बिहिबार , मंग्सिर ६, २०८१

पुस्तकालय, प्रवृत्ति र अवस्था

कर्णालीमा विद्यार्थीको नियमित पठनपाठन भएको ८ महिनापछि बल्लतल्ल पाठ्यपुस्तक पुग्ने गरेको छ ।

image

किताब पढ्नुपर्छ भन्ने चेत धेरै कम मानिसमा हुने गर्छ । पढ्नु, चिन्तन गर्नु, विभिन्न कोणबाट विषयवस्तुलाई व्याख्या/विश्लेषण गर्नु कदापि सजिलो छैन । यस्तो चेतका लागि अध्ययन गर्नैपर्छ, विविध विषयका पुस्तक पढ्नैपर्छ ।

पुस्तक पढ्नु/किन्नु फेरि अर्को चुनौतीको विषय हो । कतिपय  पुस्तक धेरै महँगा हुन्छन् । सामान्य पाठकलाई किन्न सहज हुँदैन । त्यस्तै, विभिन्न अध्ययन/अनुसन्धानका लागि विविध विषयवस्तुका पुस्तक, उद्धरण तथा साहित्य-समीक्षाको लागि आवश्यक पर्छ । यस्तो अवस्थामा आवश्यक किताब किन्न आर्थिक हिसाबले पनि जटिल हुन्छ नै । तर, यी तमाम समस्यालाई चिर्न, ज्ञानलाई भण्डारण गर्न, एकमात्र उत्तम विकल्प भनेको पुस्तकालय स्थापना गर्नु हो ।

पुस्तकालय अर्थात् ज्ञानको मन्दिर, जहाँ विभिन्न ज्ञानका पुस्तकको भण्डारण गरिन्छ, पूजा गरिन्छ । सभ्य तथा सुसंस्कृत समाजमा पुस्तकालयले ठूलो महत्त्व र अर्थ राख्दछ । समाजको चरित्र र संरचना बुझ्नलाई यिनै ज्ञानका मन्दिरको अवस्था हेरे पुग्छ । नेपालको वर्तमान सामाजिक-राजनीतिक चेतनाको अवस्था बुझ्न अस्तव्यस्त समाज र राजनीति देखिरहिएकै छ । त्यसलाई थप उजागर गर्न समाजलाई परिवर्तन र रूपान्तरण गर्न सेतुको भूमिका निर्वाह गर्ने पुस्तकालयको अवस्था हेरे पुग्छ ।

हाम्रा पुस्तकालय कस्ता छन् ? हाम्रो समाज कस्तो छ ?

दुईवटा ठाउँ छन्- ‘नासा र खासा ।’ नासा विश्वको ब्रेन निकाय बन्न पुगेको छ । संसारका नाम कहलिएका वैज्ञानिक/विद्वान यसै संस्थामा जोडिन लालायीत हुन्छन् । विश्वमा देखिएका अनौठा आविष्कार, अनुसन्धान यही ठाउँमा हुन्छ । खोज अनुसन्धान दिनहुँ तीव्रताका साथ चलिरहेको हुन्छ । वैज्ञानिकको कौतुहलता र तीव्रतालाई साथ दिने काम यहाँका विशाल पुस्तकालय र प्रयोगशालाले गरेका छन् । फलतः नासा विश्वको ब्रेन भएको छ । यो ब्रेन निर्माणमा यहाँको पुस्तकालयको भूमिका अतुलनीय छ । एउटा कल्पना गरौँ त- पुस्तकालय बिनाको नासा कस्तो  हुँदाे हो ?

नासासँग छन्द मिल्ने अर्को  ठाउँ  हो खासा ! हाम्रा छिमेकीको भूमि । केही समयअगाडि धेरै सस्तो चिनियाँ सामाग्री किन्ने ठाउँ, पाउने ठाउँ  । यही सस्तो सामान पाउने  ठाउँको एउटा रोचक कथा छ । यहाँ सामान नेपालीले सोधेपछि किन्नै पर्थ्यो । नकिनेको खण्डमा चिनियाँबाट कुटाइ खानुपर्थ्यो ।  त्यहाँका व्यापारीमा त्यस्तो तानाशाहीपन देखिनुमा थुप्रै तत्त्व हाबी छन् । ती अनेक तत्त्वमध्ये ज्ञानको कमी अवश्य हो । सायद त्यहाँ व्यापारी पसल गोदाम त प्रशस्त थिए । तर पुस्तकालय ? र त ती व्यापारीमा अहङ्कार र क्रोध थियो ।

