलाई के विधि स्वाद लागेको ? छोड, म अरू कुरा भन्छु ।
तीतोसत्य यही हो कि- बुढीगण्डकी किनारदेखि विजेटारसम्म र किँदरी खोँचदेखि मैधीकोटसम्मका तमाम युवाहरू दशैँ-तिहारमा यसो घर-गाउँ पुग्ने र टिका थापेर फर्किने थलो भएको छ । यहाँका समथर फाँट, ग्रामीण जीवनशैली, शिक्षा-स्वास्थ्य, रोजगार, सडक-बाटोघाटा ध्वस्तप्राय: छन् । गरिएका र बनाइएका भनिएका तमाम ‘कथित विकास’हरू यही रहिबसेका स्थानीय व्यक्तिहरूको जीवनसँग जोडिएको छैन । धादिङवेशी जोड्ने दुईवटा सडक हुन् या बिजुली बत्ती, खेतीकिसानीका मसिना आयामहरू हुन्, तिनले मैधी छोड्न नसकेकाहरूको हकमा खासै फरक पारेको छैन । यहाँका कति युवा बाहिर पुगे, कुन व्यवसाय अँगाले, कुन क्षेत्रमा सक्रिय भए, तिनीहरू कुन अवस्थामा छन्, तिनलाई मैधी नै फर्काउन के गर्न सकिन्छ एवम् उनीहरू ‘मैधी’को सम्बन्धमा के धारणा राख्छन्, प्रस्ट जवाफ कोहीसँग छैन । यसबारे सामूहिक छलफलमा आउन सकिएको छैन भने आउनुपर्ने आवश्यकता पनि औँल्याइएको छैन ।
अर्कोतर्फ, आर्थिकस्तर उकास्न वा माओवादी सन्त्रासका कारण विदेश पुगेकाहरू घर-गाउँ फर्किएका छन्, तर पछिल्लो २० वर्षसम्म गाउँले फेरेको अनुहार देखेर त्रसित छन् । आक्कलझुक्कल काठमाडौँ-चितवनबाट ‘भिलेज टूर’मा गएका स-साना बालबच्चाहरू आफ्नो पुर्ख्यौली थलोको सुन्दरता देखेर मोहित हुन्छन्, यही बस्न मन गर्छन् । उनीहरूको आँखामा आफ्ना आमाबाबुप्रति प्रश्न पनि हुन्छ, “तपाईँहरू यी बुढा हजुरआमा-हजुरबालाई यो अप्ठ्यारो ठाउँमा छोडेर किन काठमाडौँ-चितवन आएको ?” नाति-हजुरबाउको आँखा जुध्न नपाउँदै बाउ धादिङ ओर्लिएर बाटो लागिहाल्छ । वृद्ध बाउआमा उही आफ्नो अप्ठ्यारो दैनिकी स्याहारिरहन्छन् ।
अतिशय भावुकता नराखी भन्नैपर्दा- मैधीको न्यूनतम आवश्यकता पहिचान, समाधान, यहाँको मौलिकताको संरक्षण एवम् प्रवर्द्धन गर्नका लागि कुनै सङ्घसंस्था, व्यक्ति एवम् पालिका मातहतका कार्यक्रमहरू पुगेका छैनन् । पुगे पनि त्यसको प्रभावकारिता यति फितलो छ कि त्यसको करिब ‘शून्य उपलब्धि’ छ । लगिएका/गरिएका सम्पूर्ण कार्यक्रमहरू ०५२-०६४ को बीचको अस्थिर राज्य व्यवस्थाको समयमा उदाएका मौकापरस्त र कमिसनखोर व्यक्तिहरूको ‘गोठको भैँसी’ बनेको छ । समुदायको अधिकतम जनसहभागिता, सहकार्य तथा सामूहिक स्वार्थ र साझेदारीमा कुनै पनि विकासका काम न यसअगाडिको सरकारले अघि बढाएको थियो, न यो सरकारले गर्ने देखिन्छ । यसैकारण भन्दैछु- सबै स्थानीय जनताको जीवनस्तर माथि उकास्न स्थानीय ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिन यस सरकारको नीति तथा कार्यक्रमले सक्दैन ।
