मंगलबार , मंग्सिर ४, २०८१

एलजीबीटीक्यूआई : पछिल्ला दशकमा हिन्दी सिनेमाको भूमिका

आनिरले आफ्नो किताबमा आफू समलैङ्गिक भएको यात्रा, त्यसको एक्लोपन सबै बयान गरेका छन् । उनको किताबको ट्याग लाइन छ, ‘इक्वालिटी नन् नेगोशिएबल’ यानिकी समानतालाई लिएर कुनै पनि किसिमको तोल-मोल हुन सक्दैन ।

image

‘यस चलचित्रका पात्र, कथा र घटना काल्पनिक हुन् । कुनै पनि जाति, जीवित या मृत व्यक्तिसँग यसको कुनै सम्बन्ध छैन । र यदि छन् भने ती काल्पनिक हुन् ।’

धेरै फिचर चलचित्रभन्दा अघि यस्ता अनिवार्य जस्तै केही लाइनहरू देखाइन्छ, ताकी तपाईँको दिमागमा यो रहोस् कि अगाडीको दुई-तीन घण्टासम्म जुन चलचित्रका पात्रलाई हाँस्दै-खेल्दै-रुँदै, पिडा सहँदै र कुनै बेला मरेको देख्नुहुनेछ, ती सबै काल्पनिक रूपमा चित्रण गरिएका हुन्, जसको वास्तविकतासँग टाढा-टाढासम्म कुनै सम्बन्ध छैन ।

यस्तै लाइन सन् २००५ को बलिउड चलचित्र ‘माई ब्रदर निखिल’ सुरु हुनुभन्दा अघि पर्दामा देखिएको थियो । याद छैन भने युट्युबमा गएर हेर्न सक्नुहुन्छ । तर, फरक यति हो कि यो चलचित्रमा देखाइएको यी तीन लाइन सत्य होइनन् ।

किनकि चलचित्र ‘माई ब्रदर निखिल’ डोमेनिक डिसुजा नामक युवाको वास्तविक जीवनबाट प्रेरित थियो । यी पात्र काल्पनिक थिएनन् । सिनेमागत आवश्यकता अनुसार परिमार्जन गरिएको भए पनि यो पात्रको सम्बन्ध हाड-मासुले बनेको एक वास्तविक मान्छेसँग थियो ।

गोवामा बस्ने डोमिनिक समलैङ्गिक थिए र उनी भारतका पहिला व्यक्ति थिए, जसलाई एचआईभी पोजेटिभ देखिएको थियो । यो कुरा सन् १९८९ को हो ।

भ्यालेन्टाइन डेको बिहान अचानक डोमिनिकलाई पुलिसले गिरफ्तार गरेर लग्यो र टेस्टपछि उनलाई सेनिटोरियम पठाइयो । र, त्यहाँबाट अदालतले उनलाई ‘हाउस अरेस्ट’मा पठाइदियो । निकै महिनाको कानुनी लडाइँपछि जब डोमिनिक नजरबन्दबाट स्वतन्त्र भए, तब उनले एड्सको क्षेत्रमा धेरै काम गरे । तर १९९२ मा उनको निधन भयो ।

‘माई ब्रदर निखिल’

प्रत्येक वर्षको जुन महिनालाई ‘प्राइड मन्थ’को रूपमा मनाउने गरिन्छ, जहाँ एलजीबीटीक्यूआई समुदायका मुद्दामाथि कुरा हुन्छ । ‘माई ब्रदर निखिल’ समलैङ्गिकताको विषयमा एक आवश्यक चलचित्र हो । तर, जब निर्देशक आनिरले यो चलचित्र बनाए, त्यतिबेला यसलाई बनाउनु त्यति सजिलो भने थिएन, न यसलाई सेन्सरबाट पास गराउन सजिलो थियो । सन् २००५ सम्मको समय यस्तो थियो, जब भारतमा समलैङ्गिकता अपराधको श्रेणीमा पर्थ्यो ।

