मंगलबार , मंग्सिर ४, २०८१

भैलो खेल्न पठाउने मगरहरूका राजा ‘बलिहाङ’

मगर भाषामा फाइलोको अर्थ हामीले बचायौँ भन्ने हुन्छ ।

image

-मनोज घर्तीमगर 

भैलो खेल्दा किन बलिराजाले पठाएको भनिन्छ त ?

हे भन भन भाइ हो
-फाइलो (भइलो/भैलो)
हे हामी त्यसै आएनौँ
-फाइलो (भइलो/भैलो)
हे बलिराजा (बलिहाङ) ले पठा’का
-फाइलो (भइलो/भैलो)

बलिहाङको (मगर भाषामा हाङको अर्थ राजा हुन्छ) सम्मानमा तिहारको देउसी, भैलो सुरु भएको हो । इसाको १४ औँ शताब्दीतिर वर्तमान पाल्पा जिल्ला बल्ढेङगढी गा.वि.स क्षेत्रमा बलिहाङ राना मगरले स–साना मगर राज्यहरूलाई एकीकरण गरी शक्तिशाली राज्यको स्थापना गरेका थिए (राजाराम सुवेदी, २०६३, ८–९) उनको राज्यको सिमाना मगरातदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो । मगरातमा मगर अरमुडि राजापछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकप्रिय राजाका रूपमा बलिराजाले शासन गरेका थिए ।

इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार बलि राजाको पाल्पाको बल्ढेङगढीदेखि भारतको गोरखपुरसम्म उनको राज्य फैलिएको थियो । तिहारमा देउसी भट्याउँदा भनिन्छ, ‘त्यसै हामी आएका होइनौँ, बलि राजाले पठाएको… ।’ ‘बलि राजा’ भनेकै राना मगरका वंश थिए । त्यसैले, तिहार चाड मगरको हो भन्ने जनविश्वास पनि छ । यो चाड धेरैपछि मात्र हिन्दू दर्शनशास्त्रमा सम्मिलन हुन पुगेको हो ।

फाइलोको कथा

पश्चिमाञ्चल मगरात क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा संस्कृतिविद्, इतिहासकारहरूले लेखेका छन्, ‘बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी, धर्मात्मा, भविष्यवेत्ता राजा थिए । रैतिहरूलाई यतिसम्म खुसी पारेका थिए कि उनको मृत्युसम्मको कुरासम्म सुन्न सक्दैनथे ।’ एकदिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरूलाई बोलाएर भनेछन्, ‘जसरी हामीहरू एकआपसमा मिलेर बसेका छौँ, त्यसरी नै मिलेर बस्नू । अब मेरो मृत्यु कात्तिक महिनाको औँसीको रातमा हुँदैछ ।’

यो खबर सुनेपछि सारा जनता शोकमग्न भएर रुँदै कराउँदै कस्तो विपत आइलाग्यो भन्दै राजालाई बिन्ती गरे, ‘तपाईंलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ त्यसपछि राजाले भने, ‘मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरी फकाउन सक्यौ भने म बाँच्न सक्छु ।’ त्यसपछि प्रजाहरू निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल, राजालाई लिन आउने बेला सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाइलो–फाइलो भट्याउँदै प्रार्थना गर्न थाले । काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउँदै ‘फाइलो–फाइलो’ भन्दै राजालाई नमार्न अनुरोध गरिरहेकोले राजाप्रति रैतिहरूको प्रगाढ सम्मान, राजालाई कालले लाने पो हो कि भन्ने डरका कारण त्यतिबेला बनेको कहालीलाग्दो वातावरण देखेर कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ ।

जनताले कालदेखि बचाउँदा भावविह्वल भई बलिराजाले ३ दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ती बालेर मिठो मसिनो खाए । आ–आफ्नै घरमा भएका दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाएर मासु, सेलरोटी, जाँडरक्सी पिएर रमाइलो गरे । उमङ्गको खुसीयाली साट्दै फाइलो–फाइलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाइलोको अर्थ हामीले बचायौँ भन्ने हुन्छ ।

फाइलो कसरी भैलो भयो ?