***
गोरखा राज्यको अमोघ किल्लाको रूपमा रहेको यस स्थानको ऐतिहासिक गौरव अतुलनीय छ । पृथ्वीनारायण शाहको शुभ व्रतबन्ध यहाँ हुनले यसको सांस्कृतिक एवम् सामरिक महता प्रस्टाइहाल्छ । ‘एकीकरण अभियान’का सन्दर्भमा प्रथम सभा यहाँको पौवा वन क्षेत्र (हाल वडाले पुर्दै गरेको अवस्था) मा हुनुले एवम् कालु पाडे, जगतप्रकाश जङ्ग जस्ता व्यक्तिको कर्मथलो यहाँ हुनुले पनि यस ठाउँलाई विशिष्ट तुल्याउँछ । दुर्भाग्य, बर्सेनि १० लाख हाराहारीको कार्यक्रम गरिँदा समेत ०५० को दशकसम्म जिल्लाभरमै प्रख्यात दशैँको चतुर्थी मेला, शिवरात्रि मेला हुने यो थलो ओझेलमा छ ।
यस मन्दिरका सम्बन्धमा निकै कुरा गर्नुपर्नेछ ।
मन्दिरमा न्यून पारिश्रमिकमा स्थानीय मगर जाति पूजारी एवम् दमाई जाति नगरा वाधकको रूपमा छन् । गुठी संस्थान अन्तर्गत मन्दिरको १२४ मुरी धान फल्ने खेतको हिसाबकिताब खोजी भएको छैन । पृथ्वीनारायण शाहको व्रतबन्धमा प्रयोगमा आएको ऐतिहासिक ऐतिहासिक सुरो मूल पुरोहित (अर्ज्याल खलक) मध्ये कहाँ छ, थाहा पाउनुपर्ने छ । शाहलाई दीक्षामन्त्र सुनाउने नन्द मिश्रका सन्तान हर्ष मिश्र कहाँका हुन्, थाहा छैन । पुरोहित मोक्षेश्वर जोशीले शाहको वेदारम्भ गरिदिएका हुनाले उनका सम्बन्धमा पनि खोजी गर्नैछ ।
नेपाल (काठमाडौं) हान्नुपूर्व रणजीत बस्न्यात, मानसिंह रोकाहा, वीरभद्र पाठकलाई रातदिन गरि मैधी आइपुग्न भनिएबमोजिम यहाँ आएका थिए, त्यतिबेला उनीहरूले के छलफल गरे ? सो छलफलकै बलमा नेपाल (काठमाडौं) जितिएको हो भन्ने आधार रहेकाले पनि यसको ऐतिहासिक महता मनग्ये रहन्छ (पूर्णिमा, वर्ष ३, अङ्क १-४) । गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले संवत् १७३० तिर स्थापना गरेका गोलाकार दलु दरबारलाई ब्युँताउनुपर्नेछ ।
दलु शाहले आफ्ना इष्टदेवीको रूपमै खड्गदेवीलाई उत्तरकोठामा पुज्ने गरेको र सो दरबार कालक्रममा भत्किएर खड्गदेवी मन्दिरको रूप लिएको कुरालाई अभिलेखीकरण गर्न बाँकी नै छ । कोटमा रहेको १६१*५२ से. मिटर ढुङ्गाको डुँडको कति पुरानो हो भनेर खोज्नुपर्नेमा त्यसै फ्यालिएको अवस्था छ । भैरवीको पूजाको निमित्त मन्दिरको पूर्व-पश्चिम दुवैपट्टि फूलबारीको राम्रो प्रबन्ध गरिएको थियो, त्यो हाल देख्न पाइँदैन । पहिले फूलबारी रहेको र अहिले व्यक्तिगत जग्गाका रूपमा परिणत भएको मन्दिर पूर्वपट्टिको बारीमा अवस्थित प्राचीन शिवालयको संरक्षण हुन् सकेको छैन । उदाङ्ग आकाश देखिने ढुङ्गे गाह्रा (लम्बाई एक मिटर र चौडाइ ७७ से. मिट बीच रहेको शिवालयलाई छाना ओढाउन आवश्यक छ ।
