– विजय लुइँटेल
यात्रा, जात्रा हो । दैनिक जीवनमा देख्न र महसुस गर्न नपाइने अनेक कुराहरूको अनुभव गर्न पाइन्छ यात्रामा । एउटा निर्धारित लयमा चलिरहेको जीवनलाई जीवन जिउने अरू पनि धेरै तरिका छन् भन्ने कुराको बोध गराउँछ यात्राले । यात्राहरू मध्ये पनि अझै पदयात्रा त कुनै आध्यात्मिक अनुभव भन्दा कम हुँदैन । करिब चार/पाँच ठाउँको पदयात्रापछि म यो कुरा भन्न सक्ने भएको छु ।
यसपालि कामको सिलसिलामा रसुवा जिल्लाको लाङटाङ पदमार्ग जाने अवसर मिल्यो । पदयात्रामा निस्कनु अघि जहिले पनि मेरो मनमा एउटा अनौठो बेचैनी पैदा हुने गरेको छ । हिमाली भेगको यात्रा गर्दा एउटा पदयात्रीले अनेकौँ दुःख झेल्नु पर्ने कुरा थाहा छ मलाई । पहिलो कुरा उकाली -ओराली गर्दा हुने शरीरको थकान अनि त्यसमाथि लेक लाग्न सक्ने खतरा । सोझो हिसाबमा सोच्ने हो भने सहरको आराममा आनन्दले दिन काटिरहेका मानिस पदयात्रामा निस्कनु निरर्थक लाग्न सक्छ। मलाई पनि अन्नपूर्ण बेस क्याम्पको पहिलो पदयात्रामा हिँड्दै गर्दा अब कहिले पदयात्रामा आउनु नपरोस् भन्ने भावना मनमा आएको थियो । थकानको कारणले मैले त्यसो भनेको थिएँ सायद । तर, त्यहाँबाट फर्केर आउँदा भने कहिले निस्किएर अर्को पदयात्रामा जान पाइएला जस्तो भएको थियो ।
धेरै दिनको पैदल यात्रा गरेर जब हिमाललाई या भनौँ ‘गन्तव्य’लाई आफ्नो सामुन्ने देखिन्छ, त्यसको अनुभव अलौकिक छ । म अझै पनि त्यो अनुभव बयान गर्ने शब्दहरूको खोजमा छु । हेरौँ कतिवटा पदयात्रा पछि म ती शब्द भेट्न सफल हुनेछु या, यी कुरा महसुस गर्नका लागि मात्र हुनकि, त्यो पनि समयले नै बताउला ।
पहिलो दिन नुवाकोट, अनि दोस्रो दिन स्याब्ररुबेसी बसेर तेस्रो दिनबाट हाम्रो पैदल यात्रा सुरु भयो । हामी भन्नाले मसँग अरू पाँच जना साथी पनि थिए । त्यसदिन हिँडेर लामा होटेल जाँदै गर्दा म पाइलाहरूबारे सोचिरहेको थिएँ । म सोच्दै थिएँ, मानिसका पाइला आफ्ना हरेक चालमा केही कुरा समाउँदै र केही कुरा छोड्दै हिँड्दछन् । जस्तै, मानिस हिँड्दा पाइलाले समयलाई पछि छोड्छ अनि समाउँछ, अनुभव र सम्झनाहरूलाई । पाइला कतै अनुभव समाउने चुम्बक त हैन ? म आफैलाई प्रश्न गरिरहेको थिएँ ।
पदयात्रासँग मेरो गाढा प्रेम बसेको छ । यसका हरेक कुराले मनलाई उत्साहित बनाउँछन् । म बेलुका कुनै अपरिचितको होटेल अथवा घरमा पुग्दा उनीहरूले मलाई कुनै आफ्नाले झैँ माया देखाउनेछन्, बेलुका पुग्ने ठाउँ म हिँडिरहेको यो ठाउँ भन्दा भिन्न हुनेछ, नयाँ भेषभूषा अनि नयाँ संस्कृति देख्न पाउनेछु भन्दै यात्राभर यस्तै कुराहरू सोचिरहेको हुन्छु ।