बलिराजाको दीर्घायुको कामना गर्दै त्यही बेलादेखि देउसी-भैलो खेल्न सुरु गरिएको हो । त्यतिबेला खुसीयालीमा निकै लामो नाँच सोरठी (ठूलो नाँच, नचरी) नाँचियो । त्यहीबेला सोरठी नाँच्नेहरूले बलिराजाको आख्यान जोडेर नाँच्न गाउन थालेको तिहार पर्व आजभोलि फाइलो भन्न छाडेर भैलो भएको छ । त्यही फाइलो–फाइलो भन्ने शब्द नै समयक्रमसँगै अपभ्रंश भई कालान्तरमा भैलो हुन गएको विभिन्न अध्ययनले समेत देखाएको छ । तर, नेपालको हिन्दूसापेक्ष एकजातीय शासन सत्ताले हरेक संस्कृतिलाई हिन्दूकरण गरेझैँ फाइलो–देउसी अर्थात् हालको भैलोलाई पनि हिन्दूकरण गरेको छ । यो पर्व हिन्दूकरण हुनुको मूल कारण इतिहासकार तथा अध्येताहरू पनि तागाधारी र हिन्दूहरू भएकोले आफूलाई सजिलो हुने गरी सार्वजनिक गर्ने र त्यहीअनुसार व्याख्या गर्ने गर्नाले हो ।

बलिले कब्जा गरेको स्वर्ग कहाँ छ ?

सदियौंँदेखि लाटा अनि एकात्मक शासन व्यवस्थाबाट पिल्सिँदै आएका र अध्ययन, खोज र अनुसन्धानमा खासै चासो नदिने मगर जाति र अन्य जनजातिकै कारण यस्तै मौलिक महत्त्व बोेकेका हाम्रा अनेकौँ संस्कृतिहरू हिन्दूकरण भएका छन् । मगर राजाको इतिहासँग जोडिएको यस्तो ऐतिहासिक पर्वलाई तागाधारीले पुराण कथासँग जोडेर व्याख्या गर्ने गरेका छन् । उसो त उनीहरुले पनि बलिराजालाई दानी व्यतित्वका रूपमा व्याख्या गरेर जसले जे माग्यो, त्यही दिने अति उदार स्वाभावका भनेका छन् । अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे ।

कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? राजा इसापूर्व १४ औँ शताब्दीका मगर राजा बलिहाङ पाल्पाका थिए भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । उनले कहिल्यै स्वर्ग कब्जा गरेनन् र स्वर्ग भन्ने कस्तो हुन्छ उनले कहिल्यै देखेनन् न त अहिलेसम्म कसैले स्वर्ग देखेको छ । केही मगर इतिहासकार र अध्येताले यसलाई मगरको इतिहास बंग्याउने प्रपञ्च मानेका छन् । बरु, बलिराजाले पाल्पा आसपासमा भएका स–साना मगर राज्यहरू कब्जा गरेर शक्तिशाली र निकै दानी राजा भएर बसेका थिए जसमा एकमत छन्, इतिहासकार ।

तर, त्यता नलागी हामी संसारमा अस्तित्वमा रहेका तत्वहरूमाथि छलफल गर्न सक्छौँ । बलि हिन्दू पुराणमा उल्लेख प्रसिद्ध दानव राजा हिरण्य कश्यपका पनाति, प्रह्लादका नाति, विरोचन र सुरुचिका छोरा थिए भनिएको छ । यसमा सत्यताभन्दा किंवदन्ती बढी देखिन्छ । पुराण यथार्थसँग कतै गएर मिल्दैन । यो केवल काल्पनिक कथामा संयोगले बलि त्यहाँ जोडिन आइपुग्छन् । आधुनिक अनुसन्धानले देखाएको छ, स्वर्ग र नर्क नामको अस्तित्व पुराना धामिर्क पुस्तकहरूमा बाहेक अन्यत्र कतै छैन । हाम्रो सौर्यमण्डल नै हामीले जानिसकेका छैनौँ जहाँ केवल ९ वटा ग्रह छन् ।