कोट वरपर अझै पनि प्राचीन भग्नावशेषहरू भेटिन सक्छ, यसतर्फ ध्यानकेन्द्रित गर्नुपर्नेछ । मन्दिरबाट चोरी भएको अष्टभूजा भैरवीको सुन्दर मूर्ति आदिको विषयमा सोधिखोजी र प्रमाणीकरण बाँकी नै छ । मैदीकोट भैरवी गुठी (५३ रोपनी १२ आना), मैदीकोट भीमसेन गुठी (४ रोपनी), मैदीकोट भैरव चतुराली गुठी (१ रोपनी आठ आना) आदि पनि खोजीको विषय बन्नुपर्छ । साथै, उखुबारीमा पाकिरहेका उखुका लाँक्रा चोर्न साथीहरूलाई समेत लिई केशवद्वारेका डिहोमा गएर एक–एक लाँक्रा भाँची चपाई यिनी सेरा बेँसीमा फर्केका भनि इतिहासशिरोमणीले लेखेको हुँदा यस कुरा पनि चर्चायोग्य कुरा छ ।
यी काम गर्नतर्फ नलागी सरकारी ढुकुटी दोहन गर्नतर्फ लाग्नु न्यायोचित कुरा छैन ।
***
यस सम्बन्धमा केही व्यक्तिसँग मेरो कुराकानी भएको छ, जो यहाँ राख्नु मुनासिब नै हुन्छ लागेको छ ।
१. खड्गदेवी युवा क्लब ज्वालामुखीका अध्यक्ष रिजन श्रेष्ठ
खड्गदेवी युवा क्लब ज्वालामुखीका अध्यक्ष रिजन श्रेष्ठ यस महोत्सवमा पालिकाको सहयोग ४ लाख रहेको र स्थानीय स्तरबाट चन्दा उठाउँदा १० लाख जति पुग्ने बताउँदै’थे । “हाम्रो अनुमान अनुसार २ दिने यस महोत्सवमा १५/२० हजार मानिस आउँछन् । ऐतिहासिक यस थलोमा गोरु जुधाउने एवम् राष्ट्रिय कलाकारहरूको उपस्थिति रहेनछ”, उनले भने ।
उनलाई सोधेको थिएँ, ‘यसको उपलब्धि के त ?’
उनको जवाफ थियो, ‘त्यसको लागि माघ १३ गतेदेखि अर्को कार्यक्रम हुँदैछ ।’
श्रेष्ठले भनेको अर्को कार्यक्रम ‘मैदीकोट विराट धार्मिक महोत्सव २०७९ (माघ १३-१९) हुनुपर्दछ । त्यस कार्यक्रमले पनि तात्त्विक फरक पार्ला भन्ने लागेको छैन । किनभने मैधीकोटको संरक्षणको लागि जे गर्नुपर्ने हो, हामी त्यो गरिरहेका छैनौँ । यो या त्यो बहानामा आम्दानीका शीर्षकहरू जोहो गरिरहेका छौँ । देशका अन्य सामन्य डाँडाहरूमा सूर्यास्त र सूर्योदयको दृश्य हेर्न पर्यटकको लाम लाग्दा त्यहि समेत यहाँ हुन् सकेको छैन, महायज्ञ लगाएर ‘विराटै’ केहि होला भन्ने लागेकै छैन । समितिका आफ्ना समस्या हुँदा हुन्, तर उसले अलि फराक मन गरेर यसबारे सोचीदिनुपर्यो ।
२. ज्वालामुखी गाउँपालिका, वडा-२, वडाध्यक्ष राजु लोप्पा
श्रेष्ठपश्चात् वडा-२ का वडाध्यक्ष राजु लोप्पासँग सम्पर्क भएको थियो ।
उनी कार्यक्रम ठिकठाक भएको बताउँछन् ।
उनले आफूलाई निम्तो आएकाले आतिथ्यताका लागि पुग्ने बताएका थिए ।
जनप्रतिनिधिको हैसियतले के साह्रो फितलो जवाफ दिएको भनेर उनलाई पनि सुनाइदिनु ।