आफ्नो किताब ‘आई एम आनिर एन्ड आई एम गे’मा आनिर लेख्छन्, ‘सेन्सर बोर्ड स्क्रिनीङका दिन संजय सुरी र म बाहिर उत्सुकतापूर्वक पर्खिरहेका थियौँ । मेरा घुँडा डरले कापीरहेको थियो । कोठामा मौनता छाएको थियो । सेन्सर बोर्डका सदस्यले भने कि हामीलाई तपाईँको चलचित्र राम्रो लाग्यो र यसलाई यू सर्टिफिकेट दिन सकिन्छ, तर मैले सुरुमा एउटा डिस्क्लेमर लगाउनु पर्ने हुन्छ कि सबै काल्पनिक हो र वास्तविक घट्नामा आधारित छैन । त्यसैले हामीले चलचित्रमा यो कुरा लेख्न पाएनौँ कि चलचित्र डोमिनिकको वास्तविक जीवनबाट प्रेरित थियो । यद्यपि हामीले यो कुरा सबै ठाउँमा बडो प्रेमपूर्वक सुनायौँ र मान्यौँ ।

एलजीबीटीक्यूआइको मुद्दामा बनेका केही मुख्य चलचित्र

दरमियां– १९९७
तमन्ना– १९९७
फायर– १९९६
माई ब्रदर निखिल– २००५
अलीगढ– २०१४
एक लडकी को देखा तो ऐसा लगा– २०१९
बधाई दो– २०२२

माई ब्रदर निखिल एक यस्तो जमानामा बनेको चलचित्र हो, जब ‘धारा ३७७’ भारतीय दण्ड संहिताको हिस्सा थियो । यसको मतलब यो थियो कि वास्तविकता जानेर पनि चलचित्र निर्माता उक्त व्यक्तिको उपस्थिति अस्वीकार गर्न मजबुर भएका थिए, जसको कारणले उनीहरूको पात्र र चलचित्रको अस्तित्व थियो । गोवाको उक्त पात्र समलैंगिक थिए, उसलाई एड्स थियो । आनिरको किताब अनुसार यसले गोवाको छविलाई नोक्सान पुर्‍याउन सक्छ ।

फिल्म बधाई दो

समलैङ्गिकतामा बनेका चलचित्र

एलजीबीटीक्यूआइको मुद्दामा चलचित्र बनाउनु लामो समयसम्म हिन्दी सिनेमामा एक नाजुक र जटिल मुद्दा रहेको थियो । आजको समयमा ‘बधाई दो’, ‘चन्डीगढ करे आशिकी’, ‘एक लडकीको देखा तो ऐसा लगा’ जस्ता चलचित्र बनाउनु, प्रदर्शनमा ल्याउनु सजिलो भएको छ तर, यहाँसम्मको यात्रा निकै कठिन थियो ।

यो समयभन्दा अघिको जमानामा न समाज नै यसको लागि तयार थियो, न चलचित्र निर्माता । अक्सर एलजीबीटीक्यूआइ समुदायसँग सम्बन्धित पात्र, पात्र नभएर ठट्टाको माध्यम हुन्थे । जानीनजानी ठुला-ठुला चलचित्रमा त्यस्तो हुँदै आएको छ । चलचित्र ‘शोले’मा हिटलरको जमाना वाला जेलरलाई सम्झनुहोस् र जेलमा बन्द कैद जय-वीरुसँग कैदी नम्बर ६ ।

त्यो रोल केही मिनेटको मात्र छ र केही पनि प्रत्यक्ष रूपमा बोलिएको छैन, तर जुन किसिमले कैदी नम्बर ६ ले जेलरलाई हेर्छ, धर्मेन्द्रसँग कुरा गर्ने क्रममा उसको जुन हाउभाउ हुन्छ । त्यो हाउभाउबाट तपाई बुझ्नुहुन्छ कि ऊ को हो । र उसको कमिजमा लेखिएको ‘कैदी नम्बर ६’ले उसको छवि बलियो बनाउँछ । सबै जान्दछन् कि कसरी ‘छक्का’ ट्रान्स समुदायका लागि अपमानजनक शब्दको रूपमा प्रयोग गरिन्छ ।

यद्यपि त्यो समयमा एलजीबीटीक्यूआइलाई लिएर जति बुद्धि र संवेदनशीलता थियो, त्यसकै डुङ्गामा खुट्टा राखेर आजको समयसँग तुलना गर्नु ठिक नहुन सक्छ । तर, यसलाई अस्वीकार गर्न पनि सकिँदैन ।

७०, ८० र ९० को दशकका चलचित्र उठाउनुहोस् र तिनमा दबिएको-घोटिएको आवाजमा देखाइएको समलैंगिक या ट्रान्स पात्रलाई एकपटक फेरी नजिकबाट नियाल्नुभयो भने फरक बुझ्नु हुनेछ । लेस्बियन पात्रलाई देखाउनु त अझ टाढाको कुरा हो ।