ती ग्रहमध्ये एक पृथ्वी नामक ग्रहमा मानिसको बसोबास छ भने अन्य कुनै स्थानमा मानिसको बसोबास पाइएको छैन । यसर्थमा, पृृथ्वीभन्दा बाहिर राज गरेर बस्ने कोही छन्, स्वर्ग छ, जहाँ इन्द्र नामका राजा छन् भन्ने जस्ता कुरा खाल कल्पना मात्र हुन् । त्यसैले, बलिराजाले इन्द्रको राज्य स्वर्ग कब्जा गरेको भन्ने कुरा पनि काल्पनिक हो । स्वर्गलोक, मर्त्यलोक, पाताललोक, महापाताललोक आदि त पृथ्वीकै विभिन्न भूभाग र दिपहरू हुन् । तथापि, बलि राजाले शासन गरेको तत्कालीन पाल्पा राज्य त्यतिबेलाको सबैभन्दा समृद्ध राज्य भएकोले पो त्यसैलाई ‘स्वर्ग’ भनिएको त होइन ? बरु, अध्ययनको विषयचाहिँ यो हुनसक्छ ।

तीन दिनको फाइलो, तिहार र यमपञ्चक

बलिराजाले ३ दिनसम्म खुसीयाली मनाउन भनेकाले खास तिहार पनि ३ दिन मात्रै हुन्छ । ३ दिन नै यसलाई धुमधामसँग मनाइन्छ । अहिले लक्ष्मी पूजा भनेर मनाइने दिनदेखि नै तिहार पर्वको रौनक बढ्छ । सुरुवाती कालदेखि हिन्दू देवी लक्ष्मीको पूजा हुन थालेको हो या कालान्तरमा त्यसरी मनाउन थालियो ? त्यस दिन औँसी अर्थात् कालरात्री पर्ने हुनाले त्यतिखेरका प्रकृति पूजक मगरहरूले यसलाई महत्त्व दिएका त होइनन्, सोचनीय छ । किनकि, त्यतिन्जेल मगर समुदाय हिन्दूकरण नभइसकेको हुनाले समुदायगत रूपमै हिन्दू देवी पुजिनु तर्कसंगत देखिँदैन । औँसीकै दिन बलिराजालाई काल लिन आएको विश्वास गरिन्छ ।

त्यही काललाई जितेको दिनदेखि ३ दिनसम्म तिहार मनाइन्छ । केहीले हिन्दू मिथक र त्यसबाट सृजित मान्छेको वहिखाता राख्ने यमराज नभई बलि राजालाई लिन आउने त्यही समुदायले मान्ने अदृश्य शक्ति ‘काल’ हो पनि भन्ने गरेका छन् । तर, यो पर्वमा इतिहासभन्दा पुराणमा प्रयुक्त हुने मिथकका रोमाञ्चकता बढी आउने हुनाले यो पर्व वास्तविक भएर काल्पनिकताको जगमा उभिएको जस्तै हुन गएको छ । मूलतः श्रुतिको आधारमा हिन्दू पृष्ठभूमिका अध्येताहरूले यो इतिहास लेखेको हुनाले तिनले आफ्नो मान्यतालाई यसमा मिसाउन खोज्दा यो एउटा कथा जस्तो हुन गएको छ ।

इतिहास जसको हातमा कलम छ उसैले हो लेख्ने । त्यसो गर्दा आफ्नो समुदायको स्वार्थ गाँसिन्छ नै । यो पर्वमा पनि त्यो देखिन्छ । चलाख इतिहासकारहरूले यो तिहार पर्वलाई आफ्नो अनुकूल बनाउन यतिसम्म गरे कि ३ दिनको तिहारलाई आफ्नो धर्म यमपञ्चकसँग जोडेर व्याख्या गरे । मगरको सरोकार नै नभएको यमराजलाई त्यहीँ घुसाइयो । मानिलिऊँ, प्रकृति पूजक मगरले काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजा, भाइटिका लगाउने चलन चलाएका पनि होलान् । किनकि, प्रकृतिपूजकहरूले सूर्य, चन्द्र, तारा, वायु र पशुपंक्षी लगायत वनजंगललाई खुसी राख्नुपर्छ भनी पूजा गर्ने पनि गर्छन् । तर, सिन्धुघाँटी हुँदै भारतद्विपमा प्रवेश गरेका आर्यहरूले आफूभन्दा समृद्ध यो सभ्यतालाई काल्पनिक कथासँग जोडेर आदिवासीका संस्कृति र परम्परालाई वर्णशंकर बनाइदिएको कुरामा करिब सबै इतिहासकारहरूको सहमति देखिन्छ । ‘फाइलो’ त्यो राजनीतिबाट उम्कन सक्ने कुरै भएन ।