३. ज्वालामुखी गाउँपालिका, उपाध्यक्ष, धर्म अर्याल
उपाध्यक्ष अर्याल कमबेसी फराकिलो देखिएका छन् ।
उनले महोत्सव सन्देशमूलक भनिएको तर यसको उपलब्धि के हो भनेर नसोचिएको बताएका थिए । “कार्यक्रमको निरन्तरताले मात्रै त तात्त्विक फरक पार्दैन । सांस्कृतिक, ऐतिहासिक थलोको वृद्धि विकासका लागि होडबाजी नगरिनुपर्ने हो । आज माघमा मैधीकोटमा, फागुमा जलमुखीमा, अर्को दिन मण्डलीमा र अर्को दिन खरीमा विभिन्न शीर्षकमा बजेट मागिन्छ । तर, त्यसले केकति उपलब्धि थियो भनेर वस्तुगत मूल्याङ्कन भइरहेको छैन । तपाईँको खबरदारीलाई मेरो साधुवाद छ”, उनले भनेका थिए ।
उनी चौथो पटक कार्यक्रम गर्दा समेत स्थानीय उत्पादन, स्थानीय सीपको प्रवर्द्धन गर्न नसकिने हो कि भनेर चिन्ता पनि व्यक्त गर्दै थिए ।
उनलाई मैधीकोट पुरातत्त्व, चतुर्थी मेला, डुँड, शिवालय, हराएको अष्टभूज देवीको मूर्ति, दलु शाहको छ कोठे पुरानो घरका बारेमा सोधिखोजी गरिदिन भनेको थिएँ । कार्यक्रममा आइसकेपछि के गर्छन्, बिर्सिगएछन् भने सम्झाइदिनु । यो या त्यो बहानामा रिमिकझिमिक गर्नुभन्दा मैधीकोटको सम्बन्धमा आधारभूत रूपमा बहस गर्न आवश्यक छ भनिदिनु । यहाँ विषयविज्ञ (असली पुरातत्त्वविद्, इतिहासविद्, संस्कृतविद् एवम् विद्यार्थी, पर्यटनविद् लगायत) ल्याई मात्रै विकासका गतिविधि अगाडि सार्न भनिदिनु ।
बहिनी,
मेरो मान्छौँ भने त, आइ लभ मैदीकोट लेखिएको सिमेन्टको थुप्रो उप्काएर फ्याँक्दिनु । त्यहाँका पुराना वृक्ष र गुठीको जग्गाको हिसाबकिताब माग्नु । पौवा वनको पुरानो पौवा ब्युँताउनु । भट्टवनलाई प्रकाशमा ल्याउनु । हटियाको भीमसेन मन्दिरको शिलालेखले बताएको इतिहास लेख्नु । यसैगरी पालिका अन्य स्थानको अध्ययन अगाडि बढाउनु । यस्ता कामहरू उपाध्यक्ष अर्यालमार्फत हुन् सक्छन् भन्ने आशा मैले राखेको छु भनेर भन्दिनु ।
४. स्थानीय बुद्धिजीवी वर्गका विचार
यसबाहेक स्थानीय एवम् बुद्धिजीवी वर्गका यियस्ता विचार छन् पनि भनिदिनु,
१. पुछार घरका स्थानीय सुदर्शन भट्ट माघी कार्यक्रमले समग्र मैधी मात्रै नभई जिल्लाकै प्रतिनिधित्व गराउनुपर्ने बताउँछन् । “कार्यक्रम हुनु राम्रो, यसको व्यवस्थापन गर्न आवश्यक छ”,उनी भन्छन् । भट्ट मैधीकोट एउटा वडा वा पालिकाको मात्रै नभई राष्ट्रकै धरोहर भएकाले यसतर्फ सबैको ध्यान पुग्न आवश्यक देख्छन् ।
२. हेटौँडा रहेका सञ्जय पुलामी मगर यस्ता कार्यक्रमलाई आयोजकले ‘इनकमको स्रोत’ बनाउन नहुने बताउँछन् । “मैधीकोटको चर्चा यही दुई दिन मात्रै होइन, वर्षभरि नै हुनुपर्यो । यहाँ जिल्ला बाहिरका मान्छे पनि पुग्नुपर्यो”, उनी भन्छन् । मगर पालिका एक पछी अर्का स्थलहरूलाई पर्यटकीय रुटको रुपमा विकास गर्ने गरि खाँका कोरिनुपर्ने आवश्यकता औँल्याउछन् ।