नेपालको शैक्षिक अवस्था कस्तो छ बुझ्न बेलाबेलामा मिडियामा आइरहने समाचार हेर्दा हुन्छ । केही समयअघि ‘कवाडी गोदाममा भेटिए टियूका थेसिस्’ विषयमा समाचार आएको थियो । विश्वविद्यालयका थेसिस् ! त्यो पनि कवाडी गोदाममा ! आफैमा ठूलो बिडम्बना हो ।  त्यस्तै, हिजोआज ‘सङ्घीय राजधानीमै राज्यको स्वामित्वमा रहेको केशर पुस्तकालयको अवस्था’, त्यही परिसरमा भेटिएका नाजुक अवस्थाका पुस्तकउपरका समाचार आइरहेका छन् । राजधानीकै केन्द्रमा रहेको लामो इतिहास बोकेको पुस्तकालयको हविगत यस्तो छ । दूरदराजका कर्णालीमा पुस्तकालय कति छन् ? भएका पुस्तकालयको अवस्था कस्तो होला ?

थेसिस् कवाडी गोदाममा भेटिनु, पुस्तकालयको नाजुक अवस्था हुनु, राज्यको अवस्था चिन्ताजनक हुनु, सामाजिक कुसंस्कार बेथिति विद्यमान हुनु, संयाेग मात्र होइन । यसको पछाडिको प्रमुख कारकतत्व हाम्रो चिन्तन-मनन नै हो । अमेरिकी लाइब्रेरीको अवस्था हेरौँ, बेलायतका विभिन्न सहरका पुस्तकालयकाे अवस्था हेरौँ, अझ पुस्तकालयमा नभेटिएका अथवा उपलब्ध गर्न नसकिएका पुस्तकालय यथाशीघ्र उपलब्ध गराउने संस्कार । ओहो ! सुन्दा नै कति मजा आउँछ । र त आज अमेरिका विश्वशक्तिमान भएको छ । बेलायत, विश्वविख्यात छ । अनि,नेपालको अवस्था हाम्रै लाइब्रेरीजस्तै भएको छ । जसरी केशर लाइब्रेरीअगाडि किताब शिथिल थिए, ठ्याक्कै त्यस्तै शिथिल अवस्थामा हाम्रो राज्यसंयन्त्र छ ।

नेपालमा अविकास र विकटको पर्यायको रूपमा कर्णालीलाई लिइन्छ । पुस्तकालयको चश्माबाट कर्णाली हेर्दा कस्तो होला ? कर्णालीमा पुस्तकालयको कल्पना गर्नुअघि एउटा तीताेसत्य यस्तो छ- “विद्यार्थीको नियमित पठनपाठन भएको ८ महिनापछि बल्लतल्ल पाठ्यपुस्तक पुग्ने गरेको छ ।” कुनैदिन यो कल्पना यथार्थ बन्न सक्ला ? यस्तो विकराल अवस्थामा यहाँ व्यवस्थित पुस्तकालयको कल्पना सधैँको फिक्सनजस्तो लाग्छ ।

विशेषगरी, कर्णालीका अधिकांश जिल्लाका सदरमुकामबाहेक अन्य ठाउँमा पुस्तकालयको अवधारणा छैन भन्दा पनि हुन्छ । भए पनि कुनै  कवाडी गोदामभन्दा फरक अवस्थामा छैनन् । पुराना धुलो भरिएका मैला किताब, कुनै जीर्ण अवस्थाकाे घरभन्दा कम देखिँदैनन् ।

कर्णालीकाे अवस्था विश्व बजारमा तिनै जीर्ण पुस्तकालय, जीर्ण घरजस्तो रहेको छ । विकास, सुशासन हेर्न/बुझ्न पहिले एकपटक त्यहाँका पुस्तकालयको अवस्था हेरे पुग्ने रहेछ । कुन समाज कस्तो छ, त्यहाँ भएका पुस्तकालयको अवस्थाले  जवाफ दिनेरहेछ ।

अन्ततः समाजको विकास परिवर्तन रूपान्तरणकाे निम्ति राज्यले ज्ञानको भण्डारण गर्ने पुस्तकालयको उचित संरक्षण व्यवस्थापन र प्रवर्द्धन गर्न आवश्यक छ । अन्यथा, जहाँजहाँ पुस्तकालयको नाजुक अवस्था छ, त्यहाँको सामाजिक आर्थिक अवस्था पनि नाजुक छ ।

सम्बन्धित समाचार