१९७१ को ‘बदनाम गली’

यहाँ १९७१ को एक यस्तो चलचित्रको बारेमा कुरा गर्नु आवश्यक छ, जसलाई धेरै चलचित्र विशेषज्ञले समलैङ्गिकताको विषयलाई छोएको पहिलो हिन्दी चलचित्र पनि भन्छन् । ‘बदनाम गली’ नामको यो चलचित्र प्रेम कपुरले बनाएका थिए । चलचित्रका कलाकारहरूको नाम सायदै तपाईँले सुन्नु भएको होला- नितिन सेठी, अमर कक्कड र नन्दिता ठाकुर । त्यो समय यो चलचित्रलाई एनएफडीसीले प्रोड्युस गरेको थियो । हेर्नका लागि चलचित्रको खोजले मलाई लेखक मनीष गायकवाडको आर्टिकलसम्म पुर्‍यायो, जसले यो चलचित्रमाथि निकै शोध गरेका थिए ।

चलचित्रको बारेमा पढेपछि थाह हुन्छ कि यसमा प्रत्यक्ष रूपमा समलैङ्गिकता दर्शाइएको छैन, तर एक ट्रक ड्राइभर र ऊसँग काम गर्ने एक युवकको कथा, जति स्वतन्त्रता १९७१ को सीमित माहोलले चलचित्र निर्मातालाई दिएको होला, त्यही अनुसार समलैङ्गिकताको विषयलाई छोएर गुज्रिन्छ ।

तर त्यो जमानामा यो विषयलाई रोज्नु र चलचित्र बनाउनु नै आफैँमा एक चुनौती रहेको थियो होला । यस्तै एक कोसिस १९९५ मा भयो र यसलाई वास्तवमै हिन्दीको पहिलो समलैङ्गिक चलचित्र भन्न सकिन्छ । जसमा खुला रूपमा यो विषय उठाइएको छ । ‘अधूरे’ नामक यो चलचित्रमा इरफान खानले काम गरेका थिए, तर यो चलचित्र सेन्सर बोर्डले पास गरेको थिएन । लेखक मनीष गायकवाडले हालै यो चलचित्रको चर्चा गरेका थिए, त्यसपछि यो चलचित्रको प्रिन्टलाई लिएर फेरी चर्चा सुरु हुन थालेको छ, आखिर यसको प्रिन्ट कोसँग छ ।

समलैङ्गिक पात्र केवल अभद्रताका लागि ?

यो बहस लगातार जारी छ कि के र कसरी एलजीबीटीक्यूआइ समुदायसँग सम्बन्धित पात्रको अभद्रता प्रदर्शन गरिन्छ । २०१९ मा आएको ‘हाउसफुल’ जस्तो सफल फ्रेन्चाइज चलचित्रको यो डाइलगलाई नै लिनुहोस्, जसमा एक पात्रले भन्छ, ‘इसके जेंडर का टेंडर नहीँ हुआ ।’

यदि रिवाइन्ड मोडमा हेर्न बस्ने हो भने पछिल्लो २-३ दशकको सबैभन्दा सफल र राम्रो चलचित्रमा यी समस्या देख्न सकिन्छ । ती चलचित्रमा यी पात्र या मजाकको माध्यम हुन्थे या एकदम नकारात्मक । जस्तै चलचित्र ‘सडक’मा महारानी (सदाशिव अमरापुरकर)को ट्रान्सजेन्डर पात्र । यद्यपि यो न्यारेटिभलाई तोड्ने या कमसेकम चुनौती दिने चलचित्र पनि आएका छन् ।

१९९७ मा आएको महेश भट्टको चलचित्र ‘तमन्ना’, जसले टिकु नाम गरेको एक ट्रान्सजेन्डर पात्र (परेश रावल) लाई तमाम स्टीरियोटाइपबाट टाढा एक यस्तो आम मान्छेको रूपमा देखाएको छ, जसको भावना छ, जसको एक बच्ची छ । तर के त्यो बच्चीले एक ट्रान्सजेन्डरलाई आफ्नो आमा या बुवाको रूपमा स्वीकार गर्न सक्छिन् । यो चलचित्र पनि वास्तविक घट्नामा बनेको थियो ।

