सोमबार , भाद्र २४, २०८१

ठाउँ-ठाउँमा एमाले कार्यकर्तामाथि आक्रमण

मङ्गलवार साँझ गठबन्धनका कार्यकर्ताले त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा एमाले कार्यकर्तामाथि आक्रमण गर्दा ४ जना गम्भीर घाइते भएका छन् । एमालेले त्रिपुरा सुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा घरदैलो गरिरहेको बेला सो आक्रमण भएको हो ।

image

काठमाडौं । मङ्गलवार साँझ गठबन्धनका कार्यकर्ताले त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा एमाले कार्यकर्तामाथि आक्रमण गर्दा ४ जना गम्भीर घाइते भएका छन् । एमालेले त्रिपुरा सुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा घरदैलो गरिरहेको बेला सो आक्रमण भएको हो ।

त्रिपुरा सुन्दरी गाउँपालिका–१ का २५ वर्षीय हरि श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक सो आक्रमणबाट गम्भीर घाइते भएका छन् । सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेहरूको उपचार गरेपछि थप उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा ल्याइएको छ । नेकपा एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरि पन्तका अनुसार आक्रमणबाट १० जना भन्दा बढी सामान्य घाइते भएका छन् ।

एमालेको कार्यक्रममा त्रिपुरा सुन्दरी गाउँपालिका–१ का नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भिमप्रसाद भट्टले खुँडा ल्याएर प्रहार गरेपछि आक्रमण भएको थियो । जनपथ प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेर घटनालाई नियन्त्रणमा लिएका थिए । प्रहरीले कसैलाई पनि गिरफ्तार भने गरेको छैन ।

एमाले कार्यकर्तामाथि सिद्धलेक गाउँपालिका–५ बाघबचछला नजिकै पनि आक्रमण भएको छ । आक्रमणबाट कार्यकर्ता गम्भीर घाइते भएको जनाइएको छ । चुनावी कार्यक्रम सकेर घर फर्किने क्रममा सिद्धलेक गाउँपालिका –५ निवासी २६ वर्षीय राकेश श्रेष्ठलाई माथि आक्रमण भएको बताइएको छ । टाउकोमा गम्भीर चोट लागेको श्रेष्ठको मलेखु स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका नेता बुद्ध गुरुङको नेतृत्वमा आक्रमण भएको जनाइएको छ । नेकपा एमाले जिल्ला सचिव अर्जुन श्रेष्ठका अनुसार आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिनेछ ।

Tags:

सम्बन्धित समाचार