शुक्रबार , अषोज ४, २०८१

बागी उम्मेदवारका लागि प्रचण्डले मागे भोट

गठबन्धनका बागी उम्मेदवारका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाेट मागेका छन् ।

image

काठमाडौं । गठबन्धनका बागी उम्मेदवारका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोट मागेका छन् । धनगढीको चुनावी सभाका लागि हिँडेका प्रचण्डले कैलारी गाउँपालिकाका लागि उपप्रमुखमा बागी उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुका लागि भोट मागेका हुन् ।

उनले सोमबार कैलारी गाउँपालिकामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप गरेको कुरा आफूसामु आएको बताउँदै त्यसले तालमेलमा बाधा पुर्‍याउन सक्ने जनाएका छन् । काँग्रेसको गतिविधिले गठबन्धनमा भरोसा नरहेको पनि उनले जनाए । उनले आफ्नै क्षमतामा चुनाव लड्न आफ्ना उम्मेदवारलाई निर्देशन समेत दिएका छन् । सोही क्रममा उनले कैलारी गाउँपालिकाकी उपप्रमुखका लागि भोट मागेका हुन् ।

पाँच दलीय गठबन्धनको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा रहेको छ । तर, माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले बागी उम्मेदवार दिइन् । गठबन्धनको उम्मेदवारविरुद्ध बागी दिएका कारण उनलाई कारबाही गरिएको थियो । तर, सोमबार प्रचण्डले सार्वजनिक रूपमा उनलाई अत्यधिक मतले जिताउन अपिल गरेका हुन् ।

‘गठबन्धनमा काँग्रेसको भूमिका राम्रो नदेखिने सङ्केत देखिएको छ,’ उनले भने, ‘उसले ठाउँ ठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ, त्यसैले कैलारी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई नै भोट दिएर जिताउन आग्रह गर्दछु,’ उनले अगाडी भने, ‘काँग्रेसको एक स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री देउवासँगै आएका छौँ, उहाँसँग कुरा गरेर काँग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ, हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु ।’

प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि गठबन्धनमा फाटो पर्नसक्ने देखिएको छ।

सम्बन्धित समाचार