बिहिबार , अषोज ३, २०८१

यमराजले नुहाएर कपडा सुकाएको ढुङ्गा हुँदै ग्रामिण ललितपुर घुमौँ

उहिल्यै यमराजले महादेवको तपस्या गरेर, त्रिवेणीमा नुहाएर कपडा सुकाएको ढुङ्गालाई नै ‘महाङ्काल ढुङ्गा’ भन्ने गरेको विश्वास गरिन्छ । कालले नुहाएको हुँदा उक्त मसान खोलालाई कालमोचन खोला अर्थात् कालखोला पनि भन्ने गरिएको कथन रहेको छ ।

image

  • केशवराज आचार्य

राजधानीबाट नजिकै रहेको तथा प्रशस्त प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको सम्भावना बोकेको अति सुन्दर भूगोलबारे धेरै नेपाली अनभिज्ञ छन् । ललितपुर भन्ने बित्तिकै हामी पाटन, महालक्ष्मी, गोदावरी र वरपरका बस्ती मात्र सम्झन्छौँ । तर पूर्व फुल्चोकीदेखि पश्चिम बाग्मती किनारको घुसेल, माल्टा तथा दक्षिण महाभारत श्रृखलासम्मका अति विकट पहाडी भू–भागसम्म फैलिएको ललितपुरलाई ‘राजधानी क्षेत्र भित्रको कर्णाली’ भनेर चिन्न पनि सकिन्छ ।

सुन्दर पहाडी भेगमा अवस्थित दक्षिण ललितपुरमा बाग्मती, कोन्जोसोम र महाङ्काल गरी तीन गाउँपालिका रहेका छन् । भट्टेडाडाँ गाउँपालिका केन्द्र रहेको बाग्मतीमा माल्टा, घुसेल, इकुडोल, प्यूटार, आश्राङ, गिम्दी गाउँ रहेका छन् । चौघरे गाउँपालिका केन्द्र रहेको कोन्जोसोममा शंखु, दलचोकी, नल्लु, भारदेऊ गाउँ रहेका छन् । त्यसैगरी सबैभन्दा पूर्वी दक्षिण गाउँपालिकाका रूपमा रहेको महाङ्कालमा गाउँपालिका केन्द्र गोटीखेल लगायत बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर र ठूला दुर्लुङ गाउँ रहेका छन् ।

चारैतिर हरियाली, अग्ला डाँडा, उकाली ओराली, कञ्चन पानी बोकेर कलकल बग्ने खोला, झरना, घना जंगलको छहारी, निश्छल गाउँले जीवनशैली र अनेकौँ धार्मिकस्थल यहाँका विशेषता हुन् । राजधानीको नजीकै रहेको तथा लालीगुँरास फुल्ने मौसममा राताम्मे हुने दक्षिण ललितपुरलाई सरोकारवालाको ध्यान पुगेमा गुराँसे पदमार्गको रूपमा पनि विकसित गर्न सकिन्छ । दक्षिण ललितपुरका हरेक गाउँ सुन्दर पर्यटकीय स्थलको सम्भावना बोकेका गाउँका रूपमा रहेका छन् ।

महाङ्काल गाउँपालिकाको केन्द्र गोटिखेल बजार दक्षिणी ललितपुरको व्यापारिक केन्द्र मात्र नभएर धार्मिक गन्तव्य पनि हो । गोटी खेलमा कालखोला, धामीखोला र टुँगुनखोला जोडिएको त्रिवेणी छ । त्यही त्रिवेणीलाई ‘वैतरणीधाम’ भनिन्छ । उक्त धाममा दक्षिणबाट उत्तरतिर बग्ने मसान खोला पनि छ । हिन्दु धर्मशास्त्रमा यस्तो उत्तर वाहिनी नदीको ठुलो महत्त्व हुने गर्दछ ।

त्रिवेणी धामको पश्चिममा महाङ्काल मन्दिर रहेको छ, जसको नामबाट उक्त गाउँपालिको नाम राखिएको हो । उहिल्यै यमराजले महादेवको तपस्या गरेर, त्रिवेणीमा नुहाएर कपडा सुकाएको ढुङ्गालाई नै ‘महाङ्काल ढुङ्गा’ भन्ने गरेको विश्वास गरिन्छ । कालले नुहाएको हुँदा उक्त मसान खोलालाई कालमोचन खोला अर्थात् कालखोला पनि भन्ने गरिएको कथन रहेको छ ।