पहिलो दिन दिनैभर हिँडेर हामी लामा होटेल स्थित होटेल जङ्गल भिउ पुगेका थियौ । त्यहाँका होटेल सञ्चालक ‘उर्गेन दाइ’ हामीलाई स्वागत गर्न ढोकासम्मै आउनुभयो । दिनभर हिँडेका हामी डाइनिङ हलमा पल्टेर गफ्फिन थाल्यौँ । त्यही बेला रेड पान्डा देख्न पाएको अनुभव पनि सुनाउनु भएको थियो, उर्गेन दाइले । होटेल जङ्गल भिउमा त्यसदिन पुग्दा हामीलाई ग्राहक हैन पाहुना जस्तो व्यवहार गरियो ।
उर्गेन दाइ र वहाँको परिवारको सत्कार देखेर मैले त्यसदिन डाइनिङमा पल्टेर एउटा कविता कोरेको थिएँ ।
अपरिचितको घर
दिनभरि हिँडेको थकान बोकी
साँझ कुनै अपरिचितको घर सुस्ताउँछु
तिनको मुहार तिनको अस्तित्वझैँ अपरिचित छ
तिनको बोली मैले सुनेको हुन्न कुनै दिन जीवनमा
पहिचान फरक छ तिनको, बोली फरक छ
जीवनलाई हेर्ने विचार पनि फरक छ
तिनी को हुन् र किन छन्
त्यसको उत्तर को जान्दछ ?
म को हुँ र किन छु
त्यो पनि सायदै कोही जान्दछ
तिनको चुपचाप केही बोल्छ, तिनको आवाज जस्तै
तिनको होहल्ला केही बोल्छ, तिनको चुपचाप जस्तै
एक रात बिताउँदा तिनको सानो संसारमा
यति मात्र जान्दछु कि हामी एकै देश जन्मेका हौ
हामीबिच त्यसैले देशको सम्बन्ध छ
लामा होटेल छोडेर दोस्रो दिन हामी लाङटाङ गाउँतर्फ लाग्यौँ । अघिल्लो दिनको थकान अझै शरीरमा जीवित थियो । दुई ठुला पहाडको खोचमा रहेको लामा होटेल हुँदै हामी त्यसदिन हिमालको काखमा बसेको लाङटाङ गाउँ पुग्ने वाला थियौँ । सुरुमा लामा होटेल खुलेर, पछि त्यो ठाउँ चिनिन थालेकाले त्यस ठाउँको नाम लामा होटेल रहन गएको रहेछ ।
बाटोमा जाँदै गर्दा भएको एउटा ठट्यौली सम्झना आउँछ । दुई साथी केही अगाडि पुगेका थिए बिचमा म थिएँ, अनि म पछाडि थप तीन साथीहरू थिए । बिस्तारै अघि बढ्दै गर्दा अगाडिका दुई साथीलाई ढुङ्गाको चेपमा चियाइरहेको देखेँ । केही अनौठो चिज देखेछन् कि भनेर हिँडाइको गति बढाएर उनीहरूसम्म पुगेँ । त्यत्तिकैमा एउटाले भन्यो, ‘यार सर्प, हेर न । त्यसपछि मैले पनि उनीहरू जस्तै ढुङ्गाको चेपमा चियाँउन थालेँ तर, सर्प भने देखिनँ । धेरै बेर हेर्दा पनि नदेखेपछि साथीले औँलाले ढुङ्गाको चेपतिर देखायो । मैले पनि आँखाले उसको औलालाई पछ्याएँ । तर, त्यो औला ढुङ्गाबाट सरेर उसको गुप्ताङ्गमा गएर रोकियो । केटाहरू देख्यौ त सर्प भनेर हाँस्न थाले । मैले पनि हाँसो थाम्न सकिनँ । हामीले फेरी त्यही ठट्यौली पछाडि आउने साथीहरू सँग पनि गर्यौँ । हाँस्दै हँसाउँदै यात्रा अघि बढि नै रह्यो ।