गाई खाने कथा

यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पूजा गरे होलान् र ? पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । पछि तिनलाई पक्राउ गरिएको थियो । अहिले पनि रुकुम रोल्पाका मगरहरूले गाई काटेर खाने चलन बाँकी नै छ । सांस्कृतिक रूपमा पर्गेल्दा केही विदेशी अध्येताहरूले मगरको नेपाल प्रवेश तिब्बतबाट रुकुम हुँदै भएको भनेका छन् । त्यसो त अहिले गाईलाई माता भनी पुज्नेहरूले कुनैबेला यज्ञमै गाईको बलि दिई मासु खाने गरेको शास्त्रमै भेटिन्छ । स्वर्गका देउता भनिएका इन्द्रले समेत कलिलो गाईको मासु र सुराको वर्णन गरेका छन् । त्यतिबेला गाई, घोडा, हात्तीजस्ता प्राणीको बलि चढाइन्थ्यो । यो प्रचलन बुद्धकालसम्म भेटिन्छ । बुद्धले यज्ञका नाममा हुने प्राणी हत्याको विरोध गरेपछि उनीभन्दा क्रान्तिकारी देखिन त्यतिबेलाका पण्डितहरूले गाईलाई माता बनाई पूजा गर्न थालेका हुन् । (रजनीकान्त शास्त्री, हिन्दू धर्मका उत्थान और पतन)

मगर पहिचानको धुलिसात

इतिहासकार, अध्येता अर्थात् कलम बोकेका तागाधारीहरूले काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजालाई आफ्नो शास्त्रअनुकूल व्याख्या गरी तिहारलाई यमपञ्चक भन्नु भनेको मगरहरूको मौलिक पर्वलाई तोडमोड गर्नु हो । अर्को कुरा, फाइलोमै चलाइएको सोरठी नाचलाई पछिल्लो समय हिन्दूवर्णाश्रममा आधारित बनाइएको छ । यो नाच र गीतमा हिन्दू राजाको बयान गरिन्छ । तर, वास्तावमा यो नाच तिनै बलिराजाको कथासँग जोडिएको छ । मगर राजाले स्थापना गरेको मगरको मौलिक पर्व तिहार हिन्दूहरूको मिथकसँग जोडेर यम पञ्चक नाम दिएर भ्रम सिर्जना गरिएको छ ।

अझ पछिल्लो समय त यतिसम्म गरिएको छ कि भैलो–भैलो भन्न छाडेर भैलीको पछाडि राम थपेर भैलीराम भन्दै भट्याउने गरिएको छ । फाइलो–फाइलोबाट अपभ्रंश हुँदै भैलोसम्म आइपुग्यो । यदि मगरहरूले आफ्नो इतिहासलाई नखोज्ने, अनुसन्धान, अध्ययन नगर्ने हो भने कालान्तरमा हाम्रो पूर्खाहरूले भैलीराम नै भन्थे भन्ने हाम्रै अनुज पुस्ताहरू हुनेछन् । अनि, मगर राजा बलिहाङले चलाएको एउटा ऐतिहासिक पर्व तिहारलाई पूरै हिन्दूकरण गरिनेछ र भनिनेछ कि मगरहरू परापूर्वकालदेखि नै हिन्दू थिए ! यदि गम्भीर नहुने हो भने दास बनाउने सबैभन्दा पुरानो र अहिलेसम्म चलिरहेको यो अचुक अस्त्रबाट मगर पहिचान धुलिसात हुनेछ !

सम्बन्धित समाचार