१९९७ मै आएको कल्पना लाजमीको ‘दरमिया’मा एक आमा (किरण खेर) र उसको छोरा (आरिफ जाकारिया)को कथाको तहहरू खोलिएको छ । एक यस्ती आमा जसलाई थाह हुन्छ कि उसको छोरा किन्नर समुदायबाट रहेको छ । त्यसैगरी १९९६ मा आएको ‘दायरा’ एक ट्रान्सवेस्टाइट (निर्मल पाण्डे) र एक रेप सर्भाईवरको कथा हो, जसले लिङ्गको सामाजिक दायरालाई प्रश्न गर्छन् ।

यद्यपि सामाजिक स्तरमा सबैभन्दा ठुलो हङ्गामा १९९६ मा दीपा मेहताको चलचित्र ‘फायर’बाट भयो । दुई समलैङ्गिकको कथा र त्यो पनि दुई महिलाको । समाजको एक समूहले चलचित्रको साथ थिए भने एक समुह पुरै तरिकाले विरुद्ध ।

मलाई याद छ कि इन्डियन एक्सप्रेसको एक लेखमा नाज फाउन्डेसनकी अन्जली गोपालनले भनेकी थिइन्, “पुरुषवादी सोचलाई चुनौती दिने यो भन्दा ठुलो कुरा के हुन सक्थ्यो, जहाँ महिलाले भन्छन् कि उनीहरूलाई पुरुषको आवश्यकता छैन । स्वयम्लाई लेस्बियन मान्ने महिलाहरू आज पनि समाजको तल्लो वर्गमा राखिएका छन्  । त्यो चलचित्रले सबको मद्दत गर्‍यो, किनकि यसले धेरै मान्छेलाई एनक्यूजिवनेस माथि कुरा गर्न मजबुर गरेको छ ।“

१९९६ को ‘फायर’ देखि २०१९ को ‘एक लडकीको देखा तो ऐसा लगा’ सम्मको यात्रामा करिब २३ वर्ष लाग्यो, दुई महिलाको प्रेम भन्न, जुन दुई पुरुषको प्रेमकथा सुनाउनुभन्दा जोखिमले भरिएको छ । तर २०२२ मा यो जोखिम अभिनेता पनि उठाउदैछन्, लेखक पनि र चलचित्र निर्माता पनि ।

गजल धालीवाल- ट्रान्सवुमेन बन्ने कथा 

कुरा २०१४ को हो, जब कुर्ता र चुरीदार लगाएर आत्मविश्वासले भरिएकी एउटी केटी आमिर खानको शो ‘सत्यमेव जयते’मा आएकी थिइन् । उनको नाम थियो- गजल धालीवाल, र मलाई ती दर्शकको अनुहारमा देखिएको अचम्म र छक्क परेको भाव याद छ, जब गजलले बताइन् कि उनको जन्म केटाको रूपमा भएको थियो ।

गजलले मान्छेलाई आफ्नो बाल्यकालको तस्बिर पनि देखाइन्, जसमा उनी एक सिख केटा छिन् र पगडी लगाएका छन् । यिनै गजल धालीवालले चलचित्र ‘एक लडकीको देखा तो ऐसा लगा’को कथा लेखिन्, जुन दुई महिलाको प्रेमकथा थियो । गजल स्वयम् ट्रान्सवुमेन हुन् यानि सर्जरीपछि पुरुषबाट महिला बनेकी हुन् । ‘सत्यमेव जयते’मा उनले भनिन्, “जब म ५ वर्षकी थिएँ, त्यतिबेला पनि म आफूलाई केटी जस्तो महसुस गर्थे, जबकि म केटा थिएँ । उमेरसँगै यो महसुस अझै बढ्दै गयो । म केटी जस्तै बन्न, सजिन चाहान्थें । मलाई लाग्थ्यो कि म पुरुषको शरीरमा कैद भएर बसिरहेकी छु, मेरो आत्मा महिलाको हो ।”

गजलले ‘इन्क टक्स’को आयोजनामा बताएकी थिइन् कि १२ वर्षको उमेरमा उनले निद्राको औषधीले आत्महत्या गर्ने योजना समेत बनाएकी थिइन् । र जब पितालाई पहिलो पटक सुनाइन् तब उनले कुरालाई बेवास्ता त गरेनन्, तर भने कि ‘सायद यो अस्थायी चरण हो, जुन गुज्रिनेछ’ र बार-बार यही भनिरहे ।

