बिहिबार , कार्तिक २९, २०८१

आहा! हेर्नुस् त ‘नारच्याङ झरना’को सुन्दरता

image

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित नारच्याङ झरनाले पर्यटकलाई खुब लोभ्याउँछ । अग्लो पहाडको टुप्पोबाट कलकल झर्ने सङ्लो पानी निकै सुन्दर, आकर्षक अनि मनमोहक देखिन्छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुले झरनालाइ पृष्ठभूमिमा पारेर तस्बीर खिच्नका लागि भए पनि केही समय त्यस क्षेत्रमा बिताउने गर्दछन् ।

तीन सय मिटर माथिबाट झर्ने झरना समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित छ । झरना कहिले बन्यो भन्नेतर्फ भन्दा पनि नारच्याङमा मानव बस्ती सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै झरना रहेको स्थानीयको अनुमान छ । फरक विशेषता बोकेको यस झरनामा म्याग्दी, बागलुङ, मुस्ताङ र पोखरासहित विदेशबाट पर्यटकहरु आउने गरेका छन् ।

राष्ट्रिय महत्वको बेनी–जोमसोम–कोरला सडकखण्डबाटै देखिने तथा नजिकमा पर्ने भएकाले बेनी जोमसोम सडक खण्डमा यात्रा गर्ने अधिकांश पर्यटकहरु नारच्याङ झरनामा पुगेर रमाउने गर्दछन् । पर्यटकलाई लक्षित गरेर नारच्याङ गाउँमा होमस्टे समेत सञ्चालन गरिएको छ । नारच्याङ झरनाभन्दा माथि मानव वस्ती छैन । झरनाको मुल देखि नै मानवीय असर नभएको हुँदा झरनामा कृतिम फोहोर नपरेकोले सफा छ । झरनाको तल फेदीमा भुमेको थान (मन्दिर) बनाइएको छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप रौनक थपिदिएको छ । वर्षको एकपटक भुमेथानको मन्दिरमा पुजा गर्ने गरिन्छ । यो मन्दिरमा बोका र कुखुराको भाले बलि दिइन्छ ।

नेपालकै चर्चित मध्ये म्याग्दीको अन्नपूर्ण–३, दानामा रहेको रुप्से र अन्नपूर्ण–४, नारच्याङको नारच्याङ झरनालाई मानिन्छ । रुप्से झरना रुप्सेको नजिकमा पुगेपछि मात्रै देख्न सकिन्छ । तर, नारच्याङ झरना भने अलिक टाढै बाट पनि देख्न सकिने भएकाले यसालाई सबैले महत्वका साथ हेर्ने गरेका छन् ।

बेनी–जोमसोम सडकखण्ड र त्यस आसपासको क्षेत्रबाट अवलोकन तथा फोटोसेसन गर्न सकिने भएकाले यस झरनामा पुग्न पर्यटकहरुलाई सहज र सजिलो छ । नारच्याङको बेंसीगाउँबाट आधा घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ ।

 

 

सम्बन्धित समाचार