३. बुद्धिजीवी बद्रीप्रसाद लम्साल धरोहरको नाममा गएको बजेटहरू खल्तीमा जाने क्रम रोकिनुपर्ने बताउँछन् । “अनुगमनको सूचक बलियो हुनुपर्यो । जनप्रतिनिधिहरुले दिएको बजेट सदुपयोग भयाे या भएन । माैलिक परम्परा अनुसार छ कि छैन अनुगमन र प्रभावकारीतमा ध्यान दिनु पर्यो ।
उनी हाम्रो एैतिहासिक कला ठेकेदारकाे बुझाईमा र सीपमा सिमित भएको बताउँछन् । “जुन ऐतिहासिकताले महत्त्व पाउनु पर्ने हाे त्यतातर्फ ध्यान गएन । उहाहरणकाे लागि पृथ्वीनारायण शाहकाे ब्रतबन्ध र गाेरुजुधाई मेल खाँदैन । बरु साेहि दिन बटुकहरुकाे ब्रतबन्ह गर्ने परम्परा बसाल्नु सुनमा सुगन्ध हुने थियाे”, उनी भन्छन् ।
लम्साल सर्वपक्षीय हित र समाजकल्याणतर्फ पालिका अग्रसर हुनुपर्ने बताउँछन् ।उनी अगाडि भन्छन्, “सङ्गममै शिवलिङ्ग समेत भएकाले बालाचतुर्दशी , महाशिवरात्री र शिवसँग सम्बन्धित मेला र पर्वहरुमा धार्मिक महत्त्व झल्किने क्रियाकलाप गर्दा अझ प्रभावकारी हुने थियाे ।”
४. शमीभन्ज्याङ माविका शिक्षक एवम् लेखक राजकुमार तिमिल्सिना मैधीको मात्रै नभई धादिङ भरका तमाम महोत्सव आयोजकले अघौजी खाने मेसो भएको उल्लेख गर्छन् । “कतिऔँ पटक महोत्सव हुँदा चाहिँ स्थानीय उत्पादनको प्रवर्द्धन भयो ? यस्ता सस्ता खाले इन्टरटेनमेन्ट नगर्दा नै बेस छ । यतिका खर्चबाट ऐतिहासिक, सांस्कृतिक, सामरिक दृष्टिले मैधीकोट किन महत्त्वपूर्ण छ भनेर खोज्न सकिन्थ्यो । यसको बारेमा डकुमेन्ट्री बनाउन सकिन्थ्यो, तर दु:खसाथ् भन्नुपर्छ यता कसैको ध्यान जाँदैन” उनी भन्छन् ।
तिमिल्सिना ‘मैदीको माटो’मा विष्णुप्रताप शाहले ‘मैधी, मैधाल जस्ता शब्द उल्लेख गरेको बताउँदै ती शब्दहरू प्रयोगमा ल्याउनुपर्नेतर्फ इशारा गर्छन् । उनी मैधीकोट प्रवर्द्धन हुन् सकेमा मैधीको लोक संस्कृति, लोक परम्परा, लोक भाकाको पनि संरक्षण हुने र यसमार्फत मैधीले आफ्नो अलग पहिचान देशभर साट्न सक्ने बताउँछन् ।
५. ज्यामिरे घर भएका लेखक राममणि दुवाडी धादिङ जिल्लाकै हकमा मैदीकोट सरहमा महत्त्वपूर्ण स्थलहरू संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि स्वतःस्फूर्त अभियानको खाँचो औँल्याउँछन् । “तपाईँले मैधीमा आवाज उठाउनुभयो, म ज्यामिरेबाट उठाउँछु । हामी विकृत हुँदै छौँ, निरन्तर खबरदारी आवश्यक छ”, उनी भन्छन् ।