पटियाला जस्तो ठाउँमा, मध्यम वर्गीय समाजमा सबैलाई यो कुरा बताउनु सजिलो थिएन कि उनी हुन चाहिँ  केटा हुन् तर, केटी जस्तो भएर बस्न चाहन्छिन् । चलचित्रमा काम गर्ने इच्छाले गजललाई मुम्बई ल्यायो, जहाँ उनले ट्रान्सजेन्डरको कथामा एक चलचित्र बनाइन् । यो चलचित्र बनाउने समयमा उनले धेरै ट्रान्स मान्छेसँग भेटघाट गरिन्, जसमध्ये कतिले आफ्नो लिङ्ग परिवर्तन गरेका थिए । जब यो चलचित्र गजलले आफ्नो आमाबुवालाई देखाइन्, तब उनीहरूको पहिलो प्रश्न यो थियो कि तिमी आफ्नो सेक्स चेन्ज सर्जरी कहिले गराउदैछ्यौ ? यो कुरा ‘सत्यमेव जयते’मा गजलले साझा गरेकी थिइन् ।

निकै लामो समय लाग्यो गजलको आमाबुवालाई गजलको संसार बुझ्न । तर पछि गजलका पिता भजन प्रताप सिंह र आमा सुकर्नी धलीवालले स्वयम् एउटा जिम्मा उठाए । उनीहरूले आफ्नो छिमेकमा गएर भने कि जसलाई अहिलेसम्म केटाको रूपमा चिन्दै आइएको थियो, ऊ अब चाँडै केटी बन्दैछिन् र सबले उनको समर्थन गरिदिनु होला । गजल जस्ता मान्छेको वास्तविक जीवन र नभनिएको कथा बा गुमनाम, असहजता र डरको पर्दाबाट बाहिर आउँदैछ ।

‘मार्गेरिटा विद अ स्ट्र’ एक फरक क्षमता भएकी केटीको यौन चाहनालाई खोतल्ने चलचित्र थियो, अनि २०२२ मा आएको ‘बधाई दो’ की सूमि (भूमि पेडनेकर) लेस्बियन हुन् र परिवारबाट बच्नका लागि एक समलैंगिक पुरुष (राजकुमार राव) सँग विवाह हुन्छ ।

जब सूमिकी साथी रिमझिमले भन्छिन् कि उनको घरका मान्छेले उनी लेस्बियन भएकाले उनीसँग सम्बन्ध तोड्छन् र उनलाई बुझ्ने कोसिस गर्दैनन्, तब निराश भएकी सूमि भन्छिन्, “कसैले बुझ्दैन यार, हामी भिन्न छौँ नि, त्यही भएर उनीहरूलाई लाग्छ कि हामी पर्वट (विकृत) हौँ । तर तुरुन्तै भित्रबाटै बागी सूमि यो प्रश्न गर्दै भन्छिन्, “ तर (अरूलाई) सम्झाउने पनि किन ? यो हाम्रो जीवनको खण्ड हो, पुरै जीवन त होइन नि।”

२०२१ मा आएको चलचित्र ‘चण्डीगढ करे आशिकी’ एक ट्रान्सवुमेनको कथा हो- गजल धालीवाल जस्तै । यो चलचित्रमा देखाइएको छ एउटा म्याचो म्यान जस्तो छवि भएको जिमको मालिक र हिरो कसरी यो कुरा स्वीकार गर्न सक्दैन कि जसलाई ऊ प्रेम गर्छ, उ एक ट्रान्सवुमेन हो । उसलाई ट्रान्स भनेको के हो भन्ने पनि थाह हुँदैन ।

चलचित्रमा ट्रान्सवुमेनको भूमिका निभाउने वाणी कपूर भन्छिन्, “तँलाई थाह छ समस्या के हो ? यो कुरा न तैँले पचाउन सकिरहेको छस् र न मै सक्न सकिरहेकी छु ।” पर्दामा देखाइएको यो उल्झन, समस्या र मुद्दा कुनै काल्पनिक कुरा नभएर परिवर्तनशील समयको वास्तविक मुद्दाहरू हुन् ।

चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’मा कार्तिक सिंह (आयुष्मान् ख़ुराना) समलैङ्गिक हुन् र उनको एक डाइलग छ, “साथीहरू, शङ्कर त्रिपाठी (गजराज राव) बिरामी छन्, धेरै बिरामी छन्, त्यो बिरामीको नाम हो- होमोफोबिया । हामीले सधैँ लडाई लड्नुपर्छ जिन्दगीमा, तर जुन लडाई परिवारसँग हुन्छ, त्यो बाँकी सबै लडाइँभन्दा खतरनाक हुन्छ ।”