लाङटाङ गाउँ पुग्नुअघि एउटा ठूलो पहिरो देखा पर्छ । २०७२ सालको बिनाकारी भूकम्पमा त्यस ठाउँमा ठूलो हिमपहिरो गएको थियो । स्थानीयको कुरा सुन्दा थाहा पायौँ कि त्यस पहिरोमा परि करिब ३०० जनाले ज्यान गुमाएका रहेछन् । अझै कति शव त आजको दिन सम्म पनि त्यही पहिरो मुनि पुरिएका रहेछन् । त्यो पहिरो यति ठूलो थियो कि त्यसलाई हिँडेर पार गर्न हामीलाई झन्डै बिस मिनेट लाग्यो । पहिरोमा पहिलो पाइला राखे सँगै मेरो मन अनौठो किसिमले खलबलियो । मेरो मनमा त्यो पहिरो हिँडुन्जेल अनेक कुरा आइरहे ।
सोच्दै थिएँ, अझै कति मानिस म हिँडेको जमिन मुनि पुरिएका छन् अनि म नयाँ ठाउँ देख्ने उद्देश्य बोकेर उनीहरूको शव माथि हिँडिरहेको छु । मानिसहरू मात्र कहाँ हो र मेरो पैतालामुनि सिङ्गै गाउँ पुरिएको थियो, इतिहास पुरिएको थियो अनि एउटा सानो मानव सभ्यता पुरिएको थियो । त्यसदिन पहिरो माथि हिँड्दै गर्दा मैले मानव जीवन हेर्न नयाँ दृष्टिकोण पाएँ । मानिस आफूलाई जति सुकै ठूलो ठानोस् तर मृत्यु सधैँ उसको अगाडि हिँडिरहेको हुन्छ भन्ने एउटा नमिठो सत्यको बोध भयो मलाई । जीवन भन्ने कुरो मानिससँगै हुने रहेछ, उ बाँचिरहेको वर्तमानमा । अनि हामी सधैँ जीवन भनेर मृत्यु पछ्याइरहेका हुने रहेछौँ । मानिसको उद्देश्य, जीवन हैन मृत्यु हो भन्ने कुरा मलाई त्यसदिन महसुस भयो ।
साँझ छिमे रेन्जीन दाइको होटेल,
होटेल समसरा पुग्दा म पहिरोको कुराले विचलित थिएँ । राति, सुत्दा जिउ गले पनि निकैबेर निन्द्रा परेन । सायद १० बजेको थियो होला ओछ्यानमै छटपटाइरहेको थिएँ । त्यति नै बेला मैले कसैले लामाले मन्त्र पढेको जस्तो आवाज सुने । छेउको खाटमा सुतेको सदिस भाइ मस्त निन्द्रामा थियो, बोलाउन मन लागेन । एकछिन सम्म पनि आवाज आइरहेपछि मैले पर्दा उघारेर बाहिर हेरेँ । जुनको उज्यालोमा पल्लो घरको छतमा राखिएको झन्डा फरफराइरहेको थियो । झ्यालबाट झन्डा हेरिरहेको थिएँ त्यही बेला गुनगुन आवाजसँगै पिरो धुवाको खार पनि नाकमा पस्यो । एकछिन त डर पनि लाग्यो । केही बेरमा त्यो आवाज र धुवा, घरको लिस्नो चढेर मेरो कोठा अघि आइपुग्यो । अनि बल्ल थाहा पाए छिमे दाइकी आमा जाङमो दिदीले बेलुका घरबाट नराम्रो शक्ति हटाउनका लागि धुवा लगाएर मन्त्र फलाक्नु भएको रहेछ । जाङमो दिदीले मन्त्र सकेर गएपछि भने म कतिखेर निदाएँ पत्तै पाइन । सायद त्यो मन्त्र र धुवाले मेरो मनको अशान्ति पनि हरेर लगेछ । एकैपल्ट बिहान ब्युँझेको मात्र सम्झना छ ।
क्यान्जीन, हाम्रो अर्को गन्तव्य थियो । पदयात्राको तेस्रो दिन लाङटाङबाट ३ घण्टा मात्र यात्रा गर्दा क्यान्जीन पुगिने रहेछ । दिउँसो क्यान्जीन पुग्दा हिमालै हिमालको संसारमा पुगेको अनुभव भइरहेको थियो । यता हेर्यो हिमाल, उता हेर्यो हिमाल, जतै पनि हिमालमात्र थियो । त्यस दिन तिबेतियन क्यालेन्डर अनुसार सुभ साइत भएकाले त्यहाँ एउटा छोर्तेनमा पूजा भइरहेको रहेछ । संयोगले हामी त्यही