बुधबार , कार्तिक २८, २०८१

७२७ पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?

नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ । यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ ।

image

काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ । यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ ।

कांग्रेसले हालसम्म १३२ मेयर र १८८ अध्यक्षसहित ३२० वटा पालिकाको प्रमुख पद जित हात पारेको छ । यस्तै १०४ पालिकामा उपमेयर र १८९ पालिका उपाध्यक्षसहित कुल २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

यस्तै नेकपा एमालेले हालसम्म १ सय ९८ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २६ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ ।

यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ। यस्तै विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ ।

१२ जना स्वतन्त्र उम्मेदवारले २ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएका छन् । त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन् ।

अब २४ पालिकाको नतिजा आउन बाँकी छ। जसमा नेकपा एमालेले ६ वटा पालिकामा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ५, जसपाले ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २/२ जनाले अग्रता लिएका छन् ।

२ वटा पालिकामा अझै गणना हुन सकेको छैन ।

सम्बन्धित समाचार