चलचित्रमा देखाइने परिवार जस्तै, वास्तविक परिवार र समाज पनि यस मुद्दालाई लिएर त्यति नै बाँडिएका छन् । सदियौँदेखि चलिआएको पारिवारिक व्यङ्ग्य र नयाँ जमानाको कानुनी सत्य आज पनि धेरै पटक आमने-सामने उभिन्छन् ।

समलैङ्गिकतामा कानुन र समाजको धारणा

सहमतिले बनाएको सम लैंगिक सम्बन्धलाई अपराधको श्रेणीबाट बाहिर निकाल्ने भारत, नेपालपछिको दक्षिण एसियाको दोस्रो देश बनिसकेको छ । यो निर्णय आएको पनि करिब ४ वर्ष हुन लागेको छ र यसको बदलाव पनि देख्न थालिएको छ ।

के छ विभिन्न देशको कानुन ?

नेपाल – २००७ बाट अपराधको श्रेणीबाट बाहिर
भारत- सहमतिमा राखिएको समलैंगिक सम्बन्ध अपराध होइन
चिन- १९९७ बाट अपराधको श्रेणीबाट बाहिर
इरान- मृत्युको सजाय
फ्रान्स, अमेरिका, ब्रिटेन र न्युजील्याण्ड- समलैंगिक विवाहको अनुमति

‘अलिगढ’ जस्तो चलचित्रसँग जोडिएका स्क्रीनराइटर अपूर्व असरानीले ८० र ९० को बम्बईमा एक समलैंगिक युवकको आफ्नो कथा धेरै पटक साझा गरेका छन् र नयाँ परिवर्तन पनि गरेका छन् ।

उनले भनेका थिए, “१३ वर्षसम्म हामी कजन बनेको नाटक गरेर साथ बस्यौँ, ताकी हामी भाडाको घरमा साथ बस्न सकौँ । हामीलाई भनियो कि छिमेकीलाई तपाई के हो भन्ने थाह नहोस् । अब हामीले आफ्नो नयाँ घर किनेका छौँ । अब स्वयम् गएर छिमेकीलाई भन्छौँ कि हामी पार्टनर हौँ । समय आइसकेको छ कि एलजीबीटीक्यूआइ परिवारलाई पनि सामान्य बुझियोस् ।” यो कुरा अपूर्व असरानीले २०२० मा साझा गरेका थिए ।

ओटिटि र इन्टरनेट आएपछि एलजीबीटीक्यूआइ मुद्दा र परम्परासँग उनीहरूको भिडन्तको कथा बन्न थालेका छन् । चाहे त्यो कोंकणा सेन शर्माको ‘गीली पुच्ची’ होस्, ‘मेड इन हेवन’ या ‘शीर कोरमा’ होस् । अहिले भर्खरै स्ट्यान्ड अप कमेडियन स्वाति सचदेवाको भिडियो निकै भाइरल भएको थियो, जसमा उनले पहिलो पटक संसारलाई बताइन् कि उनी बाइसेक्शुयल हुन् ।

 इक्वालिटी नन-नेगोशिएबल छ..!

परम्परा र चलचित्रको कुरा भइरहेकाले निर्माता-निर्देशक आनिरको कुरामा फर्किऔँ, जसले यो लेखको सुरुवात गरेका थिए । आनिरले आफ्नो किताबमा आफू समलैङ्गिक भएको यात्रा, त्यसको एक्लोपन सबै बयान गरेका छन् । उनको किताबको ट्याग लाइन छ, ‘इक्वालिटी नन् नेगोशिएबल’ यानिकी समानतालाई लिएर कुनै पनि किसिमको तोल-मोल हुन सक्दैन ।

तर भावना, सत्य, सोसल कन्डिसनिंग, परम्परा, समानता र कानुनको यो चक्रमा अहिले धेरै चालहरू छन्, धेरै तहहरू छन्, धेरै अधुरा पक्षहरू छन्, इरफान खानको चलचित्र ‘अधूरे’ जस्तै । चलचित्रहरू यी जटिलताहरूको दर्पण मात्र हुन् ।

सम्बन्धित समाचार