बेला पुग्यौँ र पूजाको प्रसाद खान पायौ । प्रसादमा सातुको डल्लो, तिबेतियन चिया, चिज अनि अमिलो छ्याङ थिए । पूजा सकेर क्यान्जीन गाउँतर्फ अघि बढ्दै गर्दा बाटोमा ‘कादुरी जलविद्युतु’ पनि पर्दो रहेछ, हामी त्यसलाई पछि पार्दै अघि बढ्यौ । हातमा एक पोङ (छ्याङ राख्ने भाँडो ) छ्याङ थियो अनि रमाइला साथीभाइको साथ । प्रकृतिको सुन्दरताले त्यसै पनि मातेका थियौँ, एक पोङ छ्याङले झन् मतायो ।
करिब ८०० वर्ष पुरानो क्यान्जीन गाउँ हिमालको पर्खालभित्र आफ्नै सुरमा बाँचिरहेको थियो । चौरी गाई र खच्चड क्यान्जीनको चौरमा स्वतन्त्र चरिरहेका थिए । त्यो देख्दा मलाई पहाडतिर आजीवन गोठमा बाँधिने गाइहरूको याद आयो । सहरमा काम र जिम्मेवारीले बाँधिने मान्छेहरू याद आए । बाँधिनका लागि डोरी र साङलोनै चाहिन्छन् भन्नु गलत रहेछ । मानिसलाई धेरै कुराले बाँध्छन्, कहिले कामले, कहिले दामले अनि कहिलेकाहीँ आफ्नै चेतनाले । काम र दामले बाधेमा मानिससँग त अझै केही न केही उद्देश्य हुन्छ । आफ्नै चेतनाले बाँधिएका मानिस त उद्देश्यहीन हुन्छन् । प्रार्थना गर्छु, कसैलाई जिन्दगीमा केही कुराले बाँधिनु नपरोस् १ यदि बाँधिनै परे पनि आफ्नै चेतनाको साङ्लोले बाँधिन नपरोस्।
६०० वर्ष पुरानो क्यान्जीन गुम्बाको फेरी बेग्लै इतिहास रहेछ । स्थानीयले भने अनुसार करिब ६०० वर्ष अघि गुरु रिम्पोचेले क्यान्जीनमा एउटा चिठ्ठी खसाए । जसमा चार वटा गुम्बा बनाउने निर्देशन थियो । त्यसबेला त्यहाँका मानिसलाई चार वटा गुम्बा बनाउन निकै कठिन कुरा भएकाले उनीहरूले जम्मा दुईटा गुम्बा मात्र बनाउने निर्णय गरेछन् । त्यसपछि एउटा गुम्बा क्यान्जीनमा र अर्को लाङटाङमा बनेको रहेछ । हामीले पनि लाङटाङ हिमालको काखमा बसेको त्यो क्यान्जीन गुम्बामा केहीबेर समय बिताएर होटेल फर्कियौँ ।
हाम्रो होटेलको एकछेउ विशाल क्यान्जीन री उभिएको थियो । क्यान्जीनबाट लाङटाङ लिरुम, धम्बु, थेरपा छे, किमछोङ र सेर गोरी जस्ता हिमाल छरलङ्ग देखिन्छन् । तीनको शरीरमा टाँसिएको सेताम्मे हिउँ देख्दा मन त्यसै सफा भएको अनुभव भइरहेको थियो ।
राती खाना खाने बेला हामी डाङनिङमा गएर बस्यौँ । चुलोमा बलेको आगोको तापले कोठा पनि तातो भएको थियो । होटेलको दाइले डाङनिङको भित्तामा भूकम्पमा परि गुमेका परिवारको फोटा सजाएर राख्नु भएको रहेछ । खाना खाएर गफ गरिरहेका बेला उहाँ ती फोटोहरू हेर्दै कसैले देख्लाझैँ गरी आँसु खसाली रहनुभएको थियो । सम्झना पनि जुकाझैँ हुने रहेछन् , जतिबेला पनि मानिससँगै टाँसिन खोज्ने । दाइको पीडाले त्यस दिन मेरो पनि मन कता कता अमिलो बनायो । मैले पनि सम्झनामा रहेका र सँगै नभएका केही मानिसहरू सम्झिएँ । मृत्यु टारेर नटर्ने एउटा लीला हो भन्ने कुराको बोध झन् बलियो भएर उभियो म सामु ।