६. स्थानीय सौरभ अर्याल मैधी सरकारले लात हानेको ठाउँ भएको बताउँदै मैधीकोटको प्रचारप्रसारका लागि आधुनिक प्रचारशैलीहरू अविलम्ब गर्नुपर्ने बताउँछन् । “हाम्रा गाउँघरमा पनि वैचारिक छलफल हुन् सक्छन्, देशभरका बुद्धिजीवीलाई यहाँ ल्याई पालिकाकै उचो यस स्थानमा बसी समग्र पालिकाकै उत्थानको खाका कोर्न सक्छौँ । मैदीकोट यस्ता छलफल गर्ने साझा चौतारी हुन् सक्छ । माटो बुझेका, इतिहास बुझेका व्यक्तिहरू अगाडि आइदिउन्”, उनी आग्रह गर्छन् ।
अर्याल मैधीको पर्यटकीय सम्भावना उजागरका लागि शैक्षिक भ्रमण लगायतका कार्यहरू गर्नुपर्ने बताउँछन् । “मैधीकोट पर्यटक आएनन्, आएनन् मात्रै भन्छौं तर यसबारेमा सूचना र जानकारी हामीले कहिले दिएका छौँ ? स्वदेशको पर्यटकीय गन्तव्यबारे बुझ्ने सामग्रीको अभावमा आन्तरिक पर्यटकहरूले नै असुविधा र सास्ती भोगिरहेका छन्, विदेशी आएनन् भनेर किन गनगन गर्नु ?”, उनी भन्छन् ।
७. उखुबारी गैरीगाउँका नवराज भट्ट मैधीकोटको संरक्षणका लागि चन्दा उठाउने वा कोष खडा गर्नुका साथसाथै यहाँको इतिहास र किंवदन्ती प्रमाणीकरणतर्फ अग्रसर हुनुपर्ने बताउँछन् । “ऐतिहासिक एवम् पुरातात्त्विक विषयहरू समय क्रममा मेटिँदै जान्छ । चतुर्थी मेलाकै बारेमा भन्न सक्ने अग्रजहरू कति बाँकी हुनुहोला ? दलु शाहको पुरानो दरबार कस्तो थियो भनेर बताउने सायदै हुनुहुन्छ । चोरी भएको पुरानो मूर्तिको खोजीखबरी कहाँ छ ? यस्ता विषयहरू बहसमा अटाउनुपर्छ ।” उनी यसपटक आफूले चन्दास्वरूप एक हजार दिइएको तर त्यो पैसा कहाँ खर्च हुन्छ आफूलाई थाहा नभएको बताउँछन् । “समाजको बसिएको छ, सामाजिकीकरणमा पनि भिज्नुपर्यो नि”, उनी भन्छन् ।
८. वडा नम्बर-३ का राजेन्द्र सेडाई आफूहरू काठमाडौं हुँदा त्यता मनलाग्दी हुने र त्यसको खबर पनि थाहा नपाइने बताउँछन् । “खबरदारी गर्नलाई गाउँमा कोही युवा छैन । कसले के गर्यो/गरेन, केही थाहा हुँदैन । मलाई यो माघी महोत्सव भन्दा पनि दशैंमा वाल उठाएर छोडिएको थियो, त्यो कता पुग्यो भन्ने चिन्ता छ । कहाँ-कहाँ कस्ता ठाउँ पर्यटक तान्ने थलो बने, हाम्रै मैधीकोटले धादिङ बाहिरबाट एकजना तान्न सकेन”, उनी निराशाजनक अभिव्यक्ति राख्छन् ।
९. वडा नम्बर ३ कै नवराज भट्ट (माझघर) पृथ्वीनारायण शाहको ठुलो शालिक भन्दा तत्कालीन समय झल्कने गरि उतिबेलाकै कला-सामग्री (मौलिक) प्रयोग गरेर पृथ्वीनारायण शाहको व्रतबन्ध भइरहेको दृश्य कुँदिनुपर्ने बताउँछन् । भट्ट खर्च व्यवस्थापन हुन् सकेमा सामुन्नेको सिद्धलेक र मैधीकोट जोड्ने केवलकार परियोजना अगाडि सार्न सकिने बताउँछन् । “महोत्सव र अष्टमी बाहेक अरू बेला भक्तजन समेत यहाँ पुग्दैनन् । मैधीकाेटकाे थप चिनारीका लागि यहाँसम्म आउने भौतिक पूर्वाधार (बाटोघाटो, होमस्टे, ब्रोसर) निर्माणले गति लिनुपर्ला”, उनी भन्छन् । नलाङ, खरी र सुनखानीबाट आक्कलझुक्कल आइपुग्ने व्यक्तिबाट मैधीकोटको प्रवर्द्धन गर्न नसकिने भट्लेट बताए ।
