बिहिबार , मंग्सिर ६, २०८१

लुम्बिनीमा विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो

image

काठमाडाैं । कोरोना महामारीपछि सुस्ताएको बुद्धजन्मस्थल लुम्बिनीमा विदेशी पर्यटक आवागमन बढेको छ । कोभिड महामारीपछि लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या पछिल्लो एक वर्षमा निकै उत्साहजनक रूपमा वृद्धि भएको हो।

लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२३ को जुलाई महिनासम्म नेपाली, भारतीय र अन्य मुलुकका गरी ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । गतवर्ष सन् २०२२ मा जुलाई महिनासम्म ४ लाख ६५ हजार ९ सय ७९ जना पर्यटक लुम्बिनी आएका थिए ।

यो हिसाबले गत वर्षभन्दा ९४ हजार ३४६ बढी पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । गत वर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए ।

उनले नेपाली, भारतीयसँगै सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकहरूको आवागमन वृद्धि भएको देखिएको बताए । उनका अनुसार गतवर्ष जुलाईसम्म नेपाली पर्यटकले ३ लाख ५५ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो वर्ष त्यो सङ्ख्या वृद्धि भएर ३ लाख ७९ हजार पुगेको छ ।

त्यस्तै गतवर्ष भारतीयहरू पर्यटकको सङ्ख्या १ लाख ६ हजार भएकोमा यो वर्षको जुलाईसम्म १ लाख ४३ हजारले भ्रमण गरिसकेको अधिकृत राईले बताए । कोभिड महामारीपछि सबैभन्दा निकै कम मात्रामा आएका पासपोर्टधारी पर्यटक अर्थात् नेपाल र भारत बाहेकका पर्यटकको सङ्ख्या यो वर्ष निकै उत्साहजनक देखिएको सूचना अधिकृत राईको भनाइ छ ।

उनका अनुसार गतवर्ष जुलाईसम्म ३ हजार ९ ७५ पर्यटकले लुम्बिनी पाइला टेकेकोमा यो वर्ष सङ्ख्या ह्वात्तै वृद्धि भएर ३६ हजार ९९७ पुगेको छ । यो ८ सय ३० प्रतिशतले वृद्धि भएको हो । कोभिडको समयमा विश्व घुम्न नपाएकाहरू बिस्तारै भ्रमणमा निस्कन थालेकाले पर्यटक सङ्ख्या वृद्धि भएको उनले बताए ।

युक्रेन रुस युद्धका कारणले पनि शान्ति खोज्दै शान्तिभूमि लुम्बिनी भ्रमणमा आएको देखिएको राईले बताए । यहाँ आउने धेरै विदेशी पर्यटकमा थाइल्यान्ड, श्रीलङ्का, म्यानमार, साउन कोरिया र चीन रहेका छन् । यसका साथै जर्मनी र फ्रान्सबाट समेत पर्यटकहरू लुम्बिनी भ्रमणमा आएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको आवागमन वृद्धि हुँदै गएकाले सन् २०२३ को अन्तिमसम्म २० प्रतिशतसम्म वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

Tags:

सम्बन्धित समाचार