अर्को दिन, बिहानै उठेर हामी क्यान्जीन रीतर्फ लाग्यौँ । ४७०० मिटरको उचाइमा पुग्ने दिन थियो त्यो । नाक ठोक्किने उकालो बाटो हिँडेर हामी करिब एक घण्टामा क्यान्जीन री पुग्यौ । हावा पातलो भएकाले शरीरलाई अलिक असजिलो भएको अनुभव भइरहेको थियो । निकै दिन हिँडेर केवल त्यही कुरा हेर्न त्यहाँ पुगेका थियौँ । मन तृप्त हुने गरी हेर्यौँ, हिमाललाई । कयान्जीन री बाट माथ्लो क्यान्जीन री पनि उति नै उकालो थियो । उकालो उक्लँदा हावा पनि जोडले चल्न थालेको थियो । पाइलाहरू, भयो अब त यात्रा रोकिदे भनेर अनुरोध गरिरहेका थिए मलाई । तर मन कहाँ मान्थ्यो र ? उसलाई त माथ्लो क्यान्जीन री पुग्न थियो ।
मलाई त्यसपल आफ्नै पाइलाहरू प्रति सहानुभूति जागेर आयो. अनि उकालो उक्लिँदै पाइलाका बारेमा एउटा छोटो कविता रचेँ । कविता यस्तो छ :
मन र पाइला
कहाँ सम्म लैजान्छ मलाई मेरो पाइलाले ?
मन त, जता उचाइ देख्छ त्यतै जान खोज्छ
स्वर्ग, मृत्युले हैन पाइलाले देखाउँछ
मलाई मै सँग नजिक पुर्याउँछ
म हैन मेरो पाइला चाल्ने
मनको आदेशमा चल्छन् ती
म जे छु, मेरो मन हुँ
अनि मन त्यो हो
जसलाई, पाइलाले जिउँदो बनाउँछ …
माथ्लो क्यानजीन पुग्दा शरीरलाई केही असहज भएको अनुभव गरेँ । साथीभाइलाई सुनाएँ । उनीहरुले पनि टाउँको दुखेको जस्तो भयो भनेर सुनाए । माथ्लो क्यानजीनमा चराहरु बतासको बेगलाई चिर्दै उड्न खोज्दै थिए तर, कतै बस्न भने सकेका थिएनन् । कहिलेकाँही मानिसलाई पनि ती चरालाइझै परिस्थितिले आराम गर्ने दिँदैन । समुद्र सतह भन्दा करीब ४,७०० मिटरमाथि रहेको माथ्लो क्यान्जीनमा अझै धेरै बेर बसेर नजिको लाङटाङ र सेरगो रीलाई हेर्न मन थियो । तर सबैको टाउँको दुखेकाले थोरै बेर अल्मलिएर हामी क्यान्जीन गाउँ तिर झर्यौँ । हामीलाई पनि त्यसदिन परिस्थितिले क्यान्जीनमा आराम गर्ने दिएन ।
पदयात्राले साधारणतय जीवन सिकाउँने गर्छ तर, यस यात्राले मलाई मृत्यु पनि सिकायो । मृत्युको सत्यलाई कसरी आत्मसाथ गर्न सकिन्छ त्यसको ज्ञान दियो । मैले थाहा पाएँ, मृत्यु मेरो अघि अघि हिँडिरहेको छ अनि म उसलाई कुनै दिन भेट्ने प्राकृतिक उद्देश्यले उसको पछिपछि । जीवन भने मसँगै हातेमालो गर्दै म भित्रै हिँडिरहेको छ । म जीवन हुँ, र बाँचुनजेल मैले जीवन खोज्न हैन, जीवनलाई सजाउने प्रयास गरिरहनु छ । के थाहा, मेरो अघि हिँडिरहेको मृत्यु कुन दिन मलाई सँगै लैजानलाई रोकिने हो । चाहाना एउटै छ कि मृत्यु मलाई लिन पर्खँदा म भित्रको जीवन उदास नहोस् । मलाई मृत्यु भेट्नु अघि जीवनलाई तृप्त बनाउनु छ ।