***
बहिनी,
म आउन नभ्याएकाले, गाउँपालिका अध्यक्ष यमनाथ दनै दाजुले फोन नउठाएकाले, प्रशासकीय अधिकृत सुमन पण्डितका हकमा म नौलो व्यक्ति भएकाले केही प्रश्न छन्, जो तिमीले कार्यक्रम संयोजन टिमको हैसियतले राख्नेछौँ भन्ने आश गरेको छु । राखेको खण्डमा यसले मैधीकोट र समग्र ज्वालामुखीकै अन्य स्थलले न्यानोपन पाउने थिए । तिमीले सोधेकी थियौँ, ‘तपाइँका प्रश्नहरू केके हुन् ? प्रश्नहरू यी भए-
ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्त्वका टोल, बस्ती, मठ, मन्दिर, स्थानीय रीतिरिवाज, भाषा, लिपी, कला, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको बारेमा ऊ किन सचेत नदेखिएको ? ढोला मण्डली माई मन्दिर, जलमुखी माई मन्दिर, अनकन्या मन्दिर, खरीकोट, मैदीकोट र आँप बगैँचाको ऐतिहासिक, पुरातात्त्विक खोजी, अनुसन्धान गराउनतर्फ उसको ध्यानाकर्षण कहिले हुने रहेछ ? सुरक्षित पर्यटकीय गाउँको अवधारणाको विकास गर्दै होमस्टे विकास गर्ने कुरा थियो, त्यो कता पुग्यो ?
भौतिक तथा सामाजिक उत्थानका योजनाहरू बनाउँदा वातावरणीय, जलवायु परिवर्तनको मूल्याङ्कन किन गरिँदैन ? गाउँपालिकाको भैेगोलिक बनावटलाई दृष्टिगत गरी अर्ग्यानिक तरकारी खेती, बेमौसमी तरकारी खेती, पुष्प खेती, पशुजन्य उत्पादन गरिने एवम् कृषि उपजलाई सुरक्षित भण्डारण गर्नको लागि गाउँपालिकास्तरिय चिस्यान केन्द्र बनाउने घोषणा थियो, त्यो कहाँ पुग्यो ?
‘सुत्केरी पशुको लागि प्रोत्साहन भत्ताको सुरुवात गर्छौँ’सम्म भन्न भ्याउनेहरूले यस महोत्सवमा स्थानीय सामग्री प्रदर्शनमा राख्न नसक्ने पक्कापक्की नै छ । समृद्धिको लागि सहकारी अभियानले पालिकाको निर्यात दर किन बढाउन सकेन ? उद्यमशीलता विकास गर्न उद्यम विकास कोष स्थापना गरिने हल्ला थियो, एक टोल एक व्यवसाय नीतिको अवलम्बन गरिने चर्चा थियो; ती कहाँ पुगे ? मौलिक बस्तीमा सम्पदा भवनहरूको संरक्षण तथा निर्माण गर्ने बताउनेहरूले मैधीकोटकै कोतघर किन जोगाउन सकेनन् ? पुरातात्त्विक ठाउँमा ठेकेदार पोस्न सिमेन्ट/कङ्क्रिटका अनावश्यक झिलिमिली किन ठडाए ? अनागीनत ठाउँ र सम्भावना रहँदा समेत गाउँपालिका त्यसबारे किन अलमस्त छ, एउटा नाथे पर्यटन केन्द्रको स्थापना गर्नसमेत ऊ कुन आइतबार कुर्दैछ ?