करिब २,५०० मिटरको उचाइमा तथा गोटीखेलको दक्षिणतर्फ छ किलोमिटरको दूरीमा रहेको कालेश्वर मन्दिर काभ्रे, मकवानपुर र सिन्धुलीको सिमानामा पर्ने ठूला दुर्लुङको शिखरमा अवस्थित छ । दक्षिण ललितपुरको शंखु गाउँबाट चापागाउँ बसाइ सरेका प्याङवासीहरूको इष्टदेवता पनि रहेका कारण हरेक चैत्र शुक्ल पूर्णिमाको दिन प्याङबासीहरू पैसा सुकाउने जात्रा भर्न कालेश्वर जाने गर्छन् । अहिले आएर सबैको साझा पर्यटकीय तथा धार्मिक केन्द्र बनेको कालेश्वर क्षेत्रमा दिनहुँ भक्तजन र पर्यटकहरूको लाम देख्न सकिन्छ । सतीदेवीको कण्ठ पतन भएर उत्पन्न भएको र शिवशक्ति स्वरूपले रहेको कालेश्वर महादेवलाई ६४ ज्योतिर्लिङ्गमध्ये एक ज्योतिर्लिङ्गको रूपमा पुज्ने चलन रही आएको छ ।

कालेश्वरको देब्रेपट्टि अग्लो डाँडा छ, जसलाई बुर्जा डाँडा भनिन्छ । त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलोले ढाक्ने गर्दछ । जहिले पनि आफूभन्दा माथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वर डाँडा भन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन रहेको छ । त्यहाँबाट हिमालको दर्शनका साथै तराईसम्मका अनेकौँ हरिया थुम्काहरू देखिन्छन् ।

कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा बडेमानको चट्टान एउटा सानो ढुङ्गा माथि अडिएको देख्न सकिन्छ । कालपुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ । उक्त चुनढुङ्गाको चट्टानलाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्दछन् । देख्दै अचम्म लाग्ने अवस्थितिमा रहेको उक्त बडेमानको ढुङ्गा भुईँचालो जाँदा पनि कसरी अडिएको होला भन्ने उत्सुकता त्यहाँ पुग्ने जो कोहीलाई लाग्ने गर्दछ । त्यहीँबाट मगर जातिको बाहुल्यता रहेको गिम्दी गाउँ र चमेरे गुफा पनि पुग्न सकिन्छ ।

कालेश्वर डाँडा माथि खाने बस्ने सुविधा छैन । कालेश्वरको तल सिसवन र गोटीखेल बजारमा खाजा घर, लज र होमस्टे सुविधा पाइन्छ । हिउँदमा कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ । गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ । गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान पनि सकिन्छ ।

लगनखेलबाट गोटीखेल करिब ५० कि.मी.को दूरीमा रहेको छ । लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ (चौघरे), कतवन भएर गोटीखेल जाने बस छुट्छन् । वैकल्पिक मार्गका रूपमा बनेपा पनौतीबाट खोपासी ढुंखर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ । गोटिखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारी साधन चल्दैनन् । पैदल जाँदा गोटीखेलबाट कालेश्वर पुग्न करिब तीन घण्टा ठाडो उकालो चढ्नुपर्छ भने ओह्रालो ओर्लेर गोटीखेल पुग्न करिब दुई घण्टा समय लाग्दछ ।

सबै ठाउँका आ-आफ्ना विशेषता रहेका हुन्छन् । सोहि विशेषता चिनेर काम गरेमा जुनसुकै ठाउँलाई आयआर्जनको राम्रो श्रोत बनाउन सकिन्छ । नेपालका हरेक गाउँ ठाउँमा अनेकौँ सम्भावनाहरू लुकेर बसेका छन् तर हामी तिनको पहिचान गर्न र त्यसका लागि आवश्यक पूर्वाधारहरू निर्माण गर्न नसकेर पछि पर्ने गरेका छौँ । आम नेपालको सो अवस्था सुन्दर दक्षिण ललितपुरमा पनि रहेको छ ।

सम्बन्धित समाचार