बुढीगण्डकी जलविद्युत आयोजनको डुबान क्षेत्रका विद्यार्थीहरूका विषयमा उसको स्पष्ट धारणा के हो ? गाउँपालिकाका अधिकांश विद्यालयका कोठा रित्ता रहेको बिर्सेर ऊ कुन उद्देश्यले मनोरञ्जन पार्क बनाउने भन्दै छ ? हरेक डाँडा-पाखा आफैँमा पार्क हुन्, तिनमा पाइने जैविक विविधता, जडीबुटीका बारेमा ऊ किन अध्ययन गर्दैन ? वराहकालिका खोचबाट जति सुन्दर हिमाल मैधीकोटबाट पनि देखिँदैन भन्ने कुरालाई ऊ किन लत्त्याइरहन्छ ? विद्यालयमा भर्नादर बढेको गफ गर्ने पालिकाले गाउँका घरहरूमा मान्छे किन छैनन् भनेर सोच्छ कि सोच्दैन ?
स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य एकाइहरूको क्रमिक अधोगतिको कारण के हो ? पूर्ण स्वास्थ्य विमित गाउँपालिका कार्यक्रमको अपडेट के छ ? एकल महिला तथा पुरुष, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित, घरबार विहीन, तथा अति गरिब व्यक्तिहरू अगाडि फोटो खिच्न ऊ किन लालायित भएको ? लक्षित वर्गहरूलाई विकासको मूल प्रवाहमा ल्याउन नसक्दा पनि ऊ आफ्नो मिडियाबाजीमा किन पटकपटक उत्रिएको ? विभिन्न जातजातिहरूका सांस्कृतिक स्थल तथा सम्पदाहरूको संरक्षण एवम् ऐतिहासिक वस्तुस्थितिको साक्षी प्रमाण स्वरूप ३/४ सय वर्षदेखि उभिएका चौतारीहरू जोगाउन उसले अग्रसरता किन नलिएको ? जिल्लास्तरको खेलकुद प्रतियोगितामा पालिकाको प्रतिनिधित्व गराएर एउटा टिम सम्म पठाउन नसक्ने उसले कसको उक्साहटमा राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको गफ लगाएको हो ?
बहिनी,
‘पृथ्वीनारायण शाहको व्रतबन्ध भएको स्थान’ भनेर एकसुरे रटान र प्रचारप्रसार मात्रैले मैधीकोटको महत्त्व झल्कँदैन । उनको व्रतबन्ध गोरखा छाडेर यहाँ किन भयो ? कुन मितिमा भयो ? उनको व्रतबन्ध यहाँ हुनुले मैधीको इतिहासमा केकति महता थप्दछ ? लगायतका प्रश्नहरू उत्तर खोज्नु आवश्यक छ । उनीभन्दा निकै अगाडी गोरखाका दलु शाह केकति कारणले मैधी आई यहाँ दरबार बनाई बसे ? लगायतका विषयमा इतिहासकार एवं सरोकारवाला निकायहरूले चासो व्यक्त गर्नुपर्छ । नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको स्थानीय विश्वासलाई ऐतिहासिक एवं पुरातात्त्विक खोज-अनुसन्धानबाट प्रमाणित गरि व्यापक प्रचारप्रसार गर्नु आवश्यक छ । यसो गर्न सकेमा मैधी मात्रै नभई समग्र ज्वालामूखी गाउँपालिका निर्माण हुन् सक्नेछ ।
सहकार्यको अपेक्षाको सहित बाँकी भेटमा भनौँला !
अस्तु !
ब्यानरमा प्रयोग गरिएको फोटो जेसी राई ओझाले खिचेका हुन्- सम्पादक ।